लागुऔषध कारोबारी र दुर्व्यसनी पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालयले चालुआर्थिक वर्षको हालसम्म ९१ लागुऔषध कारोबारी र दुर्व्यसनीलाई पक्राउ गरेको छ।

पछिल्लो समय लागुऔषध नियन्त्रणमा आक्रामक तरिकाले कामलाई अगाडि बढाएको प्रहरीले लागुऔषधसम्बन्धी ८३ वटा उजुरी दर्ता गरी उनीहरूलाई पक्राउ गरेको हो। उजुरी दर्ता भएकामध्ये पाँचजना आरोपित भने पक्राउ पर्न सकेका छैनन्। घरमै भण्डारण गरी लागुऔषध बिक्री गर्दै आएका बोदेबर्साइन नगरपालिका–९ देउरीका १९ वर्षीय शङ्कर यादवलाई प्रहरीले लागुऔषधसहित शुक्रबार सार्वजनिक गरेको थियो।

इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक बालिस्टर सिंहका अनुसार यादवको घरबाट एक हजार २५० ट्याब्लेट नाइट्रोभेट–१० तथा ७५०-७५० एम्पुल डाइजेपाम, फेनारगन र नुफिन बरामद गरिएको छ।

भारतबाट साइकलमा लागुऔषध ओसारिरहेका दुई युवालाई प्रहरीले गत पुस २३ गते पक्राउ गरेको थियो। राजगढ गाउँपालिका–६ बनैनिया बरदाही जाने भित्री सडकखण्डबाट लागुऔषधसहित विष्णुपुर गाउँपालिका–४ का २३ वर्षीय श्यामकुमार यादव र तिलाठी कोइलाडी गाउँपालिका–८ का २० वर्षीय परमानन्द महतो पक्राउ परेका थिए। उनीहरूको साथबाट ४०८ क्याप्सुल एपिएम प्रोक्सिभन, चार बोतल डाइलेक्स डिसी र चार ट्याब्लेट नाइट्राभेट–१० बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

सप्तरीबाट काठमाडौँ लैजान ठीक पारेको दुई हजार १०० ट्याब्लेट नाइट्रोभेट–१०, एक सय मिलिग्रामको ३९९ बोतल डाइलेक्स डिसी सिरफ र २८८ क्याप्सुल प्रोक्सीभोन प्रहरीले राजविराज–२ स्थित गुलाब ग्यारेजमा राखिएको ना८ख ५८३७ नम्बरको विशाल मेट्रो बसबाट गत पुस १० गते बरामद गरेको थियो। लागुऔषधका पटके आरोपित सोही बसका सहचालक कञ्चनरूप नगरपालिका–८ का सञ्जय भुजेल र बोदेबर्साइन – ५ जाँजरका २१ वर्षीय अब्दुल मियाँलाई पक्राउ गरेको थियो।

ठूलो परिमाणका कारोबारीसँगै प्रहरीले दुर्व्यसनी र ओसारपसारमा संलग्नलाई पक्राउ गर्न थालेपछि सप्तरी प्रहरीका हिरासत कक्ष अहिले लागुऔषधका आरोपितहरूले भरिएका छन्। जिल्ला प्रहरी कार्यालय र मातहतको ‘क’ श्रेणीका तीन इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका अधिकांश लागुऔषध आरोपित रहेको प्रहरीले जनाएको छ।

बरामद भएका लागुपदार्थको परिमाण र उजुरी दर्ता पनि बर्सेनि बढ्दै गएको छ। प्रहरीले आर्थिक वर्ष ०७६-०७७ मा लागुऔषधसम्बन्धी ५१ उजुरी दर्ता गरी ७१ जनालाई पक्राउ गरेको थियो। तीमध्ये तीनजना अझै फरार छन्।

यस्तै आर्थिक वर्ष ०७७-०७८ मा ८८ उजुरी दर्ता गरी १५३ जनालाई पक्राउ गरेको थियो। तीमध्ये नौ जना फरार छन्। खुला सिमानाको फाइदा उठाउँदै पर्याप्त मात्रामा लागुऔषध छिमेकी मुलुक भारतीय सीमाबाट प्रवेश हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरी उपरीक्षक काफ्लेका अनुसार पैदल, साइकल, अटो रिक्सा, मोटरसाइकललगायतमा लोड गरी लागुऔषध भारतबाट सप्तरी भित्रिने र बसमार्फत हेटौँडा, काठमाडौँ, पोखरासम्म पुग्ने गरेको बताए।

लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार लागुऔषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सार तत्व मिश्रण वा लवणसमेत मिलाइ तयार गरिने पदार्थ र सरकारले तोकिदिएको प्रकृतिक तथा कृतिम लागुऔषध बुझिने प्रहरीले जनाएको छ।

कानुनले लागु पदार्थको अवैध ओसारपसार, सञ्चय तथा प्रयोग गर्न बन्देज लगाएको छ। लागुऔषध ९नियन्त्रण० ऐन २०३३ अनुसार लागुऔषध दुर्व्यसनीलाई दुई महिनासम्म कैद र रु. दुई हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। दुर्व्यसनीबाहेक अन्य निषेधित कार्य गर्नेलाई दुई वर्षदेखि १० वर्षसम्म कैद र रु. एक लाखदेखि २० लाखसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए।

आफ्नो घर, जग्गा वा सवारीमा निषेध गरिएको काम गर्न अनुमति दिनेलाई छ महिनादेखि पाँच वर्षसम्म कैद वा रु. दश हजारसम्म जरिवाना हुनेछ। घर, जग्गा वा सवारी धनीले नै अपराध गरेकोमा वा अपराध गर्न अनुमति दिएकोमा त्यस्तो घर, जग्गा वा सवारीसमेत जफत हुनसक्ने व्यवस्था छ।

प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले लागुऔषध नियन्त्रणमा सप्तरी प्रहरी आक्रमक शैलीमा लागेको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *