स्थानीय निर्वाचन २०७९

‘विकट भूगाेल’का कारण निर्वाचन चुनाैतीपूर्ण !

‘समस्याबारे केन्द्रीय निर्वाचन आयोग सुन्न तयार छ’

काठमाडौँ । खोटाङको बराहपोखरी गाउँपालिका क्षेत्र भौगोलिक रूपले सम्भवतः जिल्लाकै विकट पालिका हो । खोटाङको १० वटा स्थानीय तहमध्ये बराहपोखरीमा अन्य पालिकामा भन्दा बढी भौगोलिक समस्या छ ।

त्यहाँ पनि अन्य ठाउँमा जस्तै आउँदो वैशाख ३० गते स्थानीय तहको दोस्रो निर्वाचन हुँदैछ । जहाँ, निर्वाचन अधिकृत भएर पुगेकी छन् नेपाल सरकारका उपसचिव कोपिला राई । मुख्यमन्त्री तथा मन्त्रिपपिरषद्को कार्यालय, प्रदेश नं. १ मा कार्यरत कोपिला यसअघि जिल्ला निर्वाचन कार्यालय, खोटाङ जिल्लाकै जिल्ला निर्वाचन अधिकारीको भूमिकामा थिइन् ।

केही दिनपहिले बराहपोखरी निर्वाचन अधिकृतको रूपमा पुगेकी कोपिलालाई निर्वाचन सम्पन्न गराउन गाह्रो पर्ने हो कि भन्ने डर लाग्न थालेको छ । विकट भूगाेलकै कारण कतिपय निर्वाचनसँग जोडिएका कामहरू गर्न गाह्रो भएको कोपिला सुनाउँछिन् । ‘यहाँ फोनसमेत राम्रो चल्दैन,’ उनले सुनाइन्, ‘निर्वाचन कार्यालय स्थापना गरेर काम थालेका छौँ । तर, विकट भूगाेलकै कारण कतिपय कामहरू गर्न समस्या देखिएकाे छ ।’

फोनसमेत राम्रो नचल्दा थप समस्या खड्किएकाे काेपिला सुनाउँछिन् । समस्याबारे बताउन मकालुखबरले गरेको आग्रहमा उनले भनिन्, ‘सञ्चारमै समस्या भएपछि कामहरू गर्न गाह्रो हुने रहेछ । यहाँ फोन नै पनि राम्रो चल्दैन । झनै नेट त चल्दैन । यसले निर्वाचनका सबै कामलाई प्रभावित पो पार्ने हो कि भनेर डर लाग्न थालेको छ ।’ तर, त्यसको बाबजुद पनि आफूहरूले काम गरिरहेको उनले सुनाइन् । ‘फेरि निर्वाचन त गराउनु नै छ,’ उनले भनिन्, ‘यसमा कसरी प्रभावकारी काम गर्न सकिन्छ, कसरी निर्वाचन सम्पन्न गराउन सकिन्छ भनेर सल्लाह गर्दैछौँ ।’

त्यसो त बराहपोखरी जिल्ला सदरमुकाम दिक्तेलबाट लामो दूरीमा अवस्थित छ । यसकारण थप समस्या भएको अधिकृत कोपिलाले बताइन् । तर, प्रभावकारी काम कसरी गर्न सकिन्छ भनेर आफूले एउटा सर्वदलीय बैठकसमेत राखिसकेको उनले सुनाइन् । त्यसमा राजनीतिक दलका नेताहरूसँगै सरोकारवालाहरूले आफूहरू निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध गरेको बताएका थिए । ‘सर्वदलीय बैठक राखिसकेकाे छु,’ उनले भनिन्, ‘सबै दलबाट निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्दै स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्ध जाहेर भएकाे छ ।’

000

कोपिला जिल्लाकै इतिहासमा पहिलो महिला निर्वाचन अधिकृत हुन्, जसले स्थानीय निर्वाचन सम्पन्न गराउँदै छिन् । यस्तोमा स्थानीय तथा मतदाताहरू खुसी भएका छन् ।

स्थानीयहरूले महिला अधिकृत पाउँदा खुसी व्यक्त गरेका छन् । साथै उनीहरूले आफूहरूले पनि सभ्य रूपले निर्वाचन सम्पन्न गराउन सहयोग गर्नेप्रतिबद्धता जनाएका छन् ।

‘समस्याबारे केन्द्रीय निर्वाचन आयोग सुन्न तयार छ’

बराहपोखरीको जस्तो समस्या अन्य जिल्लाका निर्वाचन स्थलहरूमा पनि भएको केन्द्रीय निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । तर, त्यसका बाबजुद पनि काम गर्नुको विकल्प नरहेको उनको भनाइ छ । ‘यस्ता समस्याहरू देखिएका छन् अन्य जिल्लामा पनि,’ प्रवक्ता पौडेलले मकालुखबरसँग भने, ‘यसको ट्याकल गर्दै फेरि पनि काम त गर्नैपर्‍याे ।’

बराहपोखरी आफैँ पनि पुगेको र भौगोलिक विकट रहेको स्वीकार्दै उनल थपे, ‘यी समयाहरूबारेको उहाँहरू (निर्वाचन अधिकृतहरू) को रिपोर्टिङ्ग केन्द्रले सुनिरहेकै छ । त्यसमा गर्न सकिने छ भने गरि पनि रहेको छ । अब सकिँदैन भने त के गर्न सकियो र ? उहाँहरू आफैँले त्यहाँको अन्य विकास साझेदार तथा राजनीतिक दलहरूको सहयोग लिएर काम गर्न सक्नुहुन्छ ।’

तर, केन्द्रीय निर्वाचन आयोग गुनासो र समस्याबारे सुन्न भने तयार रहेको प्रवक्ता पौडेलले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *