‘डिजिटल नेपाल’ फ्रेमवर्कलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्न जोड

काठमाडौँ । ‘डिजिटल नेपाल’ फ्रेमवर्कलाई व्यावहारिक रूपमै कार्यान्वयन गर्न सरकारसमक्ष माग गरिएको छ।

‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७९’ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा आइसिटी क्षेत्रका विज्ञले डिजिटल नेपाललाई कार्यान्वयन गर्न सम्बन्धित निकायले तत्परता देखाउनुपर्नेमा जोड दिएका छन्। सञ्चार मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सरकार डिजिटल नेपालको सपना साकार पार्ने बाटोमै अगाडि बढिरहेको बताउँदै सपना पूरा गर्न सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताएका छन्।

उनले गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विकास र विस्तारबाट समुन्नत राष्ट्र निर्माण गर्न सूचना, सञ्चार तथा प्रविधिसँग सम्बन्धित नीति तथा कानून समयसापेक्ष परिमार्जन गर्ने तयारी भइरहेको पनि बताए। प्रधानमन्त्रीका सञ्चार प्रविधिविज्ञ दिपेश विष्टले नेपाललाई पूर्णरूपमा डिजिटल नेपाल बनाउनका लागि सरकारीभन्दा पनि निजी क्षेत्र उत्तिकै जिम्मेवार रहेको बताए।

क्यान फेडेरेशनका पूर्वअध्यक्ष सुरेश कर्णले डिजिटल नेपालबारे सरकार आफैले बनाएका नीति कार्यान्वयन गर्दै प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खानालले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यअनुरूप नै प्राधिकरणले प्रत्येक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रमा तीव्र गतिको इन्टरनेट पुर्याउने कार्य गरिरहेको जानकारी दिए।

सरकारले आइसिटी क्षेत्रमा विशेष योगदान पुर्याएवापत लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष इन्जिनीयर पञ्कज जलानलाई ‘आइसिटी अवार्ड–२०७९’ प्रदान गरेको छ। त्यसैगरी, रोजाकिरण वासुकला (भक्तपुर), शिवजङ्ग चौलागाईं (सिन्धुली)लाई पनि सोही अवार्ड प्रदान गरिएको छ। त्यसैगरी सोही अवार्ड ‘नेपाली सेवा सैनिक मुख्यालय’ र ‘इङ्ग्रील्स प्रालि’ ललितपुरसमेतलाई प्रदान गरिएको छ। उनीहरूले अवार्डसँगै जनही रु. एक लाख पुरस्कारस्वरूप प्रप्त गरेका छन्।

त्यसैगरी, रु. ७० हजार राशिसहित विआइसी टेक्नोलोजी प्रालिलाई पनि अवार्ड प्रदान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *