मेयर बादेले दिए राजीनामा, भन्छन्, ‘धोका दिने पार्टीमा बसिरहन मन लागेन’

काठमाडौँ । आज शनिबार पत्रकार सम्मेलनको आयोजना गरी बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिं बादेले पदबाट राजीनामा दिने घोषणा सार्वजनिक गरेका छन्। मेयर बादे स्थानीय तहको निर्वाचनको टिकट वितरणका विषयमा पार्टीसँग असन्तुष्ट थिए।

उनले पार्टीको साधारण सदस्यतासमेत नरहने गरी राजीनामा दिने घोषणा गरेका हुन्। तत्काल कुनै पार्टीमा प्रवेश गर्ने योजना नभएको बताउँदै उनले भने, ‘नगर प्रमुखमा तपाईं नै हो तपाईं नै हो भनेर अन्तिममा धोका दिइयो। त्यस्तो, धोका दिने पार्टीमा बसिरहन मन लागेन, त्यसैले एमालेको साधारण सदस्यसमेत नरहने गरी परित्याग गरेको घोषणा गर्छु, एमालेबाटै नगर प्रमुख जितेको कारण त्यहाँ बस्न मेरो नैतिकताले पनि दिँदैन, कार्यालय खुलेपछि नगर प्रमुख पदबाट पनि राजीनामा दिन्छु।’

एमाले काभ्रेका इन्चार्जसमेत रहेका पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटाले आफूलाई अन्तिम समयमा धोका दिएको बादेले भनाइ छ। उनले भने,  ‘टिकटको बारेमा गोकुलजीसँग कुरा गर्दा तपाईं नै हो, तपाईं नै भन्ने कुरा भयो, तर पछि मेरो फोन नउठाउने, भेट्नै नखोज्ने गर्न थाल्नुभयो।’ उनले अगाडि भने, ‘तपाईं नै हो भनेर त मलाई झुक्याउनु भएको रहेछ, मलाई आश्वासन मात्र दिइएको रहेछ।’

मेयरका लागि बादेसहित ९ जनाको नाम सिफारिस भएकोमा एमालेले नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितलाई मेयर र उपमेयरमा अखिल नेपाल महिला संघ काभ्रेकी अध्यक्ष विमला सापकोटा दाहाललाई उम्मेदवार बनाएको छ। टिकट पाउने रञ्जितले पनि आफूलाई धोका दिएको मेयर बादेले बताए।

उनले भने, ‘एमाले नगर कमिटीको अधिवेशनमा उनलाई अध्यक्ष बनाउने बेलामा तपाईं नै मेयर हो भनेका थिए, पछि पनि ठूलोबा नै हो भन्दै आएका थिए। उनीबाट पनि बेइमानी भयो।’ उनले अगाडि भने, ‘१८ वर्षसँगै काम गरेका मान्छेलाई धोका दिनेले नगरवासीका लागि काम गर्न सक्दैनन्।’

आफ्नो ठाउँमा अन्यलाई उम्मेदवार उठाउन खोजेकै भए पनि सल्लाह गरेको भए आफू मान्ने पक्षमा भएको बताउँदै उनले आफूलाई गुमराहमा राखेको चित्त नबुझेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *