‘गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता हो’ (भिडियोसहित)

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको दाबी गरेका छन्।

नेपाली कांग्रेसले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा देउवाले संविधानलाई जोगाउनका लागि र विकास स्थायित्वको लागि बनेको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका हुन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई-दुईपटक संसद भंग गरेको उल्लेख गर्दै एमालेलाई जनताले मत दिन नहुने तर्कसमेत पेश गरेका छन्।

प्रधानमन्त्री देउवाले गठबन्धनमाथि कुनै शंका उपशंका नगर्न आग्रह गर्दै तामलेममा उम्मेदवार बनाइएका सबैलाई विजयी गराउनुपर्ने धारणा राखेका छन्। प्रधानमन्त्री देउवाले एमसीसी बिनाव्याजको अनुदान भएको र अरू अनुदान पनि नेपालमा आउनेबारे समेत स्पष्ट पारे। उनले अहिले ऋण लिएर तिर्न नसक्ने अवस्था आउने भएकाले विकासको बाटोलाई सही तवरले अघि बढाउन अनुदान आवश्यक रहेको पनि बताएका हुन्।

त्यस्तै, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गर्ने, अवरुद्ध गर्नेहरूलाई अब जनताले संसदमा पुग्नबाट रोक्नुपर्ने धारणा राखेका छन्। मुलुकमा राजनीतिक स्थिरता चाहिएको भन्दै वरिष्ठ नेता पौडेलले राजनीतिक स्थिरता नहुँदा विकासका काम नै अवरुद्ध भएकोसमेत उल्लेख गरे।

पौडेलले प्रगतिशील शक्तिहरूको साझा दस्तावेजका रूपमा संविधान निर्माण गरेको र देशलाई स्थिरतातर्फ लैजान गठबन्धनलाई जोगाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *