नक्कली डाक्टर बनेर ठगी गर्ने दुई भारतीय नागरिक मोरङबाट पक्राउ

काठमाडौँ । अवैधानिक रूपमा मोरङका दुई छुट्टाछुट्टै स्थानमा मेडिकल क्लिनिक सञ्चालन गर्दै आएका दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार सेवा प्रदान गर्नका लागि आवश्यक पर्ने इजाजत पत्रसमेत प्राप्त नगरेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। उनीहरूले मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं.-१ फिलिम हल लाइनस्थित श्री राम पाइल्स क्लिनिक र जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं.-३ स्थित गछिया चौकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका थिए।

दुवैले आफूलाई डाक्टर भनी चिनाई औषधी उपचार गरी ठगी गर्ने गरेको र साथै, बिरामीको स्वास्थ्यमा समेत नकारात्मक असर पर्नेगरी खेलबाड गरिरहेको भन्ने सूचनाको आधारमा हिजो मंगलबार वैशाख १२ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोलीले छानबिन गरेको हो। अनुमान प्रारम्भिक अनुसन्धानले देखाएको हुँदा उपचारमा प्रयोग गरिएका सामग्रीसहित मेडिकल काउन्सिलसँग आवश्यक समन्वयसमेत गरी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा श्री राम पाइल्स क्लिनिक सञ्चालन गर्दै आएका पश्चिम बंगाल भारतको दार्जिलिङस्थित पानसाली पञ्चायत निवासी २७ वर्षीय पर्सनजित बर्मन र कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका पश्चिम बंगाल भारतको दार्जिलिङकै देवीगञ्ज पञ्चायत निवासी २९ वर्षीय सनोड मण्डल रहेका छन्।

उनीहरू दुवैमाथि सम्मानित मोरङ जिल्ला अदालतबाट उपचारसम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *