तीन स्थानमा सवारी दुर्घटना; २ को मृत्यु, २६ घाइते

काठमाडौँ । तीन छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २६ जनाको मृत्यु भएको छ।

उदयपुरको त्रियुगा नगरपालिका -३ भुल्केस्थित सडकमा प्रदेश १-०५-००१ प ४४६८ नंको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका -१ जोगिदह बस्ने २० वर्षीय भुपेन्द्र चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

कैलालीको भजनी नगरपालिका-६ भजनी जोशीपुर सडकमा हाल नं नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ बस्ने ७० वर्षीय भड्डु डगौराको आइतबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचार क्रममा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ।

त्यस्तै, सिन्धुलीको तिनपाटन गाउँपालिका-११ आकासे भन्ने स्थानमा प्रदेश २ -०३०००१ त ४६७० नंको ट्याक्टर आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक तिनपाटन गाउँपालिका-११ बस्ने २१ वर्षीय बिशाल श्रेष्ठ लगायत २५ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएकामध्ये ९ जनाको प्राथमिक स्वास्थ्य चौकी लाम्पान्टारमा र ११ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ पठाइएको छ भने ५ जना उपचार पश्चात डिश्चार्ज भएका छन्। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *