ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख राहत (तस्बिरसहित)

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रण गर्न अनुगमन सुरू गरिएको छ । कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीको निर्देशनमा हात्ती नियन्त्रणका लागि प्रयास भइरहेको छ ।

गत असार २० गते भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणमा परी आमा–छोराको ज्यान गएको थियो । चितवनको माडी नगरपालिका वडा नम्बर १ घर भइ हाल भरतपुर महानगरपालिका २३ बेलहट्टा २५ वर्षिया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको थियो ।

हात्तीलाई नियन्त्रणमा लिन निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरी चौबीसै घण्टा अनुगमन गरिरहेको मन्त्री चौधरीले बताइन् । हात्ती निकुञ्जभित्रको उपयुक्त स्थानमा फेला परेको खण्डमा डार्ट गरी रेडियो कलर जडान गर्ने तयारी छ । हात्तीलाई चौबीसै घण्टा निगरानी गरिने वन मन्त्री चौधरीले बताइन् ।

यसैबीच वन मन्त्री चौधरीले हात्ती मध्यवर्ती क्षेत्रका बस्तीतर्फ आउन लागेको सूचना सम्बन्धित स्थानीयवासीसम्म समयमै पुर्‍याई आवश्यक सजगता अपनाउन अनुरोध समेत गरेकी छिन् ।

त्यस्तै, ध्रुवे हात्तीको आक्रमणमा परेर ज्यान गुमाएका मृतकको परिवारलाई तत्कालै राहत उपलब्ध गराइएको मन्त्री चौधरीले बताइन् । तीन दिनभित्रै मृतकको परिवारलाई राहत उपलब्ध गराइ सकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रतिमृतक १० लाखका दरले जम्मा २० लाख रुपैयाँ राहतस्वरूप प्रदान गरिएको छ ।

यसका अतिरिक्त राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कोषबाट प्रतिमृतक ५० हजारका दरले थप १ लाख रुपैयाँ समेत पीडित परिवारलाई उपलब्ध गराइसकिएको मन्त्री चौधरीले जानकारी दिइन् ।

यस्ता छन् राहत वितरणका तस्बिरहरुः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =