कोरोनाकै कारण सञ्चालनमा आयो सुपरमार्केट

काठमाडौँ । कोभिड–१९ का कारण पर्यटन व्यवसाय ठप्प भएपछि सौराहाका व्यवसायीले विकल्पको बाटो खोजेका छन्।

कोभिड–१९ को समयमा मजदूर र कर्मचारी समेतलाई बिदा दिएर फुर्सदिला बनेका होटलका सञ्चालकहरूले सदावहार चलायमान हुने व्यवसायको खोजी गरेका हुन्। यही क्रममा व्यवसायी सौराहा नजिकैको बकुलहरमा सेभ सुपरमार्केट सञ्चालन गर्ने निचोडमा पुगे। सुरुमा तीनजनाबाट थालिएको छलफल र काम अघि बढ्दै जाँदा यो समूहमा १८ जना लगानीकर्ता आबद्ध हुन पुगेका छन्।

सोह्रजना सौराहाका होटल व्यवसायी रहेको सञ्चालकमध्येका एक सुमन घिमिरेले बताए। बकुलहरमा बन्द अवस्थामा रहेको ज्योति हल भएको जग्गा भाडामा लिएर यो समूहले सुपरमार्केट सुरु गरेको हो। उनका अनुसार रु. १६ करोड लगानीमा सुपरमार्केट सञ्चालनमा आएको हो। पूर्वी चितवनकै सुविधासम्पन्न सुपरमार्केटमा एकै ठाउँमा आवश्यक सम्पूर्ण घरायसी सामान पाइने गरी व्यवस्थापन गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

सुपरमार्केट सञ्चालन गर्ने सौराहा भेन्चर्स् प्रालिका अध्यक्ष नारायण भट्टराईका अनुसार सुपरमार्केटभित्र सिनेमा हल, सपिङ सेन्टरलगायतको व्यवस्था छ। सुरुमा सपिङ सेन्टर मात्र सञ्चालन हुनेछ भने त्यसपछि दुई सिनेमा हल सञ्चालन हुनेछन्। नवनिर्मित सुपरमार्केट तीन तलाको रहेको छ। पहिलो तलामा ग्रोसरी, दोस्रो तलामा किचेनवेयर तथा इलेक्ट्रिकल पसल र तेस्रो तलामा स्केट पार्क रहनेछ। सौराहामा रहेका होटल तथा रेष्टुराँलाई अब सामान खरिदकै लागि भरतपुरसम्म पुग्नुपर्ने बाध्यता हटेको भट्टराईले बताए।

सञ्चालक दीपेन्द्र खतिवडाका अनुसार समूहले सेभ सुपरमार्केटलाई बिस्तारै आउटलेटका रूपमा चितवनभरि फैलाउने योजना छ। वैकल्पिक व्यवसायलाई पनि साथमै लैजाने योजनाका साथ उनीहरूले बकुलहरलाई मुख्य कार्यालय मानेर चितवनका विभिन्न क्षेत्रमा सुपरमार्केट सञ्चालन गर्ने तयारी गरिरहेका छन्। सौराहाका होटल सञ्चालक समय समयमा हुने व्यावसायिक उतारचढावका कारण समस्यामा पर्दै आएका छन्।

भूकम्प, नाकाबन्दी, कोभिड–१९ लगायतले पर्यटन व्यवसाय प्रभावित हुने गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *