विराटनगर महानगर प्रमुख-उपप्रमुख भन्छन्, ‘सबैको साझा भएर काम गर्छाैँ’

विराटनगर । विराटनगर महानगर पालिकाका नवनिर्वाचित मेयर उपमेयरले महानगरको विकासका लागि मिलेर काम गर्ने बताएका छन्।

विराटनगरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै मेयर उपमेयरले सबैको साझा भएर काम गर्ने बताए। नवनिर्वाचित मेयर नागेश कोइरालाले ५ वर्षमा सबैजना मिलेर नमुना काम गरेर १०० वर्षसम्म अनुसरण गर्ने खालको हुने बताए।

सबै जनप्रतिनिधिको उदेश्य विराटनगरलाई बनाउने हो, उनले भने,सबै मिलेर काम गरौँ, ५ वर्षको योगदान १०० बर्षपछि पनि सम्झना लायक बनाऔँ। जुनसुकै दलबाट आएको भएपनि साझा जनप्रतिनिधि भएर अघि बढ्ने उनको प्रतिबद्धता छ।

एमालेबाट निर्वाचित उपमेयर शिल्पा निराला कार्कीले सबैको उपमेयरको रूपमा अघि बढ्ने बताइन्। महानगरको सुशासनसँगै महिला, बालबालिका र जेष्ठ नागरिको विषयलाई प्राथमिकतामा राखिने कार्कीको भनाइ छ। प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत भरत लम्सालले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न भूमिका लिएकोमा दलहरूलाई धन्यवाद दिए।

नागरिक समाज, राजनीतिक, सुरक्षा निकाय लगायतको सहयोगले धाँधलीरहित र स्नेहपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताए। उनले मतदाता शिक्षाको अभावले ठुलो संख्यामा मत पत्र बदर भएको स्मरण गराउँदै मत बदर रोक्न आफ्ना मतदातालाई दलहरूले बुझउनु पर्नेमा जोड दिए।

घोषणा पत्रसँगै मतदाता शिक्षामा काम गर्नुपर्ने उनको सुझाव छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *