कञ्चनपुरमा कांग्रेस र माओवादीको अग्रता

काठमाडौँ । कञ्चनपुरका नौ पालिकामध्ये नेपाली कांग्रेसले यहाँका चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ।

कञ्चनपुरको महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले ६०० मत गणना हुँदा ३२६ र नेकपा (एमाले)का उम्मेदवार किशोर लिम्बूले २३९ मत प्राप्त गरेका छन्।

त्यसैगरी, यहाँको बेल्डाडी गाउँपालिकामा पनि नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार हरिषचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथले सुरुआती अग्रता लिएका छन्, भने उनलाई एमालेका उम्मेदवारले पछ्याइरहेका छन्। बेलडाडीमा अध्यक्षमा कांग्रेसका रानाले १९१ मत पाएका छन् भने उपाध्यक्षमा कांग्रेसकै नाथले २७२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यसैगरी, सो पालिकामा एमालेका अध्यक्षका उम्मेदवार अक्कलबहादुर विष्टले ११६ र उपाध्यक्षमा फूलकुमारी रानाले २२३ मत प्राप्त गरेका छन्। बेलौरी नगरमा नेकपा (माओवादी केन्द्र)का नगरप्रमुखका उम्मेदवार पोतिलाल चौधरीले अग्रता लिएका छन्। बेलौरीमा एक हजार ३८३ मतगणना हुँदा माओवादीका चौधरीले ५२० मतसहित अग्रता लिएका हुन्।

सो पालिकामा एमालेका नगरप्रमुखका उम्मेदवार कमला बोहराले ४२४ मत ल्याएकी छन् भने नेपाली कांग्रेसबाट नगरप्रमखुका उम्मेदवार बनेका होसियार विष्टले ३४० मत प्राप्त गरेका छन्। उता लालझाडी गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार बनेका श्रीकृष्ण रानाले अग्रता लिएका छन्। पालिकाको वडा नं ६ मा वडाध्यक्षसहित कांग्रेसको प्यानल नै विजयी भइसकेको छ।

हालसम्मको गणनाअनुसार कांग्रेसका श्रीकृष्णले ६०१ मत, एमालेका अध्यक्षका उम्मेदवार निर्मल रानाले ५५२ मत र माओवादीका अध्यक्षका उम्मेदवार मदन सेन बडायकले ४४३ मत प्राप्त गरेका छन्।

त्यसैगरी, भीमदत्त नगरमा पनि नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले नगर प्रमुख पदमा सुरुआती अग्रता लिएका छन्। एक सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार बोगटीले ५३ र एमालेका नगरप्रमुखका उम्मेदवार महेश पन्तले १४ मत प्राप्त गरेका हुन्। नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजेन्द्र पाण्डेयले १५ मत प्राप्त गरेका छन्।

त्यसैगरी, बेदकोट र शुक्लाफाँटा नगरमासमेत गणना सुरु भएको छ भने अन्य पालिकामा पनि गणनाको तयारी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *