युवा जमातको प्रश्न- कानुन परिमार्जन गर्ने की अपराधलाई प्रोत्साहन ?

काठमाडौँ । अहिले सामाजिक सञ्जालमा आफू ८ वर्षअघि बलात्कृत भएको भन्दै एक युवतीले कन्फेस गरेको भिडिओले विशेषगरी युवा जमातमा तरङ्ग पैदा गरेको छ । युवतीले आफूलाई बलात्कार गर्ने व्यक्तिको थर मात्रै बताएपछि पीडकको खोजी गरी कानुनको दायरामा ल्याउनुपर्छ भन्दै शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार अघि विरोध प्रदर्शन गरियो ।

प्रदर्शनमा उपस्थित अधिकांश युवाले नेपालमा बलात्कारको मुद्दा दायर गर्न हदम्याद भएको र त्यसलाई खारेज गर्नुपर्नेमा जोड दिएका थिए । यस्तो कानुनले पीडितले न्याय पाउनबाट वञ्चित हुने उनीहरूको भनाई थियो ।

विरोध कार्यक्रममा सहभागी हुन विवेकशील साझाको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार समीक्षा बास्कोटा पनि बालुवाटार पुगेकी थिइन् । उनले भनिन्, ‘सामाजिक सञ्जालमा यो विषय उठेको देखेर त्यहाँ म पुग्नैपर्छ भन्ने लाग्यो । हामी एउटा घटना आउँछ अनि त्यसका लागि केही समय मात्रै बोलिरहेका हुन्छौँ । तर अब यस्ता घटना फेरि आउँदा पीडितले कसरी सजिलै न्याय पाउँछन् भन्ने पक्षबाट योजना बनाएर विरोध गर्नु अति आवश्यक भएको छ । यसमा हदम्याद कै कारण कोही पीडितले न्याय पाउनबाट वञ्चित नहुन के गर्नुपर्छ भन्नेतिर लाग्नुपर्छ ।’

समीक्षा आफै पनि अधिवक्ता हुन् । दोषीलाई हदैसम्मको कारबाही गर्न सक्ने कानुनबारे उनी भन्छिन्, ‘कानुनमा सधैँ लुप होलहरु हुन्छन् । तत्कालका लागि पीडितले न्याय पाउने प्रमुख ढोका बन्द भए पनि अरू कयौँ ढोकाहरू छन् जसले पिडकलाई हदैसम्मको कारबाही गर्न सकिन्छ । यो केसमा के सम्म गर्न सकिन्छ भनेर म आफैले पनि खोजी गर्ने विचार गरेकी छु ।’

विरोध सभामा सहभागी अर्की युवतीले आरोप लगाइएको व्यक्ति आफूले चिनेको र सो व्यक्ति डरलाग्दो र हिंस्रक जन्तु जस्तै भएको बताइन् । उनले आफ्नो नाम गोप्य राखिदिन आग्रह गर्दै निज व्यक्तिले कन्सल्टेन्सीमा काम गर्ने कयौँ युवतीमाथि यौन शोषण गरेको र अहिले नाम सार्वजनिक भएपछि पीडितलाई सघाउन आफू पनि आएको बताइन् ।

विरोधमा सहभागी युभानले यदि कानुन परिमार्जन भएन भने बलात्कारीहरू समाजमा सजिलै घुम्ने र कोही पनि सुरक्षित नहुने बताए । युभान टिकटकमा पीडित युवतीको भिडिओ देखेर विक्षिप्त भएर विरोध कार्यक्रममा सहभागी हुन आएका थिए ।

कानुनमाथि प्रश्न चिह्न खडा गरेको यस घटनाबारे सेलिब्रेटीहरुले पनि सामाजिक सञ्जालमा आवाज उठाइरहेका छन् । नायिका प्रियंका कार्कीले एकातिर पीडितको पक्षमा सामाजिक सञ्जालमा पोस्ट गरिरहँदा अर्कोतर्फ यही घटनामा मुछिएकी पूर्व मिस नेपाल माल्भिका सुब्बाको पोस्टमा गएर उनको पक्षमा रहेको संकेत दिने गरी ‘मोर पावर टु यु दिदी’समेत लेख्दै कमेन्ट गरेको कारण विवादमा तानिएकी छिन् ।

शुक्रबार संसदमा कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले यस विषयमा छानबिन गर्न माग गरे । संसद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरिएको घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् ।

सभामुख सापकोटाले सांसद गगन थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका हुन् ।

सरकारलाई निर्देशन दिँदै सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरू, माननीय सदस्यले आफ्नो भनाइ राख्दै गर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौन हिंसासम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

सञ्चारकर्मी, कानुनविद्, मनोविश्लेषक सबैको ध्यान केन्द्रित भएको यो विषयले अब नेपालमा पनि हुँदै आएको सुन्दरी प्रतियोगिता र त्यसमा सहभागी हुने प्रतियोगीको सुरक्षाबारे बहस सिर्जना गरेको छ । पीडितको न्यायका लागि चौतर्फी आवाज उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *