एमाले अध्यक्ष ओलीद्वारा मतदानमा भाग लिने मतदाताप्रति धन्यवाद ज्ञापन

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लाखौं नयाँ मतदाता र ११३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसहित उत्साहका साथ मतदानमा भाग लिने सबै मतदाताहरूलाई धन्यवाद दिएका छन्।

अध्यक्ष ओलीले आज एक विज्ञप्ति जारी गरी मतदान गरेलगत्तै निधन भएका र मतदानका लागि जाँदै गर्दा सवारी दुर्घटनाबाट ज्यान गुमाएका मतदाताप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। साथै, उनले शोकाकुल परिवारजनमा समवेदनासमेत प्रकट गरेका छन्।

उनले भयरहित वातावरणमा स्वच्छ निर्वाचनका लागि पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक र अधिकतम सकारात्मक भूमिका निर्वाह भएको जिकिर गर्दै खुसी व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले स्वतन्त्र निर्वाचनविरुद्ध भएका घटनाको विरोध गरेका छन्। स्वच्छ निर्वाचन विपरीतका घटना भएका, मतदान केन्द्रको अनाधिकृत कब्जा गरिएका र भय–त्रास सिर्जना गरी मतदाताहरूलाई आतङ्कित पारिएका स्थानमा पुनः मतदानको माग गरी विभिन्न जिल्लाबाट उजुरीसमेत गरिएको उनले जानकारी दिएका छन्। “त्यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिन आयोगको ध्यानाकर्षण गराउँदछु”, उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

अप्ठ्याराका बाबजुद निर्वाचनलाई सम्पन्न गर्न निष्पक्ष भूमिका खेल्ने निर्वाचन आयोगद्वारा परिचालित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई उनले धन्यवाद दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *