सेनाले दियो सुदूरका बीस विद्यालयमा सेवादल तालिम

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा नेपाली सेनाले प्रदान गर्ने राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम सुरुआत भएको छ ।

सुदूरपश्चिमबाट तालिमका लागि छनोट भएका यहाँका सामुदायिक र निजी गरी बीस विद्यालयमा सोमबारदेखि सेवा दल तालिम सुरु भएको सेनाको सुदूरपश्चिम पृतनाले जनाएको छ ।

विद्यार्थीलाई विपद् व्यवस्थापन, ट्राफिक सचेतना, राष्ट्रिय एकताको भावनाको विकास, आत्मसुरक्षा, समूहमा मिलेर काम गर्ने बानीको विकास लगायत देश र राष्ट्रप्रति अनुशासित भएर काम गर्ने बानीको विकास गर्ने उद्देश्यले सेनाले हरेक वर्ष उक्त तालिम सञ्चालन गर्दै आएको छ ।

सुदूरपश्चिम पृतनाका अनुसार यहाँ कैलालीमा छ वटा विद्यालय, कञ्चनपुरमा पाँच, अछाम र बैतडीमा दुई/दुई बाँकी डोटी, डडेल्धुरा, बाजुरा, बझाङ र दार्चुलामा एक÷एक विद्यालयमा तालिम सुरु भएको हो ।

बराहदल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी अशोक शाहीले कञ्चनपुरमा पनि सोमबार पाँच वटा विद्यालयमा सि.स.५२ एनसीसी ब्याच राष्ट्रिय सेवा दल जुनियर तालिम सुरु गरिएको जानकारी दिए ।

“१०० दिनको तालिममा छनोट भएका विद्यार्थीलाई ८९ दिन जिल्लामै राखिने र २१ दिन जिल्ला बाहिर लगेर प्रक्षिण दिइने छ”, उनले भने, “विद्यार्थीलाई अनुशासन, राष्ट्रप्रेम, नेतृत्व विकास, जफादेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित गरिन्छ ।”

त्यसका साथै विद्यार्थीलाई तालिम अवधिमा ड्रिल, खुकुरी ड्रिल, टेक्वान्दो एरोविक्स र फिल्ड क्राप्टलगायतका विषयमा समेत प्रशिक्षण दिइने सेनाले जनाएको छ ।

कञ्चनपुरको दक्षिण क्षेत्रका तीन वटा विद्यालयको गुल्मपति सेनानी अशोक शाहीले तालिम उद्घाटन गरे । महेन्द्रनगर बजार क्षेत्रका दुई वटा विद्यालयको तालिम उद्घाटन श्री नंं २५ बाहिनी अड्डाका सैनिक अधिकारीले गरेका थिए ।

सुदूरपश्चिमका बीस विद्यालयका ६०० विद्यार्थी प्रशिक्षणमा सहभागी रहेको सेनाको सुदूरपश्चिम पृतनाले जनाएको छ । तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 10 =