अछामको ढकारीमा चिर्पट प्रहारबाट चार घाइते, दुई गम्भीर

अछाम । अछामको ढकारी गाउँपालिका वडा नम्बर १ मा गएराति एक समूहले सोही ठाउँका चारजनामाथि चिर्पट प्रहार गरी घाइते बनाएको छ।

गाउँको एक विवाहमा बुधबार राति साढे ११ बजेको समयमा तपेन्द्र बुढालगायतका ९-१० जनाको समूहले सोही ठाउँको चिउटे बस्ने एक महिलासहित चारजनामाथि चिर्पट प्रहार गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। चिर्पट प्रहारबाट चिउटेका ३९ वर्षीय मानबहादुर बुढा, २१ वर्षीय हिक्मत बुढा, ३० वर्षीया तुलसी बुढा र २१ वर्षीय खगेन्द्र बुढा घाइते भएको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रबिराज थपलियाले बताए।

डिएसपी थपलियाका अनुसार घाइतेमध्ये मानबहादुर र हिक्तमको अवस्था गम्भीर भएपछि रातारात जिल्ला अस्पताल अछाममा पुर्याइएको छ। हाल उनीहरू खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ। मानबहादुरको टाउको र ढाडमा चोट लागेको छ भने हिक्तमको टाउको र हातमा चोट लागेको छ। यस्तै, तुलसीको टाउकोमा र खगेन्द्रको हात र खुट्टामा सामान्य चोट लागेको छ।

सोही ठाउँको ढकारी प्रहरी चौकीबाट करिब तीन किलोमिटर टाढा रहेको घटनास्थलमा प्रहरी नायब निरीक्षक लालसिंह विष्टको कमाण्डमा पाँचजनाको प्रहरी टोली खटिएको थियो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा ९ जनालाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *