सरकारी विद्यालय मोह : पोखरिया माविमा प्रवेश परीक्षा दिनेको थेगिनसक्नु भिड

विराटनगर । पोखरिया माध्यमिक विद्यालयको बाहिर एउटा सानो बच्चा च्यापेर एक महिला बसिरहेकी थिइन् । उनका वरिपरि अरू थुप्रै व्यक्तिहरूको जमघट थियो । सिराहा घर भएकी अम्बिका सिंह काखे नानी सहित बिहीबार नै विराटनगर आएकी हुन् ।

उनको साथमा एउटा काखे नानी त थियो नै उनकी कक्षा ९ मा पढ्ने अर्की छोरी प्रेक्षा पनि सँगै थिइन् । अम्बिका पोखरिया माध्यमिक विद्यालयको बाहिर बसिरहँदा भित्र उनकी छोरी प्रेक्षा परीक्षा दिइरहेकी थिइन् ।

सिराहाबाट छोरीको परीक्षाको लागि आएकी अम्बिका शुक्रवार छोरी प्रेक्षाको प्रवेश परीक्षा थियो । प्रवेश परीक्षामा नाम निकाले त्यही विद्यालयमा पढाउनको लागि उनी सिराहाबाट धाएकी हुन् । एकरात बसेर छोरीको परीक्षापछि उनी शनिवार मात्र आफ्नो घर सिराहा फर्किने बताउँछिन् ।

सिराहा तथा सप्तरीमा पढाई राम्रो नभएपछि उनी सानो नानी च्यापेर छोरीको भविष्य खोज्दै सरकारी विद्यालयमा भर्ना गर्न विराटनगर आएकी हुन् । विराटनगर महानगरपालिका वडा नम्बर ३ मा रहेको पोखरिया माध्यमिक विद्यालयमा पढाई राम्रो हुन्छ भन्ने सुनेकोले प्रवेश परीक्षामा समावेश गरिएको उनले सुनाइन् । आफ्ना बच्चाको पढाई राम्रो होस् भन्ने सबैको चाहना हुने भएकोले राम्रो सरकारी विद्यालय खोज्दै आएको उनको भनाई छ ।

विराटनगर १ की मीना दाहाल दिउँसो ३ बजेतिर पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलाई खोज्दै प्रधानाध्यापकको कार्यकक्षमा पसिन् । थुप्रै व्यक्तिहरूको भिडमा विद्यालयको बारेमा छलफल गर्दै गरेका प्रअको खोजीले के भएछ भनेर सोधीखोजी शुरू भयो । विद्यालयमा आफ्नो छोरो मिलन दाहाललाई प्रवेश परीक्षा दिनको लागि ल्याएकी मीनाले विद्यालयको हेडसर असल रहेको भन्दै हेर्न मात्र आएको बताइन् । ‘छोरोलाई परीक्षा दिनको लागि ल्याएको थिएँ’, उनले भनिन्, ‘आफूले पढाउने विद्यालयमा असाध्यै नाम सुनेकोले हेडसर चिन्नको लागि आएको हुँ ।’

त्यति भनेर उनी हेडसर अर्थात् प्रअ भट्टराईको कक्षबाट बाहिरिइन् । उनको छोरा विराटनगरमा नै रहेको एक निजी विद्यालयमा कक्षा ५ सम्म पढेपछि कक्षा ६ मा पोखरिया माध्यमिक विद्यालयमा भर्नाको लागि ल्याइएको हो । ‘बेस बनाउन पहिला निजी विद्यालयमा पढाएँ’, उनले भनिन्, ‘संस्कार सिकाउनको लागि भएपनि सामुदायिक विद्यालयमा नै पढाउनुपर्छ भन्ने ठानेर राम्रो विद्यालय भएको कारण यहाँ पढाउन ल्याएको हुँ ।’

यी प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्ता एक हजार ४ सय ७० जना अभिभावकका बालबालिका पोखरिया माध्यमिक विद्यालयमा शुक्रवार प्रवेश परीक्षा दिन आएका थिए ।

उनीहरूले आफ्ना छोराछोरीको भविष्य खोज्दै आएको बताए । पोखरिया माध्यमिक विद्यालयले बिहीबारसम्म विद्यार्थीको भर्नाको लागि आवेदन मागेको थियो । त्यही आवेदनका आधारमा विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या १ हजार ४ सय ७० पुगेको हो । कक्षा ६ देखि ९ सम्मको लागि ३६५ जनाको भर्ना खुलाइएकोमा यतिको सङ्ख्यामा विद्यार्थी आएको विद्यालयका प्रधानाध्यापक भट्टराईले जानकारी दिए ।

प्रधानाध्यापक भट्टराईका अनुसार, कक्षा ६ मा ६५ जनाको सिटमा २८४ जना, कक्षा ७ मा १०० जनाको लागि ५०१ जना, कक्षा ८ मा १०० जनाको लागि ३७८ जना र कक्षा ९ मा एक सय जना विद्यार्थीको भर्नाको लागि ३०७ जनाले फर्म भरेको छन् । आगामी वैशाख १९ गते कक्षा १ देखि ५ सम्मको प्रवेश परीक्षा लिने तयारी गरेको विद्यालयले जनाएको छ ।

त्यस्तै, कक्षा ९ को प्राविधिक धारमा पनि ४८ जनाको कोटामा ११७ जनाले फर्म भरेको विद्यालयले जनाएको छ । ‘हामीले विद्यालयको शिक्षामा सुधार गरेसँगै भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको छ’, प्रअ भट्टराईले भने, ‘नजिकैका विद्यार्थी आउँदा त सहजै हुन्थ्यो होला, सिराहा, सप्तरी, धनकुटा, झापा र सुनसरी हुँदै जनकपुरसम्मका विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा दिन आएका छन् ।’

नेपाली मिडियम हट्दै
पोखरिया माध्यमिक विद्यालयले २०७० सालदेखि अङ्ग्रेजी माध्यमाबाट पठनपाठन शुरू गरेको हो । शुरूको वर्षमा कक्षा ८ र ९ मा अङ्ग्रेजी माध्यमबाट पढाउन शुरू गर्दाको समयमा विद्यालयमा विद्यार्थीको सङ्ख्या पुगनपुग ३५० थिए । शुरूका वर्षमा अभिभावकले विश्वास नै नगरेको अवस्थामा शुरू भएको अङ्ग्रेजी माध्यमको पढाई प्रभावकारी हुने ठानेपछि विद्यालयले २०७१ सालमा कक्षा ६ र कक्षा १ बाट पनि अङ्ग्रेजी माध्यमबाट पढाई शुरू गरेको प्रअ भट्टराईले जानकारी दिए ।

यो बिचमा अहिलेसम्म विद्यालयले कक्षा नर्सरीदेखि १० सम्म नै अङ्ग्रेजी माध्यमाबाट पढाउँदै आएको छ । नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पढाएको विद्यालयले अबको २ वर्षपछि सबै अङ्ग्रेजी माध्यमबाट पढाउँदै छ । अहिले कक्षा ९ र १० मा नेपाली माध्यमका विद्यार्थीहरू पनि रहेको उनले जानकारी दिए । ‘अबको २ वर्षमा कक्ष ९ र १० का १५० जना विद्यार्थीले एसइई दिएपछि नेपाली र अङ्ग्रेजी माध्यम भन्ने रहँदैन, उनले भने, दुई वर्षपछि एकै खालको अङ्ग्रेजी माध्यममा मात्र पढाई हुने छ ।’ अबको दुई वर्षपछि सामाजिक र नेपाली विषय बाहेक पोखरिया माविबाट नेपाली भाषाका पढाई फेजआउट हुने अवस्थामा पुगेको छ ।

यो विद्यालयबाट यस वर्ष ४१३ जनाले एसइई परीक्षामा सहभागिता जनाएका छन् । विद्यार्थीको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । शैक्षिक सत्र २०७८ मा मात्र २ हजार ८ सय ३३ जना विद्यार्थीले अध्ययन गरेका थिए । ४१३ जना एसइई दिएर जाँदै गर्दा विद्यालयले ३६५ जनाको लागि भर्ना खोलेको हो । २०७० सालमा ३९ जनाको दरबन्दी रहेको विद्यालयमा शिक्षक कर्मचारी दरबन्दी उही छ तर अहिले विद्यालयको निजी स्रोतबाट ११० जना कर्मचारी विद्यालयमा कार्यरत छन् । यो वर्ष विद्यालयले नर्सरीमा ४० जना भर्ना गर्ने तयारी गरेको छ । केजीमा ४०, कक्षा १ मा ४०, कक्षा २ मा ३०, कक्षा ३ मा ३०, कक्षा ४ मा ३०, कक्षा ५ मा ३० जना आधारभूत तहमा भर्ना लिने विद्यालयको तयारी छ ।

विद्यार्थी सङ्ख्या
शैक्षिक सत्र २०७८ मा विद्यालयमा २ हजार ८ सय ३३ जना अध्ययनरत थिए । नर्सरीमा ३५, केजीमा ३६, कक्षा १ मा ३६, कक्षा २ मा ६३, कक्षा ३ मा ९६, कक्षा ४ मा ११५, कक्षा ५ मा १५४ जना थिए । कक्षा ६ मा १७२, कक्षा ७ मा २६७, कक्षा ८ मा ३७३, कक्षा ९ मा ४६५ र कक्षा १० मा ४१३ जना विद्यार्थी सहभागी थिए । त्यस्तै विद्यालयमा कक्षा ११ मा ३१० र कक्षा १२ मा २९९ विद्यार्थी अध्ययनरत थिए । विद्यार्थी सङ्ख्या धेरै भएपनि भौतिक पूर्वाधारमा देखिएको समस्याले विद्यालयलाई निक्कै समस्या भएको विद्यालयका प्रधानाध्यापक भट्टराई बताउँछन् । विराटनगर महानगरपालिकाको नमुना विद्यालय अभियान अन्तर्गत ५० लाख दिएकोमा भौतिक पूर्वाधारको सुधारमा खर्च भएको उनले सुनाए ।

अब के गर्ने ?
भौतिक पूर्वाधारको काममा विद्यालयले गति लिन सकेको छैन । महानगरपालिकाले सत्यनारायण मन्दिरको जग्गा १० कट्टा विद्यालयलाई दिने निर्णय गरेको थियो । त्यस जग्गामा संरचना निर्माणको लागि गुरुयोजना तयार भएर अघि बढेको भएपनि संरचना निर्माण गर्ने बेलामा मुद्दा परेपछि अहिले रोकिएको छ ।

नयाँ संरचना निर्माण गर्दा ती २८ वटा कक्षा कोठा प्रविधिमैत्री बनाउने योजनासहित शुरू भएको काम अहिले रोकिएको विद्यालयले जनाएको छ । ‘नमुना विद्यालय विकास अन्तर्गत यो वर्षको लागि भौतिक पूर्वाधारमा संघीय सरकारले ३ करोड उपलब्ध गराएको छ’, उनले भने, ‘दुईवटा भवन १४/१४ कोठाको बनाउने योजनाअनुसार काम शुरू भएपछि अहिले मुद्दा परेर रोकिएको छ ।’

अब भाडाको घर लिएर मन्टेश्वरीदेखि कक्षा ३ सम्म नयाँ प्रविधिबाट पठनपाठनकाे तयारी गरेको विद्यालयले जनाएको छ । बच्चा धान्न नसक्ने भएपछि अन्यत्र भाडाको घर लिएर सञ्चालनमा ल्याउनु पर्ने बाध्यता आएको प्रअ भट्टराईको भनाई छ । विद्यालयले प्रविधि मैत्री शिक्षामा जोड दिइने जनाएको छ । विद्यालयमा अहिले पनि ३६ वटा कोठामा प्रोजेक्टर मार्फत पढाई हुन्छ । ४ वटा कोठामा कक्षा २ सम्म स्मार्ट टिभीबाट पढाई हुन्छ । ईन्ट्याक्टिभ बोर्ड ५ वटा रहेकोले त्यसको पनि प्रयोग भएको प्रअ भट्टराई बताउँछन् । विद्यालयले ४१ जना शिक्षकलाई ल्यापटप दिएर प्रविधिमैत्री पठनपाठन शुरू गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *