भक्तपुरका मतदानस्थलमा कर्मचारी परिचालित

काठमाडौँ । भक्तपुरमा स्थानीय निर्वाचनका लागि निर्वाचन अधिकृतसहितको टोली निर्वाचन सामग्री लिएर मतदानस्थलमा पुगेर निर्वाचनको लागि आवश्यक तयारी सुरुआत गरेको छ।

मतदान अधिकृतले मंगलबार सम्बन्धित मतदानस्थलमा राजनीतिक दलहरूसँग निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक छलफल गर्दै निर्वाचनको आवश्यक तयारी सुरु गरेको हो। कर्मचारीले बुधवार र बिहीबार मतदान केन्द्र निर्माण गर्नुका साथै बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदाता परिचयपत्रसमेत वितरण गर्ने समेत जनाइको छ।

जिल्लामा निर्वाचनका लागि एक हजार ९४ कर्मचारी खटिएका छन्। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार पाँच सयभन्दा कम मतदाता रहेको मतदान केन्द्रमा ४ र ५०० भन्दा बढी मतदाता रहेको केन्द्रमा पाँचजना कर्मचारी व्यवस्था गरिएको छ। एक हजार मतदाता बराबर एक मतादान केन्द्र निर्धारण गरिएको छ।

त्यसैगरी, निर्वाचनमा शान्ति कायम गर्न जिल्लामा एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए। जिल्लाका चार नगरपालिकाको सबै मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी ५१५, म्यादी प्रहरी ७७०, सशस्त्र प्रहरी २०३ जना गरी एक हजार ४९३ सुरक्षाकर्मी परिचालित गरिएको जनाइएको छ। सुरक्षाका लागि आवश्यकता अनुसार नेपाली सेनाको सुरक्षा टोलीसमेत थप परिचान गर्ने प्रजिअ शर्माले जानकरी दिइन्।

जिल्लामा शान्ति सुरक्षा, अपराध न्यूनीकरण गरी स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न, निर्वाचनमा आउनसक्ने चुनौतीको समाधान लागि आवश्यक पूर्वतयारीको सुरक्षा रणनीति तयार गरिसकेको प्रजिअ शर्माले जानकारी दिइन्। मतदानको दिन नाकाको सुरक्षाका लागि उपत्यकाका प्रजिअसँग आवश्यक छलफल गरी तयारी गरिएको उनले बताए।

निर्वाचनको दिन मौसमविद्ले वर्षा हुने पूर्वअनुमान गरेकोले मतदान प्रभावित हुन नदिन आवश्यक तयारी गरिएको प्रशासनले जनाएको छ। मतदानको दिन पानी परेमा विशेष सुरक्षाको व्यवस्था गरेको उनले जानकारी दिए। “पानी नचुहिने त्रिपाल, त्रिपालको व्यवस्था रामोसँग गर्न निर्देशन जारी गरिसकेको छौँ। निर्वाचनको दिन निर्वाचन अधिकृत र त्यहाँ खटाइने कर्मचारीको लागि बर्षादी, छाताको व्यवस्था गर्न भनेका छौँ,” उनले भने।

निर्वाचनलाई वर्षाबाट प्रभावित हुन नदिन प्रत्येक मतदान केन्द्रमा दुई त्रिपाल अनिवार्य गरिएको भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिए। मतदानस्थलमा हुने विभिन्न गतिविधिलाई शान्ति रूपमा सम्पन्न गर्न कर्मचारीलाई आवश्यक प्रशिक्षण प्रदान गरिएको उनले बताए।

मतदानको दिन अशक्त र अपाङ्गता भएकाको लागि मुख्य निर्वाचन कार्यालयले एकाघर परिवारमा एकजना सहयोगी रहने गरी घरदेखि मतदान केन्द्र र मतदान केन्द्रबाट घरसम्म पुर्याउने व्यवस्था मिलाइएको प्रजिअ शर्माले बताए। यसका लागि मुख्य निर्वाचन कार्यालयमा सम्पर्क राख्न उनले आग्रह गरे। निर्वाचनका लागि जिल्लामा अनावश्यक सावारी पास वितरण नगर्ने र मादकपदार्थ सेवन र बिक्री वितरणमासमेत निषेध गरी कडाइका साथ लागू गर्ने र मौन अवधिमा हुनसक्ने निर्वाचन आचारसंहिता हनन र झडपको अवस्था आउन नदिन विशेष संयन्त्र परिचालन गरिने उनले जानकारी दिए।

निर्वाचनको दिन एम्बुलेन्स, दमकल, शवबाहन भने निर्वाध रूपमा चलाउन पाइने व्यवस्था गरिएको छ, तर परिचयपत्र अनिर्वाय गरिएको छ। जिल्लामा कूल ७७ मतदानस्थल र २१९ मतदान केन्द्र छन्। तीमध्ये भक्तपुर नगरपालिकामा १६ मतदानस्थल र ६२ मतदान केन्द्र, चाँगुनारायण नगरपालिकामा २१ मतदानस्थल र ५३ मतदान केन्द्र, सूर्यविनायक नगरपालिकामा २३ मतदानस्थल र ५८ मतदान केन्द्र, मध्यपुर थिमि नगरपालिकामा १७ मतदानस्थल र ४६ मतदान केन्द्र निर्धारण गरेको छ। जिल्लामा भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरपालिकामा ४३ हजार १०५, सूर्यविनायक नगरपालिकामा ४७ हजार ३६७ र मध्यपुर थिमि नगरपालिकामा ४१ हजार ८४२ मतदाता छन्।

यसैबीच, जिल्लामा स्थानीय निर्वाचनको आचारसंहिता विपरीतका २२ घटनामा कारबाही गरिएको छ। सार्वजनिक स्थानमा झण्डा राख्ने, भित्ते लेखन जस्ता आचारसंहिता विपरीतका घटनामा तत्काल सुरक्षाकर्मी परिचालन गरी झण्डा हटाउने र भित्ते लेखन पुछ्ने कार्य गरेको मुख्य निर्वाचन अधिकृत बाँस्तोलाले जानकारी दिए।

उनले जिल्लामा राहतका नाममा सर्वसाधरणलाई विभिन्न सामग्री वितरणको प्रयाससमेत भएको र त्यस्तो खबर प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरेर तत्काल रोक लगाएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *