कार्टुनिष्टको ‘निसाना’मा भ्रष्टाचार प्रवृत्ति

काठमाडाैँ । ‘मेरो सम्पत्ति जम्माजम्मी ५–१० किलो सुन, ८–१० रोपनीमा घर, बैंकमा ५०–६० करोड… हुनेवाला छ ।’ मन्त्रीको सम्पत्ति सार्वजनिकीकरण समारोहमा एक मन्त्रीले सम्पत्ति विवरण सुनाउँदै भने ।

एउटा कार्टुनभित्रको दृश्यचित्रले औँल्याएको काल्पनिक मन्त्रीको काल्पनिक भाषण साँच्चै वास्तविकताको नजिक देखिन्छ । उक्त दृश्यलाई कार्टुनिष्ट राजेश केसीले उतारेका हुन् । उहाँका ती चित्रले हजार शब्दले बोल्न नसकेको कुरा स्पष्ट पारेका छन् । कार्टुन सरकारका मन्त्रीहरूको व्यवहारबारे दर्शक पाठकको मन उद्धेलित गराउँछ खालको छ ।

अर्का चर्चित कार्टुनिष्ट वात्सायानले पनि भ्रष्टाचारप्रति दरिलो झापड हान्ने गरी कार्टुन बनाएका छन् । समसामयिक विकृति विसङ्गतिलाई जीवन्त बनाउने उनले यसपटक दुई महिलाको संवादलाई जोडेर भ्रष्टाचार विरुद्धको अभियानमा कार्टुनमार्फत ऐक्यबद्धता जनाएका छन् ।

आकर्षक महल देखेर एक महिलाले सोध्छिन्, “कसरी जोड्नुभयो यति धेरै सम्पत्ति ।” श्रीमान्ले अफिसाँ जनताको सेवा गरेर उपहार पाएको !”, अर्की महिलाबाट सहज जवाफ आउँछ । छोटो संवाद छ तर यसले समाजलाई ठूलो सन्देश प्रवाह गर्न सफल भएको छ ।

यी दुई कार्टुन समाजका विकृतिको प्रतिबिम्बका हुन् । केही कर्मचारीले र मन्त्रीले छोटो समयमा अस्वाभाविक सम्पत्ति जोडेको भनेर बेलाबेलामा समाचारहरू सार्वजनिक हुने गरेका पाइन्छ ।

बिना स्रोत र बिना श्रम रातारात धनी बन्ने प्रवृत्तिविरुद्धको तीखो प्रहार वात्सायान र राजेश केसीका कार्टुनले मात्रै गरेको छैनन् । आजदेखि काठमाडौँको नेपाल कला परिषद्मा प्रदर्शन गरिएका अन्य ४८ कार्टुन पनि भ्रष्टाचार, विकृति, विसङ्गतिविरुद्ध उभिएका देखिए ।

कलाकारले भ्रष्टाचार विरुद्धको अभियानस्वरुप ‘निसाना’ शीर्षकमा सुरु गरेको कार्टुन प्रदर्शनीमा कार्टुनिष्ट विश्व थापाले खुलमखुला घूस मागेको सन्दर्भदेखि वासु क्षितिजले अनुदानको रकम कसरी दुरुपयोग भइरहेको र कुर्सीको लडाइँलाई कस्तो छ भन्ने कुरा कार्टुनमार्फत छर्लङ्ग पारेका छन् ।

कार्टुनिष्ट सुदर्शन सिग्देलले विद्यालय खाजा कार्यक्रमलाई प्रहार गर्दै कार्टुन बनाएका छन् । विद्यार्थीका लागि आएको विद्यालय खाजा कार्यक्रमले विद्यार्थी दुब्लाइरहेको तर अन्य व्यक्तिहरू मोटाइरहेको उहाँको चित्र यथार्थ चित्रण गर्न सफल देखियो । सिग्देल भन्छन्, “खाजा कार्यक्रममा जे भइरहेको छ, त्यही दृश्य उतार्ने प्रयास गरेको छु ।”

अर्का कार्टुनिष्ट देवेन्द्र थुम्केली एकजना विद्यार्थीलाई बिम्ब बनाएर विद्यार्थीमाथि थोपरिएको भारलाई चित्रण गर्न सफल भएका छन् । ट्युशन फी, अतिरिक्त फी, विलम्ब फी, मासिक र परीक्षा फी तिर्दा तिर्दा विद्यार्थी आजित भएको कुरा उनले देखाउनुभएको छ । जबकि शिक्षा र स्वास्थ्य राज्यको दायित्वभित्र पर्ने कुरा हो तर यहाँ विद्यार्थीमाथि कसरी आर्थिक प्रहार छ भन्ने कुरा उक्त कार्टुनले स्पष्ट पार्छ ।

प्रदर्शनीमा कलाकारले कार्टुनमार्फत राजनीतिक दल, सरकारी गतिविधि, न्यायालय, विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा भएका विकृतिलाई कार्टुनमार्पmत पर्दाफास गर्ने प्रयास गरेका छन् ।

“हरेक कार्टुन लिड स्टोरी हो, कार्टुनले दिने सन्देश अझै तीखो हुनु जरुरी छ”, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँले भन्छन्, “सांसद, जनप्रतिनिधिका निकायका कार्टुन बनाउनुपर्ने अवस्था किन आइरहेको छ, हेर्नु जरुरी छ ।”

विकृति–विसङ्गतिविरुद्ध रङ, रेखा र शब्दमार्फत उनीहरूले भ्रष्टाचारविरुद्ध लाग्न समुदायलाई नै आह्वान गरेका छन् । चित्रकार देवेन्द्र थुम्केली कार्टुनिष्ट जहिले पनि प्रतिपक्ष हुने र विकृति र विसङ्गति उत्खनन गर्नु उनीहरूको दायित्व भएकाले एउटा प्रयास गरिएको बताउँछन् ।

कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिज भन्छन्, “पत्रिकाको पानामा कार्टुन बनाइरहेका छौँ, तर विकृति विसङ्गतिको नेटवर्क यति ठूलो भइसकेको छ कि पत्रिकाका पन्नामा राखेर मात्रै सम्भव भएन, त्यसैले सातै प्रदेशमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरेर सचेतना फैलाउन पहिलो अभियान थालेका हौँ ।” उनले हेरेर मात्रै सीमित नगरी सामाजिक सञ्जालमार्फत पनि कार्टुनहरू सार्वजनिक गर्न अनुरोध गरेका छन् ।

पत्रकार महासङ्घका अर्का पूर्वअध्यक्ष विष्णु निष्ठुरी प्रणाली धेरै बदलिए पनि पद्धति बदल्न सकिएन भन्ने उदाहरण कार्टुनले देखाएको बताए । उनले राज्यको प्रणाली कमजोर भयो भने नागरिकको अवस्था झन् कमजोर हुने उल्लेख गर्दै नागरिकलाई जागरुक बनाउनका लागि बलियो सन्देश कार्टुनले बोकेको छ भन्छन् । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल कार्टुन भ्रष्टाचारविरुद्ध सशक्त रहेको र खबरदारी आवश्यक भएको औँल्याउँछन् ।

कार्टुन प्रदर्शनीका सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् । उनले भने, “कार्टुन भनेको कलम होइन मुटुले बनाउने कुरा हो, जसमा साँच्चैको समाजको चित्रण सिर्जनामा हुन्छ”, सापकोटाले भने, “अभियानमा समर्थन जनाउँदै ऐक्यबद्धता प्रकट गर्दछु ।”

याे पनिः भ्रष्टाचारविरुद्धकाे कार्टुन प्रदर्शनी ‘निसाना’ शुरू (तस्वीर)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =