संगीतप्रेमी आमाको साहित्यप्रेमी छोराे

‘मर्नु भन्दा बौलाउनु बेस’ भन्ने उखानमा अझै पनि धेरै हदसम्म विश्वास थियो ममा । २०७३ सालको श्रावणतिर आमाको अवस्था एक्कासी जटिल भएर आयो । आमाको बानी व्यवहार असामान्य त भयो नै हामीलाई सामान्य लागेको स्मरण शक्ति एक्कासी घटेर आमासहित भगवती जी (श्रीमती) र छ महिनाकी छोरी काफियालाई पनि क्षयरोगले भेटेछ ।

धनगढीको बसबाट कलंकी झरेकी आमालाई भाग्य (बहिनी) ले ट्याक्सीमा कीर्तिपुर लगी । म भगवती जी र छोरी अर्को ट्याक्सीमा कान्ति अस्पताल महाराजगन्ज लाग्यौँ । आमालाई जटिल प्रकारको अनि भगवती जीलाई सामान्य र काफियालाई क्षयरोग भर्खर सर्दै गरेको रहेछ । आमाको बाँकी उपचारको लागि हामी शुरूमा काठमाडौँ मोडेल अस्पताल पुग्यौँ । आमाको अवस्था र हाम्रो अवस्था अध्ययन गरेपछि मानसिक रोगका डा. सरोज ओझाले आमालाई नसाको पनि समस्या छ तसर्थ न्युरोलोजिस्ट र साइक्याट्रीक्सले सँगै उपचार गर्नुपर्छ भनेर आमालाई टिचिङ हस्पिटल भर्ना गर्नुपर्ने सल्लाह दिनुभयो ।

आमालाई शारीरिकसँगै मानसिक समस्या पनि देखिन थालिसकेको थियो । भनेको नबुझ्ने अनि नमान्ने । दोहोरो संवाद कम, गाली बढी । अरू सबैथोक बिर्से पनि केही पुराना अछामी गालीहरू जिब्रोमै थिए आमाका । कीर्तिपुरमा बहिनी र म मात्रै बस्ने साँघुरो कोठामा ३ जना बिरामी थपिनुभयो । यो बेलाका आमामा देखिएका लक्षणहरूले उहाँलाई चञ्चल बनाएका थिए । यताउता हिँडिरहनु पर्ने, कसैले भनेको नमान्ने, जथाभाबी थुकी रहने, मास्क त के कपडा पनि राम्रोसँग लगाएर नबस्ने । लगाएको कपडा पनि बेरिरहने, सकेसम्म कपडामा गाँठा पारिरहने ।

जिन्दगीभरमै यतिखेरको जिन्दगी साह्रै सकसपूर्ण रह्यो । क्षयरोगसहित ३ थरी रोग आमालाई अनि ६ महिनाकी काफिया र भगवती जीलाई पनि । काफिया बाहेक अरूलाई स्वास्थ्य संस्थामै औषधी सेवनका लागि लानुपर्ने, आमालाई जटिल खालको क्षयरोग भएर खोप नै लगाउनुपर्ने, आफ्नो फेरि ३ तिर पार्ट टाइम जागिर बिहान ७ देखि बेलुका ६ सम्म ।

झिनो आशा

“संकट पर्छ मान्छेलाई ढुङ्गालाई के पर्दछ ।
असिना आई फूलबारीकै फूल पहिले झार्दछ ।”

टिचिङ अस्पतालको न्युरो डिपार्टमेन्टको ओपिडीको वैटिङ रुमको दायाँतिर हेर्नुभयो भने स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको ठूलो आकृतिको सालिकसहित माथिका हरफहरू कोरिएको देखिन्छ । सकसपूर्ण जिन्दगीका दिनहरू चलिरहेको अवस्था यो कविताका हरफले साह्रै हिम्मत दिलायो ।

न्युरोलोजी डिपार्टमेन्टमा शुरूशुरूमा त सिकारु डाक्टरहरूले नै हेर्नुभयो ममीलाई । केही फ्लोअपपछि अवस्था अलि जटिल मानेर न्युरोलोजी डिपार्ट प्रमुख डा. विक्रम गजुरेलकहाँ रिपोर्टहरू ट्रान्सफर भए । त्यहाँदेखि डाक्टर विक्रम गजुरेलको सल्लाहमा आमाको उपचार भयो । डाक्टर विक्रम गजुरेलले भारतमा चेकजाँच गरेका सम्पूर्ण रिपोर्टहरू हेरिसकेपछि आवश्यक अन्य रिपोर्टको लागि सिफारिस गर्नुभयो ।

टिचिङमै छिटो रिपोर्ट हुने त्यतै बाँकी एउटा एमआरआई रिपोर्टको लागि दरबारमार्ग स्थित एउटा प्रयोगशालामा गयौँ । प्रयोगशालाको वैटिङ रुममै बसिरहेका थियौँ । आमालाई एक ठाउँमा थामेर राख्न बहिनीलाई निकै गाह्रो भएको थियो । त्यतैको कर्मचारीहरूले छोडिदिनुस् ढोका बन्दै छ कतै जानुहुन्न भनेर पछि छोडिदियाैँ ।

सोफाकै अगाडि ठूलो ऐना लगाएको थियो । आमा सीधै ऐना अघि गएर एकोहोरो वार्तालाप गर्न थाल्नुभयो । “ओए!! आमा आयाकी रैछन् । कैले आया आमा ?” आमाले आफैँलाई ऐनामा देखेर आफ्नै आमा सम्झेर कुरा गरेपछि लाग्यो आमा सानो हुँदा आमा जस्तै हुनुहुन्थ्यो होला । बहिनीका लागि भने यो घटना नौलो थिएन । यसअघि पनि बाटोमा भेट्टिएका कत्ति महिलाहरूलाई फुपू सम्झेर ढोग दिएकै घटनाहरूको स्मरण प्रशस्तै थिए उनीसँग । बचपनमा आमाका साथीहरू प्रायः फुपू साइनो पर्ने नै हुनुहुन्थ्यो र आमाले आफैँ एकोहोरो पनि फुपू सम्बोधन गरेर वार्तालाप गरी रहनु हुन्थ्यो ।

आमाको अवस्थाबारे प्रयोगशालाका कर्मचारीलाई जानकारी गरायौँ । आमाको छटपटी र चकचके बानीले आमालाई बेहोस नगरी एमआरआई मेसिनमा राख्न नमिल्ने भयो । बेहोस गर्नको लागि पनि डाक्टरको समय लिनुपर्ने भयो । त्यही दिन थाहा भयो मान्छेलाई बेहोस गर्न पनि पैसा लाग्ने रहेछ । तीन दिनपछिको डेट दिनुभयो । बेहोस गर्ने डाक्टरको सेवा शुल्क अग्रिम भुक्तानी गरेर फर्कियौँ ।

सानो छँदा कहिलेकाहीँ घरको रेडियो बिग्रियो भने सबै ब्याट्री खेलेर हल्का ठाकठुक गरेकै भरमा रेडियो चल्थ्यो । कताकता यस्तै आस पनि मनमा पलाएको थियो । बेहोस गराएपछि एमआरआई मेसिनबाट उठ्दा ममीको हराएको स्मरण शक्ति फर्किएर आइदिए पनि हुन्थ्यो नि ! आमालाई बेहोस हुने इन्जेक्सन लगाएर मेसिन राख्नु भएको २ मिनेटमै आमा बेहोसीबाट बिउँझिनु भयो । १५ मिनेट जति राख्नुपर्ने मेसिनबाट आमा चाँडै उठेपछि ल्याबको कर्मचारी आत्तिँदै “ल बिरामी त उठेछ” भन्दै ल्याब रुममा दौडिनुभयो । कर्मचारीले आमालाई सम्बोधन गरेको शब्दले मन चसक्क भयो । फेरि डाक्टरलाई बोलाएर आमालाई फेरि बेहोस पारेर मेसिनमा राख्नुभयो । १५ मिनेटपछि आमालाई एमआरआई मेसिनबाट झिकियो । आमाको होस् त आयो तर स्मरण शक्ति आएन । आमाले न मलाई चिन्नुभयो न बहिनीलाई । भोलि रिपोर्ट लिन भोलिमात्रै आउनुहोला भनेपछि एकैछिन वैटिङ रुममै पर्खेपछि हामी कीर्तिपुर फर्कियौँ ।

आमाको संगीत प्रेम

बुवा दिदी नजन्मिँदैदेखिका बम्बैवाला भएर होला घरमा म नजन्मिँदै ठूलो ६ वटा ब्याट्री लाग्ने रेडियो सहितको टेपरेकर्डर बम्बैबाट आइसकेको थियो । बुवा बम्बैबाट आएपछि र दसैँ तिहारमा मात्रै हिन्दी र देउडा गान बजाउने अवसर पाउँथ्यो टेपरेकर्डरले । रेडियो त के त्यति बेला नेपालमै एफएम रेडियो थिएन र हाम्रो घरको रेडियोमा पनि एफएम वेभ थिएन । सटवेभ र मेडिवेभ थियो । सटवेभमा रेडियो सुन्दा बोलेको आवाज कम रेडियोको सुसाहट बढी सुनिन्थ्यो । बुढीगंगा भन्दा बढी जोडले रेडियो सुसाउँथ्यो । त्यै रेडियो थियो हामी २०५४ सालमा तराई झर्दा मैले बोक्ने जिम्मा पाएको । पहाडको तुलनामा अलि कम सुसाएर बढी प्रस्ट बोल्थ्यो तराईमा रेडियो । सानो छँदा रेडियोभित्र मान्छे नै बसेका हुन्छन् कि झैँ लाउँथ्यो । आमा पनि रेडियोभित्र स-सना मान्छे हुन्छन् र रेडियोसँग धेरै चलिस् भने ती मान्छे रिसाउँछन् अनि बोल्न र गीत गाउन छोड्छन् भनेर हाम्रो चकचकबाट रेडियोलाई जोगाउनु हुन्थ्यो ।

धेरैपछि मात्रै थाहा भयो, रेडियो तरङ्गले बज्छ भन्ने कुरा । बुबाले बम्बैबाट ल्याउनुभएको रेडियो कहिल्यै बम्बै फर्किनु बरू आमाको छोटो छोटो बसाइँमा पनि पहाड तराई खुब गर्‍यो । पहाडको बसाइँ चट्टै नछोडेको हुँदा कुनै बेला पहाड अन्टी कुनैबेला आमा बस्नुहुन्थ्यो । आमा जता बस्नु भयो, रेडियो पनि त्यतै बस्ने अवसर पाउँथ्यो । मानौँ आमालाई बुवाले बम्बैबाट कुनै सर्तमा ल्याइदिएको अमूल्य उपहार थियो त्यो रेडियो । बुवा बम्बैबाट आउनुभएपछि अझ बढी रेडियोभन्दा देउडा र ठाडी भाका घन्किन्थे रेडियोमा ।

हिउँदको महिना बुवाको नेपालको बसाइँ सकिएर भोलिपल्ट बम्बै जाने कुरा थियो । सानीमा पनि आउनुभएको थियो महेन्द्रनगरबाट । हामी भाइबहिनी भान्छामा चुल्हो आगो ताप्दै खाना खाएर भन्सामै निदाइसकेका थियौँ । राती हामीलाई भित्र सुताएर भान्छा कोठा गीत रेकर्डिङ स्टुडियो भएछ । सानीमा र आमाले गीत गाएको रेकर्ड हुँदै रहेछ । चर्को ठाडी भाकाले मेरो निन्द्रा बिथोल्यो । बहिनी अझै सुतेकी थिई, म भान्छामा पुगे । हल्ला नगरी बस्नेभए आइजो बस भन्ने सर्तमा भान्छा कोठा आगो ताप्दै आमा र सानीमाको लाइभ गीत सुन्ने मौका पाएँ ।

गीतको शुरूमा एक राउन्ड अभ्यास हुन्थ्यो, दोस्रो राउन्डमा रेकर्ड । सानो छँदा देउडा गीतमा रुचि त थिएन तर सानीमाको र आमाको लाइभ गीत खुब चाख मानेर सुने । पालैपालो देउडा र ठाडी भाकाको अभ्याससहित रेकर्ड भयो र पछि रेडियोमा बजाइयो पनि । भोलि बुवासँग बम्बै जानेवाला थियो त्यो डबिङ क्यासेट । बुवा बेलाबेला घर आएको बेला यसैगरी घरका यादहरू क्यासेटमा डब गरी लैजानु हुन्थ्यो । कहिले आमाले गाएका गीत त कैले सानीमाले गाएका गीत । अर्को दिन गाउँमा हल्ला फैलिन्थ्यो, हिजो रातभर फलानाको घरमा गीत रेकर्ड भयो भनेर ।

टपेन्द्र दाजुको आमा कहिलेकाहीँ पुराना आफ्ना समयका किस्सा सुनाउनु हुन्थ्यो । तपेन्द्र दाइ र म डेढ वर्षको हुँदा एकदिन आमा र तपेन्द्र दाइको आमा लगायत केही आमाहरू हामीलाई सुताएर राती घरबाट लगभग ७/८ किलोमिटर टाढाको वैद्यनाथ रात्रि समयमा लाग्ने मेलामा जानुभएछ । रातभर देउडा खेलेर बिहानतिर घर आउनुभएछ । राती म रोए पछि बज्यैले थाहा पाउनु भयो अनि दोस्रो दिनभर मेरो नातिलाई रातभर रुवाएर रातभर खेल खेल्न गइस् भनेर आमाले खुब गाली खानु भयो अरे ।

खेत जोतेर किनेको एफएम रेडियो

कक्षा ८ पढ्दा होला एफएम रेडियो तरङ्गले मिडिवेब र सटवेब तरंगलाई विस्थापित गर्दै थियो । गाउँघरमा ३ ब्याट्री लाग्ने सानो रेडियोको एफएम र टिभी तरंग टिप्ने रेडियो खुब चलिरहेको थियो । हाम्रो घरको रेडियो भन्दा एफएम रेडियोको आवाज त कत्ति ठूलो ठूलो अनि प्रस्ट आवाज पनि ।

अझ नेपाल टेलिभिजनकै कार्यक्रम पनि सुन्न पाइने भएको हुँदा खुब गज्जब लागेको थियो त्यो रेडियो । रेडियो टिभीबाट सुनेको हामीले तितो सत्य, जिरे खुर्सानी, हिजोआजका कुरा, पुष्पाञ्जली, थोरै भए पुगी सरी, वंश परिचय लगायतका टेली शृंखलाहरू । अनि रेडियोमा सुन्थे शनिवार दिउँसो २ बजेको हिन्दी समाचारपछि हिन्दी फिल्म पनि । गाउँमा अलि टाढै थियो बिजुली बत्ती । घरमा टिभी त के रेडियो सुन्न पनि नियमित ब्याट्री किन्ने अवस्था हुन्थेन । यसअघि अरू बेला खेत जोते पनि धान काटेपछिको खेत जोत्न दिनु हुन्थेन आमाले । खेत अलि साह्रो हुने भएर म हलो थाम्न सक्दैन र राम्री एकसरो जोत्न सक्दैन भनेर मान्नुहुन्थेन आमा । एकसरो र दोहोरो ट्याक्टर लाउने र गहुँ छर्ने बेला मात्रै जोत्न दिने कुरा थियो ।

धान काट्नुअघि एकदिन आमाकाई “ट्याक्टरले जोत्दा लाग्ने पैसा मलाई दिनुस् खेत म जोत्छु” भनी जिद्दी सहितको प्रस्ताव गरे । शुरूमा मान्नु भएको थिएन, पछि मान्नु भयो तर काटेको धान उठाए लगत्तै जोत्ने सर्तमा । धान काट्नेबित्तिकै खेत अलि नरम हुन्थ्यो, २ दिन मात्रै खेत खाली राख्यो भने खेत खुब साह्रो हुने जोत्नै गाह्रो हुने अनि ठूलठूलो डल्ला आउने ।

खेत जोतेर सकेको दिन आमाले ५०० रुपैयाँ दिनुभयो । दिउँसो ३ बजे तिर नै साइकल चढेर अत्तरिया टाप । रेडियो पसलमा गएर ३ ब्याट्री लाग्ने टिभी सहितको एफएम वाला रेडियो ब्याट्री हालेर परीक्षण गरिदिन अनुरोध गरे । कालो लेदरको कभरमा सेता बुटा भएको रु. ३५० मा रेडियो किनेर घर आइपुगे । बाँकी १५० डल्ला फोडेको र इल्चा कन्ला खनेको भाग बहिनी र तम्रो भनेर आमालाई फर्काए ।

एकछिनमा रेडियोमा टिभी बज्न थाल्यो घर नै रन्किने गरी बेलुका आठ बजेको टिभीको समाचार अघि आउने त्यो चर्को सिग्नेचर धुन खुब मन पर्थ्यो । रेडियोमा आवाज आउँथ्यो मस्तिष्कमा चित्र चल्थ्यो । अब घरमै बज्ने भए तितो सत्य देखि हिन्दी चलचित्रसम्म । अनि रेडियो नेपालदेखि घोडाघोडी एफएमसम्म ।

खेतको आलीमै मात्र हैन वस्तुभाउ चराउन वनजंगल जाँदा पनि सँगै जान थाल्यो टिभी रेडियो । शनिवारको दिन त झन् जंगल लान छुटाउने कुरै भएन । सबै गोठालाहरूको बिचमा बज्थ्यो रेडियो अनि सबैको मस्तिष्कमा आ-आफ्नै तरिकाले हिरो हिरोइन नाच्थे, हिरो र गुन्डाहरूको फाइट हुन्थ्यो र सिंगाे कथा घुमेर चलचित्र सकिन्थ्यो ।

यहाँनेर कक्षा ७ मा पढेको पाठ रेडियो र टेलिभिजनको संवादमा रेडियोले टिभीलाई किसानको खेत आलिमा बज्न सक्दैनौँ तिमी मैले जसरी भन्ने संवाद मिल खाइरहेको थिए । अब त टिभी जताजता रेडियो त्यतात्यता पुग्ने भैसकेको थियो । पढ्ने समय घरको काम र रेडियो सुन्ने समयको तालमेल मिलेन भने आमाको किच किच शुरू हुन्थ्यो । अनि ब्याट्री सकिँदा १ हप्ताको सजाय रेडियो बन्द । आमालाई यी टेलिशृंखला र आधुनिक गीतसंगीतले खासै छुन्थेन तर देउडा र लोक गीत कहीँकसो बजे पनि स्टेसन बदल्न दिनु हुन्थेन । कहिले कसो आफ्नै कोठामा रेडियो सानो आवाज बोल्दा देउडा गीत बजे पनि हामी ममी तम्रो गीत आयो भन्दै रेडियो आमाको कोठमा पुर्याउथेउ ।

त्यो गजल पुञ्ज अनि त्यो गजलगंगा

बिस्तारै रेडियोमा सुन्न कार्यक्रमको दायरा बढेर आयो । समाचार, जानकारीमूलक र संगीतका कार्यक्रम सँगसँगै अब साहित्यिक कार्यक्रममा खुब चासाे बढेर आयो । रेडियोमा आफ्नो फर्माइसको गीत बजे पनि के के उपाधि पाए जस्तो । झन् आफ्नो सृजना वाचन भयो भने त्यो त्यो हप्ताभरि लाउने धाक छुट्टै । गाउँभरका रेडियो सुन्ने मान्छेहरू हिजो राति तेरो पत्र रेडियोमा आएको थ्यो नि कस्तो राम्रो कविता, कस्तो राम्रो गजल, कस्तो राम्रो कथा आफैँ लेखेको हो ? मानौँ गाउँको एउटा सेलिब्रेटी नै भएको फिल आउँथ्यो ।

आमालाई यस्ता साहित्यिक कार्यक्रमले छुन्थेन बरू घोडाघोडीबाट एफएमबाट आउने देउडा गीतको कार्यक्रम आउँदा रेडियो आफैँसँग राख्नुहुन्थ्यो । कक्षा ८ पढ्दै गर्दा नेपाली शिक्षकले कवि सिद्धिचरण श्रेष्ठको मेरो प्यारो ओखलढुंगा पढाइ सकेपछि आफ्नो जन्मभूमिबारे कविता लेखेर ल्याउनु भन्नुभयो । मैले देउडा शैलीमा लेखेका कविताका लाइनहरूको वाचनले कक्षामा खुब वाहिवाही पायो । अर्को वर्ष कक्षा ९ मा आफैँ लेखेर वाचन गरेको ‘शान्ति चाहियो हामीलाई’ शीर्षकको कविताले हाम्रो रातो सदन प्रथम भए पछि झन्, ऊर्जा थप्यो ममा ।

रेडियो घोडाघोडीमा बाट बज्ने ‘बोजो बिहानी’ कार्यक्रममा बोजो सम्बन्धी लेखेको कविता प्रथम भएर एउटा भित्ते घडी पाएपछि झन् साहित्यप्रतिको माया प्रगाढ बन्यो । त्यसपछि सिक्नुपर्ने आकर्षणको विषय बन्यो गजल ।

त्यतिबेला रेडियो घोडाघोडीबाट आर जे अविरल दाजुले सञ्चालन गर्ने कार्यक्रम गजलपुञ्ज र गीति कथा नछुटाई सुनिने कार्यक्रम थिए । अनि रेडियो नेपालबाट बज्ने कार्यक्रम गजलगंगा, मधु वन, मेरो परिधि, पत्र मित्र, विम्ब प्रतिबिम्ब अनि प्रिय सरु यानकी संगीत सरोवर । गजल सुनेरै गजल लेख्न सक्छु होला सोचेर गजल लेख्न थाले । गजल लेखे पनि कति गजल भनेर फजल लेखेर रेडियोको पत्र मन्जुसामा छोडेर आए । त्यतिबेला गजल लेख्नेहरू थोरै थिए अथवा पत्र पठाउनेहरू हप्तैपिच्छे एउटै व्यक्तिहरूका रचनाहरू वाचन हुन्थे ।

त्यति गजलपुन्जबाट निरन्तर सुनिने नामहरू प्रेमी नन्दन प्यासी, प्यासी ओझा सानु, कृष्णराज असीम पीडा लगायतका गजलहरू नियमित वाचन हुन्थे । मैले लगातार पत्र छोडेर आउँदा पनि गजल वाचन नभएसी एकदिन गुनासो सहितको गजल भनेर फजल छोडेर आए ।

बेलुका गजल पुञ्जमा शुरूमै मेरो पत्र सम्बोधन सहित गजल लेख्ने प्रशिक्षण सहितको कार्यक्रम आयो । त्यसपछि नियमित रूपमा प्रशिक्षण जस्तै एउटा सेर छोडेर अन्तिम बाँकी सेर थपेर सिङ्गो गजल पठाउने जिम्मा गजल प्रेमीहरूको भयो । उत्कृष्ट गजल वाचन हुन थाले । अर्को हप्ताबाट मेरो साप्ताहिक रूपमा नियमित गजल वाचन हुन थाल्यो । पछि गीति कथा पनि तीन पल्टसम्म प्रसारित भयो । गजलको सैद्धान्तिक ज्ञान प्राप्त भएपछि बल्ल रेडियो नेपालको गजलगंगामा गजल पठाउन थाले ।

काठमाडौँ आइसकेपछि पनि साहित्यप्रति र गजलप्रति यति धेरै प्रगाढ प्रेम गर्न सिकाउने गजलपुञ्जमा पत्र पठाए प्रसारण पनि भए । सुदूरपश्चिम विशेष गरी कैलालीको साहित्यमा र गजल विकासमा निकै ठूलो योगदान दिने अहिले न रेडियो घोडाघोडी छ न त त्यसपछि कार्यक्रम प्रस्तोता आरजे अविरलसँग भेटघाट भयो । संसारले आमालाई सम्झी रहेको यो दिनमा म मेरी जन्मदिने दिवंगत आमा अनि गजल सिकाउने हजुरलाई पनि सम्झी रहेको छु आरजे अविरल दाइ । आशा छ एकदिन अवश्य भेट हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.