कृषि उत्पादकत्व विस्तार गर्ने उद्योगलाई सरकारले सहयोग गर्ने मन्त्री भुसालको आश्वासन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उत्पादनमूलक कार्यमा युवाहरूको सक्रिय सहभागीता हुनुपर्ने बताएकी छन्।

नेपाल युवा उद्यमी मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री भुसालले नयाँ पुस्तालाई उत्पादनसँग जोड्नका लागि युवा उद्यमीको संस्था ७५३ वटै स्थानीय तहमा विस्तार गर्नुपर्ने मत व्यक्त गरेकी हुन्। उनले आयात निरुत्साहित र निर्यात प्रवर्द्धन गर्न उत्पादन विस्तार गर्नुपर्ने र त्यसका लागि देशभरका युवा उत्पादनमा संलग्न हुनुपर्ने बताइन्।

मन्त्री भुसालले कृषि उत्पादनमा युवा पुस्ता आकर्षित हुँदा नै देश समृद्धिको बाटोमा अगाडि बढ्न सक्ने उल्लेख गर्दै युवा पुस्तालाई सङ्गठित गरी उद्यममा प्रेरित गर्नुपर्ने बताइन्। कृषिप्रधान देश भइकन पनि बर्सेनि रु. तीन खर्ब बराबरको कृषिजन्य सामग्री आयात गर्न बाध्य हुनुपर्दाको स्थितिमा कृषि उत्पादन तथा उत्पादकत्व विस्तार गर्ने उद्योगलाई सरकारले सहयोग गर्नेसमेत मन्त्री भुसालले प्रतिबद्धता व्यक्त गरेकी छन्।

कार्यक्रम आयोजक नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष उदीप श्रेष्ठले युवालाई उद्यमशीलतामा जोड्नका लागि आफूहरू लागिपरेको उल्लेख गर्दै आगामी दिनमा देशभरका युवालाई सङ्गठित गरी उद्यममा लाग्न प्रेरित गर्ने बताएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *