बलात्कृत भएकाे खुलासा गर्दै युवतीले टिकटकमार्फत् पाेखिन् पीडा, भिडिओ भाइरल

काठमाडौँ । यतिबेला सामाजिक सञ्जालभरि एकजना युवतीको भिडिओ भाइरल भएको छ । सुम्निमा खपाङ्गी (नाम परिवर्तन) नाम गरेकी युवतीले विसं. २०७१ सालमा आफूमाथि यौन दुर्व्यवहार भएको खुलासा गर्दै सामाजिक सञ्जालमा हालेको भिडिओ यतिबेला भाइरल भएको हो ।

‘सुसी खान जाने हो’ नामक टिकटक अकाउन्टबाट सार्वजनिक भएकाे सो भिडिओ टिकटकले भने हटाएको छ । टिकटकले हटाएपनि सो भिडिओ उनको इन्स्टाग्राम अकाउन्टमा भने राखिएकाे छ । पीडितले २०७१ सालमा सम्पन्न ‘मिस ग्लोबल’ नामक ‘ब्युटी प्याजेन्ट’का क्रममा पीडकले होटलमा बाेलाई आफूमाथि यौन शोषण भएको भिडिओमा खुलाएकी छन् ।

उनले आफूलाई बलात्कार गर्ने र बलात्कारीलाई साथ दिनेको थरमात्र खुलाएकी छन् । पीडितले एकजना ‘कन्सल्टेन्सी’ सञ्चालकले आफूमाथि यौन शोषण गरेको र उनलाई एकजना फोटोग्राफरले साथ दिएको बताएकी छन् ।

साथै, यौन शोषणका समय लिइएको फोटोको दुरुपयोग गरी आफूमाथि धेरै पछिसम्म पनि पटकपटक यौन शोषण भएको पीडितले बताएकी छन् । ब्युटी प्याजेन्टका क्रममा बेहोस हुने औषधि मिसाई लेमोनेड खान दिई आफूमाथि शोषण गरिएको पीडितले भिडिओमा खुलाएकी छन् ।

उनले त्यतिबेला सन् २००२ की मिस नेपाल माल्भिका सुब्बालाई समेत आफू यौन दुर्व्यवहारको सिकार भएको र आफूलाई सो घटनाबाट बचाउन गुहार गरेको बताएकी छन् । तर, पूर्व मिस नेपाल सुब्बाले त्यतिबेला आफूमाथि परेको समस्याको बेवास्ता गरी ‘त्यो तिम्रो आफ्नो समस्या हो, आफै सुल्झाऊ’ भन्ने किसिमको जवाफ दिएको पीडितले बताएकी छन् ।

पीडितले सुब्बाबाट आफूले साथ नपाउँदा पटकपटक यौन दुर्व्यवहारको सिकार हुनुपरेको बताएपछि पूर्व मिस नेपाल सुब्बामाथि सामाजिक सञ्जालमा प्रश्नहरू आउन थालेका छन् । उक्त भिडिओ भाइरल भएपछि सुब्बाले भने आफ्नो इन्स्टाग्राम अकाउन्टमा ‘त्यतिबेला आफूले नाबालिगमाथि हुने यौन दुर्व्यवहार सम्बन्धित कानुनबारे आफूलाई थाहा नहुँदा आफूले साथ दिन नसकेको र सो घटनाका लागि आफूले माफी चाहेको’ भन्दै लेखेकी छन् ।

पीडितले सुब्बाले लेखेको १२ लाइनको जस्टिफिकेशनले आफूले त्यतिबेलाका घटना बिर्सन नसक्ने प्रतिक्रिया दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *