रिङ्कु कुमारीसिंह मृत्यु प्रकरणमा तीन जना पक्राउ

महोत्तरी । जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर १२ डाँडाटोल बिजलपुरामा गत शुक्रबार राति भएको स्थानीय रिङ्कुकुमारी सिंहको मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मृतक रिङ्कुका पति शशिकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललितादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।
पक्राउ परेका तीनै जनालाई प्रहरीले महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।
मृतक रिङ्कुका बुबा गौशाला नगरपालिका–११ बस्ने शत्रुधन महतोले छोरीको मृत्युको घटनामा संलग्न रहेको आरोपमा निजका पति, ससुरा, सासू, नन्द र नन्दका पतिविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले घटना घटेकै दिनदेखि फरार रहेका उनीहरूमध्ये तीन जनालाई पक्राउ गरेका छन् भने नन्द र नन्दका पति अझै फरार रहेको तथा उनीहरूको खोजतलास भइरहेका प्रहरी प्रवक्ता गोलेले बताए ।
२५ वर्षीया रिङ्कु गत शुक्रबार (जेठ २९ गते) राति ८ः०० बजेको समयमा आफ्नै दुई तले पक्की घरको आफू सुत्ने कोठामा पङ्खा झुण्ड्यिाउने सिलिङमा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेपछि माइती पक्षले उनको हत्या गरिएको भन्दै घरमा तोडफोड र गाडीमा आगजनी गरेका थिए ।
मृतक रिङ्कुका बुबा शत्रुधनले छोरीका पति शशिले अर्को बिहे गरेपछि घरमा विवाद सुरु भएको पतिसहित घरका सबै सदस्यले छोरीलाई सम्बन्ध विच्छेदका लागि दबाब दिँदै आएको र छोरीलाई लामो समयदेखि पटक पटक कुटपिट, गालीगलौज, शारीरिक यातनाका साथै घर निकाला गरिदिने धम्की दिँदै आएको आरोप लगाएका छन् ।









