पाँच जिल्लामा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौँ । आज मंगलबार पाँच जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा सातजनाको मृत्यु भएको छ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका – ५ सिन्धुली टोलस्थित सडकमा रोकी रहेको ना २ ख ८६२४ नम्बरको ट्रकमा लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जना पुरूषको मृत्यु भएको छ। दुर्घटनामा
गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। घटनापछि फरार रहेका ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका – ४ चारदोबाटो चोकमा बा ४ ख ८५८१ नम्बरको टिपर र बा प्र ०२- ०२३ प ७७६९ नम्बरको स्कुटर एक आपसमा ठोक्कर खाई गएराति दुर्घटना हुँदा स्कुटर चालक चाँगुनारायण नगरपालिका – ३ झौखेल ठकुरी गाउँ बस्ने काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका – ६ घर भएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अर्घाखाँची, सन्धिखर्क नगरपालिका- ८ छेँडास्थित सडकमा लु ११ प ८६३९ नम्बरको मोटरसाइकल सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका- २ भद्रिखोला बस्ने ६९ वर्षीय बलराम पौडेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिका- २ स्थित सडकमा ना।५ ख १८०८ नम्बरको बसले किच्दा सोही ठाउँ बस्ने महेश कपाडीको छोरा ६ वर्षीय अमृत कपाडीको सोमबार दिउँसो घट्नास्थलमै मृत्यु भएको छ। बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोही विषयलाई लिएर स्थानीय बासिन्दाले बसमा आगो लगाउँदा बस पूर्णरूपमा क्षति भएको छ।

सर्लाही, बसवरिया गाउँपालिका- ४ गोनर्वा स्थित सडकमा बिआर ४३ ए१५४६ नम्बरको डिजे रथको ठक्करबाट सोही ठाउँस्थित मामा घर बस्ने गोडैता नगरपालिका- ११ सिसौटिया घर भएकी प्रेमलाल पंडितकी छोरी ७ वर्षीया लक्ष्मीनिया पंडितको सोमबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि स्थानिय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। हाल फरार रथ चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीको थप अनुसन्धान जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *