‘‘केजिएफ २’ मा जे खड्कियो त्यसका लागि मर्न पनि तयार छु’

‘केजिएफ २’ कै कुरा गर्नु त जरुरी होइन। किनभने, दुनियाँले हेरिसकेको छ। हेर्न बाँकी हुने पनि क्वालिटी हलप्रिन्ट या त ओटीटी एक्सेस पर्खिरहेका छन्। तर, ‘केजिएफ २’ हेरेर मलाई कस्तो लाग्यो, यो पक्कै दुनियाँलाई थाहा नभएको कुरो हो। भलै दुनियाँलाई थाहा पाउन इच्छा पनि नहोस् र पनि मेरो थाहा दिने इच्छाको अटेर, मलाई लाग्छ यो कबुल हुन जरुरी छ। 

अल्लि अस्तितिर नेपाली फिल्म ‘चिसो एस्ट्रे’माथि केही नारीवादी लेखकहरूले गुनासो राखे। उनीहरूलाई ‘चिसो एस्ट्रे’की महिला पात्र ‘शालिनता’ शक्तिशाली नभएको महसुस भयो। र थप उनीहरूको गुनासो थियो कि फिल्ममा पुरुष पात्रको दाँजोमा महिला पात्रहरू कम सङ्ख्यामा राखियो। गुनासो राख्न पाइँदैन त म भन्दिनँ किनभने म पनि यो लेखमार्फत् गुनासो नै राख्नेवाला छु। 

मैले ‘केजिएफ २’ र ‘चिसो एस्ट्रे’लाई दाँजोमा लिन खोजेको पनि होइन। तर, ‘केजिएफ २’ हेरिरहँदा मेरो मनमा केही गुनासाहरू उठे जसलाई मलाई लागेको थियो पक्कै ‘शालिनता’को पात्रत्वले समेत बिझेका ती नारीवादी लेखकले पक्कै उठाउनेछन्। खैर, यो आफ्नै अपेक्षा पूर्तिका लागि मैले आफू स्वयं लाग्नुपर्ने बुझेँ। फिल्म हेरुञ्जेल पनि मलाई त्यही एउटा कुरा खड्किरह्यो। मलाई लाग्यो, जे मलाई खड्कियो त्यो अरूलाई पनि खड्किन जरुरी छ।

-खडकिएको के हो त?
-आत्मसम्मान!

जरुरी छैन कि फिल्ममा एउटालाई शक्तिशाली देखाउन अन्यलाई कमजोर देखाउनै पर्छ। त्यसो त धेरै पात्रलाई फिल्ममा शक्तिशाली नै देखाउन खोजिएको छ। नत्र प्रमुख पात्रमा ओखाईपोखाई भरिराखिएको शक्तिको के औचित्य? खैर, त्यता नजाऊँ।

केजिएफको पहिलो च्याप्टर हेरिसकेपछि एउटा व्यग्र हुटहुटीलाई हृदयमा दीर्घ बास दिनु परेको कुरा साँचो हो। कहिले आउला ‘केजिएफ २’ र हुटहुटीलाई बिदाइ गर्न पाउँला!

एउटी आमा, जो स्वभावैले विद्रोही छे उसलाई प्रमुख पात्र ‘रक्की’ले कदमकदममा पुजेको छ। ‘विद्रोही आमा’ फिल्मकी एउटी आदर्श पात्र हो जोबिना फिल्म केही पनि होइन। तर, आश्चर्यको कुरा त यो छ त्यस्ती विद्रोही आमा अघिल्लो पुस्तामै जन्माइसकेको केजिएफले दोस्रो पुस्तामा किन एउटी नारीलाई त्यति कमजोर जन्मायो! फिल्मको सुरुवाततिरै ‘रक्की’ शानसँग प्रवेश गर्छ र अपहरण गरेर ‘रीना’लाई आफूसँग लैजान्छ। र यहीँनेर मलाई त्यो आत्मसम्मान खड्किन्छ जब एउटी आत्मनिर्भर विद्रोही आमाबाट शिक्षित, प्रेरित ‘रक्की’ले ‘रीना’लाई सबैका सामू राखेर फगत ‘मनोरञ्जन’को संज्ञा दिन्छ। अनि जब रीना, मृत्युको भयले? या फेरि आकर्षण वा प्रेमले नै? जेले होस् ती यावत तत्वको वशमा परी आफूलाई मनोरञ्जनभन्दा माथि नसम्झिने रक्कीसमक्ष आफूलाई सुम्पिदिन्छे।

खै त रीनाको आत्मसम्मान? फिल्मभरि मलाई खड्किएको तत्व यही नै हो। एउटा पुरुष जो आफ्नी आमालाई पूजा गर्छ, श्रद्धा गर्छ तर अर्की एउटी नारीलाई ऊ बस् मनोरञ्जनको साधन सम्झिन्छ? मलाई लागिरह्यो यो झुट हो, बस् एउटा ख्यालठट्टा! मलाई त अपेक्षा थियो कि रीना आफ्नो आत्मसम्मानका लागि लड्नेछे। तर, ऊ त कति चाँडै ‘आफूलाई केवल वस्तु सम्झिने रक्की’का लागि प्रेमले समर्पित भइदिन्छे। प्रेम शायद वेग्लै कुरा हो। टाढै रहेर पनि गर्न सकिने। खैर, म सम्मान र आत्मसम्मानको कुरा गर्दैछु। के रक्कीलाई ऊ आफ्नो आत्मसम्मानभन्दा माथि राखेर सम्मान गर्न थाली? हो, थाली। तर, किन? कोही मान्छे अरूसँग कस्तो व्यवहार गर्छ भन्ने कुराले कसरी मेरा लागि सम्माननीय वा मानहीन तय हुनसक्छ? म कसैलाई सम्मान गर्छु वा गर्दिनँ त्यसको निर्धारण उसले मसँग कस्तो व्यवहार गर्छ भन्ने कुराले गर्छ। खैर, दुःख लाग्छ जब रीना अरूसँग रक्की कसरी पेस आएको छ त्यसको गाथा सुनेरै आफ्नो गुमेको आत्मसम्मानलाई सधैँका लागि बिर्सिदिन्छे।

यसरी मेरो पहिलो अपेक्षा रीनाको अन्धो प्रेमले तुहादियो। दोस्रो अपेक्षा मलाई यो थियो कि सही मौकामा रक्की आफैले त्यसको भरपाई गर्नेछ। तर अँह, पटकपटक त्यो मौका आउनुका बाबजुद रक्कीलाई आफ्नो गल्तीको किञ्चितै महसुस भएन। रीनालाई तमाम मानिसहरूकाबीच केवल आफ्नो मनोरञ्जनको वस्तु घोषित गरी बल र पैसाको आडमा अपहरण गर्नुप्रति रक्कीलाई अन्तिमसम्म पनि कुनै पश्चाताप भएको देखिएन। रक्कीलाई यो हदसम्म अमानवीय देखिरहँदा उसले आफ्नी आमाप्रति देखाएको आदर्श प्रेम र श्रद्धा पनि केवल सतही त होइन भन्ने कटु प्रश्नले मनभित्र बेलाबेला चिहाइरह्यो, चिमोटिरह्यो। बस् फिल्मलाई अघि बढाउनकै लागि मात्र आमाप्रतिको त्यो सम्मान देखाइएको त होइन? फिल्मले कतै ‘आमा’ पात्रलाई प्रयोग गर्नु एउटा सेन्टिमेन्टल व्यापारिक रणनीति मात्रै त होइन? यो पूर्ण सत्य नभए पनि आंशिक सत्य हुनसक्छ। खैर…

मेरो विचारमा एउटा मानिसका रूपमा रक्की जति हो, रीना पनि त्यति नै हो। तर, यहाँ त एउटी नारी एउटा पुरुषका लागि जति ढोगनीय हो, त्यस्तै अर्की नारी उही पुरुषका लागि त्यति नै भोगनीय देखाइएको छ। कस्तो मानसिकताको उपज हो यो? के यो सोच्नुपर्ने विषय होइन? महिला प्रधानमन्त्री भएको मुलुकको कल्पना गर्नु र त्यही मुलुकभित्र यो विभेद देखाइनु, त्यो पनि फिल्मको प्रमुख पात्रबाट, यो कटु भइकन पनि हास्यास्पद र सँगसँगै लज्जास्पद कुरा हो। 

अँ, यहीँनेर अर्को एउटा कुरा पनि जोडिहालौँ। आफ्नो कुरा नसुनेको आवेशमा ‘प्रधानमन्त्री रमिका शेन’ लाई ‘राघवन’ चर्को आवाजमा नाम काढेर बोलाउँछ। आफ्नो नाम काढेरै बोलाएपछि प्रधानमन्त्री रमिका शेनको ध्यानाकर्षण हुन्छ तर, जसै आफ्नो भन्नुपर्ने कुरा सकिन्छ राघवन रमिकालाई पुनः ‘म्याम’ भनेर सम्मान दिन्छ। यसरी ऊ एक प्रधानमन्त्रीलाई नाम काढेर गरेको अपमानको भरपाई गर्छ। त के, सम्मान पाउन महिलाले प्रधानमन्त्री नै हुनुपर्ने हो? मानिस मात्रै हुनुले पनि एकअर्काप्रति सम्मान लिन र दिन त जान्नुपर्ने हो, होइन र? राघवनले रमिकालाई वापस गरेको त केवल एउटा पदीय सम्मान हो। तर, रक्कीले त रिनाको नैसर्गिक आत्मसम्मानमाथि नै आक्रमण गरेको छ जसको भरपाई त के लेखाजोखा मात्र पनि फिल्मले कतै राखेको देखिएन। 

ताज्जुब त यो लाग्छ, अधिराले हानेको गोली लागेर जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेको रक्कीलाई मरिसकेकी आमाको स्नेही स्पर्शले, ममताले पुनः प्राण दिलाएको छ। र यहाँनेर आमाको ठाउँमा बिम्बात्मक रूपमा रिनालाई नै देखाइएको छ। जब एउटी प्रियतमाबाट आफ्नी आमाको जस्तै ममता र स्नेह एउटा पुरुषले अपेक्षा गर्छ भने उसैलाई आफ्नी आमालाई जस्तै सम्मान दिन भने ऊ किन सक्दैन? वा फेरि चाहँदै चाहँदैन? ठिक छ, सम्मान दिएन। तर, नैसर्गिक आत्मसम्मान खोस्ने धृष्टता त नगरोस्! भलै, आर्थिक रूपमा ‘बाहुबली’को लाइफटाइम रेकर्ड तोडेर ‘केजिएफ २’ अघि बढेको छ तर, ‘शिवगामी’, ‘देवसेना’ जस्ता शक्तिशाली महिला पात्रको जन्म गराएको बाहुबलीको स्तरमा नैतिक दृष्टिकोणले ‘केजिएफ २’ आसपास पनि पुग्न सकेको छैन।

एउटी नारी भएकोले मात्र होइन, एक मानिस हुनु नै मलाई लाग्छ हरकोहीसँग आत्सम्मानका साथ बाँच्न पाउने नैसर्गिक हक छ। र ‘केजिएफ २’ मा मलाई खड्किएको एउटा तत्व त्यही ‘आत्मसम्मान’ हो जसका लागि रिनाको ठाउँमा आफूलाई राखेर हेर्दा म बरू मर्न तयार छु तर गुमाउन होइन।

मेरो हृदयले गरेको यो अटेर इच्छा जो कोहीलाई कबुल नहुनसक्छ। खैर, म अस्तित्वमा हुनु नै यसका लागि काफी छ कि म आत्मसम्मानसाथ बाँचू र मरूँ आत्मसम्मानसाथ!

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *