‘निर्वाचन आचरसंहिता कार्यान्वयनमा पत्रकारले सकारात्मक भूमिका खेल्ने’

काठमाडौँ । स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन र निर्वाचनलाई निस्पक्ष रूपमा सम्पन्न गर्न सम्बन्धित सबैले आ–आफनो तर्फबाट सकारात्मक भूमिका खेल्न प्रतिबद्धता जनाएका छन्।

स्थानीय तहको निर्वाचनमा आचारसंहिता कार्यान्वयन गर्ने बारेमा संवाद समूह मोरङको आयोजनामा मुख्य निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसहित पत्रकारहरूसँग विराटनगरमा भएको संवादको क्रममा निर्वाचनलाई सफल बनाउन सबैले सकारात्मक भूमिका खेल्ने बताएका हुन्। सो अन्तर्क्रिया कार्यक्रममा उपस्थित पत्रकारहरूले आफूहरूले आफ्नो तर्फबाट सकारात्मक र निस्पक्ष भूमिका खेल्ने र निर्वाचन निकाय र सुरक्षा निकाय लगायतले समेत पत्रकारलाई सहयोग गर्नुपर्ने बताएका हुन्।

नेपाल पत्रकार महासंघले केन्द्रको सर्कुलरअनुसार गर्ने र पत्रकारले पत्रकार आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ। नेपाल पत्रकार महासंघ, प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले मौन अवधि, आचारसंहिता र मतदाता शिक्षामा मिडियाले सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाए। सुरक्षा निकायले आइपर्नसक्ने सुरक्षाको चुनौतीलाई मध्यनजर गर्दै भयरहित वातावरण निर्वाचन सम्पन्न गर्ने र गराउने तथा आचारसंहिता कार्यान्वयन गराउन मिडियाले सहयोग गर्ने र दलहरूलाई जवाफदेही बनाउने संवादले निष्कर्ष निकालेको छ।

मतदान र मतगणना स्थलमा पत्रकारलाई प्रवेश दिने बारेमा महासंघ, मुख्यनिर्वाचन अधिकृत र सुरक्षा निकाय बसेर टुंगो लगाउने साझा सहमति बनेको छ। मोरङ जिल्लाका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जनशक्ति थोरै भएको कारण काम गराउन असजिलो अवस्था रहेको सुनाए। उनले भने, ‘२२ दिन भित्र चुनावको कार्यक्रम गर्नुपर्ने अवस्था रहेको छ। अहिलेको अवस्थामा रातदिन परिचालन भएर निर्वाचन गराउनुछ।’  साथै, उनले मिडियालाई सहज सूचना प्रवाहका लागि दुईजना अधिकृत कर्मचारीको व्यवस्था गरिने वचन समेत दिएका छन्।

त्यस्तै, प्रदेश १ का निर्वाचन कार्यालय प्रमुख लेवन कश्यप अधिकारीले निर्वाचनको आचारसंहिता कार्यान्वयन गराउनका लागि दलहरूसँग छलफल गरिएको बताए। सबैको साथ र सहयोगबिना निर्वाचन आचारसंहिता कार्यान्वयन हुन नसक्ने अवस्था रहेकोले त्यसका लागि मिडियाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। निर्वाचनमा मोरङ जिल्लामा ४ हजार १ सय कर्मचारी परिचालन हुने र यतिबेला सोका लागि व्यवस्थापकीय कामहरू भइरहेको उनले जानकारी दिए।

साथै, मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललले पनि चुनावलक्षित जिल्ला सुरक्षा योजना तयार भएको जानकारी दिएका छन्। ‘तीन सय मतदान स्थललाई विभिन्न स्तरमा वर्गाीकरण गरेका छौँ’, उनले भने, ‘संयुक्त अनुगमन गरेको अवस्था छ, विगतदेखि नै निर्धारण भएका स्थलहरूको केही संवेदनशील अवस्था छ।’ जनशक्ति व्यवस्थापनको काम प्रमुख जिल्ला अधिकारीमार्फत् हुने भएकोले सो काम मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई बुझाउने काम भइसकेको प्रजिअ दाहालले बताए।

उनले भने, ‘निर्वाचन लक्षित सुरक्षाको लागि सशस्त्र प्रहरी जिल्लामा नै पुग्ने, नेपाल प्रहरीको संख्या जिल्लाबाट नपुग्ने अबस्था रहेकोले प्रदेशबाट ल्याउने व्यवस्था गरिएको छ। आधाघण्टामा नेपाली सेना पुग्ने गरी व्यवस्था गरिएको छ।’ मोरङ जिल्लाका प्रहरी प्रमुख उपरीक्षक शान्तिराज कोइरालाले चुनाव बहिस्कार गर्ने केही समूह, विस्फोटमा संलग्न रहेका समूहबाहेक अन्य सुरक्षा चुनौती नरहेको बताएका छन्। निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन प्रहरी मात्रले सम्भव नहुने भन्दै सबैको साथ र सहयोग भएमा आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गर्न सकिने उनको विश्वास छ।

मनोनयन दर्ताको दिन, मतदान र मतगणनाको बेलामा पत्रकारलाई सूचनामा सहज पुहँच पुग्नेगरी सहजीकरण गरिदिनु पर्ने पत्रकारको भनाइ थियो। महासंघ प्रदेश अध्यक्ष घिमिरेले मनोनयन पत्र दर्ता हुने दिन र मत गणनाको बेलामा मिडियालाई दिने सूचनामा सहज पहुँच हुनुपर्ने बताए। पत्रकार महासंघ मोरङका अध्यक्ष संजिव खनालले अनुभवी पत्रकाहरूबाट आचारसंहिता उल्लंघन नहुने तर, भर्खर मिडियामा प्रवेश गरेकाहरूबाट भने त्यो खतरा रहिरहने बताएका छन्। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत् तत्काल दिइहाल्नु पर्ने सूचना इमेलबाट पठाउने व्यवस्था मिलाउन निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयलाई आग्रह गरे।

पत्रकार संगठन नेपाल प्रेस युनियन, मोरङका कार्यवाहक अध्यक्ष कौशल निरौलाले निर्वाचनस्थलभित्र प्रवेश गर्ने कुरामा निर्वाचन अधिकृतको कार्यालयले स्पष्ट खाका बनाएर जाने व्यवस्था मिलाउनुपर्ने बताएका छन्। दलनिकट पत्रकारको संस्थाको हिसाबमा दलको पक्षपोषण गरिएपनि व्यवसायिक पत्रकारिताको धर्म र मर्ममा आँच आउन नदिने गरी आफ्नो संगठनले काम गर्ने निरौलाको भनाइ छ।

त्यस्तै, प्रेस चौतारी नेपालका मोरङ अध्यक्ष सुदिप कोइरालाले पार्टीको आस्था राख्ने संस्थाले दल भन्दा बाहिर जान नसक्ने भएपनि चुनाव आचारसंहिता कार्यान्वयन र भयरहित निर्वाचन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्यले आचरसंहिता उल्लंघन गरेका व्यक्तिको पहिचान गर्ने काममा मिडियाले सहयोग गर्नेमा जोड दिए। समाजवादी प्रेस संगठनका अध्यक्ष ध्रुव भट्टराईले पत्रकार आफै सचेत भएर रिपोर्ट गर्नुपर्ने बताएका छन्। कोही पत्रकार महासंघमा रहँदारहँदै उम्मेदवार हुने अवस्थामा निर्वाचनमा जाने हुँदा राजीनामा दिने विषयलाई कार्यान्वयनमा लग्न उनको सुझाव छ।

टेलिभिजन पत्रकर समूहका अध्यक्ष मोहन मानन्धरले पत्रकार महासघको सदस्य पार्टीको जिल्ला कमिटी सदस्य रहेको अवस्थामा महासंघबाट राजीनामा दिएर उम्मेदवार हुने कुरामा आशंका व्यक्त गरेका छन्। ‘मुख्यमन्त्रीको कानुन विज्ञको रूपमा रहेका व्यक्ति नै चुनाव प्रचारमा हिँडेको देखिएको छ’, उनले भने, ‘अहिले आचारसंहिता कार्यान्वयन गर्ने निकाय नै अन्यौलमा परेको देखिन्छ।’

कार्यक्रममा सहभागी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिना, पत्रकारहरू हरि अधिकारी, चीना थापा, तारा आचार्य, उत्तम पोखरेल लगायतले पनि पत्रकारिता आचारसंहिता र निर्वाचन आचारसंहिता कार्यान्वयन नगर्ने हो भने पत्रकार स्वयं नै असुरक्षित हुने मत राखेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *