सफाइ अभियानको १० वर्ष: कति सफा भयो बागमती ?

काठमाडाैँ । प्रत्येक शनिबार गरिँदै आएको बागमती नदीको सरसफाइ अभियानको ९ वर्ष पुगेको छ । यो अवधिमा यो अभियानमा हजारौँ अभियन्ता जोडिएका छन् भने करोडौँ रुपैयाँ खर्च पनि भइसकेको छ ।

नेपालभरि २ सय किलोमिटर र काठमाडौँमा मात्र ४४ किलोमिटर लम्बाइ पर्ने बागमती नदी धार्मिक रूपमा पनि महत्त्वपूर्ण मानिन्छ । काठमाडौँको अव्यवस्थित शहरीकरण र नदी बचाउने योजना नहुँदा यो नदी ढल र अन्य फोहोरले बग्नै नसक्ने अवस्थामा पुगेको थियो । फलतः पूजा गर्नुपर्ने नदी नाक मुख छोपेर हिँड्नुपर्ने अवस्थामा पुग्यो ।

नदी फोहोर र ढलले जमेर बग्नै नसक्ने भएपछि अधिवक्ता प्रकाशमणि शर्माले तत्कालीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाएर बि.सं २०६७ सालमा सर्वोच्च अदालतमा रिट हालेका थिए । त्यसपछि अदालतले बि.सं २०७० फागुन ११ गते बागमती नदीको प्रदूषण हटाई सफाइ कायम राख्न आदेश दिएको थियो ।

त्यसपछि पूर्व मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा बागमती सरसफाइ अभियानले निरन्तरता पाएको हो । अभियानको सुरुवात भने २०७० को जेठ ५ गतेबाट नै शुरु भइसकेको थियो । अहिले बागमती सरसफाइको ४ सय ६५ हप्ता कटिसकेको छ । यो अभियान अन्तर्गतका नौ वर्षमा लाखौँ टन फोहोर उठाइएको छ । सरसफाइ अभियानकै कारण बग्नै छोडेको नदी बग्ने भएको छ । तर पनि नदी सङ्लिन सकेको भने छैन ।

जसले हजारौँलाई अभियानमा जोडेँ
त्रिविबाट गणित विषयमा स्नातकोत्तर गरेका राम बागमती सरसफाइ अभियानसँग जोडिनु पनि एउटा संयोग मान्छन् । उनी एक प्राइभेट स्कुलमा पढाउँथे । शनिबार बिदाको दिनमा उनको मोबाइलमा खुब मेसेज आउँथ्यो । बागमती सरसफाइ अभियानमा सहभागी बनौँ भन्ने ।

त्यसपछि रामले यसबारे बुझ्ने विचार गरे । सफाइ अभियानमा धेरै मान्छेहरू संलग्न भएको थाहा पाएपछि उनी पनि आफ्नै लागि रहेछ भनेर हरेक शनिवार बागमती सफाइ अभियानमा सरिक हुन थाले । अहिले राम यस अभियानमा जोडिएको ८ वर्ष भइसकेको छ । रामले हजारौँ व्यक्तिलाई यस अभियानसँग जोडेका छन् ।

तर अभियानले झण्डै एक दशक समय पूरा गर्न लाग्दा पनि नदी र किनारको अवस्थामा नगन्यमात्र सुधार भएको कुरा राम सजिलैसँग स्वीकार गर्छन् । रामले विगतमा नदीको ठोस फोहोरहरू निकाल्ने काम मात्र भएको कुरा उल्लेख गर्दै भने , ‘त्यसरी कहिल्यै नदी सफा नहुने रहेछ ।’

विगतले के सिकायो ?
सक्रिय अभियन्ताको हैसियतले राम आफ्नो अनुभवले नदीको ठोस फोहोर मात्र निकाल्ने कामले अबको ५० औँ वर्षमा पनि नदी स्वच्छ नहुने रहेछ भन्ने पाठ सिकाएको बताउँछन् । त्यसो भए के बागमती सरसफाइ अभियान नाम मात्रको हो त ? जवाफमा राम भन्छन्- ‘यो अभियानमा मान्छेले कल्पना गरेभन्दा पनि बाहिरको राजनीतिक हस्तक्षेप छ ।

किनभने यहाँ सरकारले नै बागमती सरसफाइ अभियानलाई अर्बौँ रुपैयाँ बजेट छुटाउँदा र यसमा काम गर्ने ४ सयभन्दा बढी कर्मचारी हुँदा कसैको पनि ध्यान साँच्चै नदी सरसफाइमा गएको देखिँदैन । रकममा भ्रष्टाचार भएको छ । स्वघोषित अभियन्ताहरुलाई अभियानको नाममा आएको पैसा पचाउन जोड दिइरहेका छन् । फेरी खोक्रो धाक र सामाजिक सञ्जालमा फोटो हाल्न सबैलाई इच्छा छ । देखावटीपन मात्र । त्यसैले अब पहिलेकै सफाइ योजनालाई बोकेर हिँड्दा बागमती कहिल्यै सफा नहुने पक्का भएकोले योजना, रणनीति र बाटो नै बदल्नुपर्ने देखिन्छ ।’

अब के गर्नुपर्छ ?
लामो समय, श्रम र लागत खर्च हुँदा पनि चित्तबुझ्दो परिणाम नआएपछि अब बागमती सरसफाइ अभियानको योजनालाई परिवर्तन गर्नुपर्ने देखिन्छ । वर्षौँदेखि मेहनत गरेर लागिरहेका अभियन्ताले खोज गर्दा अब दीर्घकालीन समाधान खोज्न ढिलो भइसकेको बताउँछन् राम । लगातार गरिएको नदी अतिक्रमण, काठमाडौँको बढ्दो जनसङ्ख्यालाई मध्यनजर गर्दा अबको केही वर्षमा बागमती, विष्णुमती, हनुमन्ते, मनोहरा, गोदावरी लगायता नदीको अस्तित्व नै समाप्त हुने स्थिति सिर्जना भएको कुरालाई नजरअन्दाज गर्न नसकिने अभियन्ताको भनाई छ ।

काठमाडौँमा ठोस फोहोरको व्यवस्थापनलाई ध्यानमा राखेर फोहोर नदीमा फोहोर फाल्नेलाई नगद जरिवाना सहित जेल सजायको नीति नल्याए नदी कहिल्यै सफा नहुने उनको भनाई छ । राम आफैँ पनि शहरी विकास मन्त्रालय अन्तर्गतको बागमती सरसफाइ कार्यकारी समितिको सदस्य थिए । तर समितिमा हुने मनोमानी र काम भने फिटिक्कै नगर्ने कारणले रामले २०७७ मा पदबाट राजीनामा दिएको बताउँछन् ।बागमती नदीलाई आफ्नो छोरीलाई जस्तै प्रेम गर्ने बताउने रामले आफ्नी छोरीको नाम पनि बागमती राखेका छन् ।

अब मनदेखि साँच्चै बागमती सफा गर्न लागिपरेका अभियन्ताहरू मिलेर ठोस फोहोरलाई नदी सम्म नै आउन नदिने वातावरण बनाउन पहल गर्ने बताउँछन् । रामलगायतका अभियन्ताले नदीमा ठोस फोहोर फाल्नेलाई कानुनी रूपमा सजाय दिलाउने नीति ल्याउन लागि परेको बताए । रामले सम्झिए, ‘हामीले गाडीबाट फोहोर बोकेर ल्याई नदीमा फालेर हिँडेको दृश्य प्रत्यक्ष देख्यौ । ती व्यक्तिको फोटो र भिडियो खिच्यौँ । उनीविरुद्ध उजुरी गर्‍यौँ । तर ती व्यक्तिलाई माफी माग्न मात्र पनि महिनौँ लाग्यो । हामीले ती व्यक्तिलाई जरिवाना पनि तिरायौँ । तर त्यसका लागि कती झमेला बेहोर्नु पर्‍यो र कती पटक प्रहरी प्रशासन धाउनु पर्‍यो त्यो हामीलाई मात्र थाहा छ । कानुन नभएर यो सबै भएको हो । यस विषयमा महानगरको त झन् अलिकति पनि चासो देखिँदैन ।’

अबका दिनमा बागमतीको सहायक नदीहरूमा पनि फोहोर फाल्न नदिने, सौन्दर्यकरणमा छुट्याएको रकमबारे अनुगमन, नदी अतिक्रमण गर्ने संघसंस्था, व्यक्ती, धार्मिक समूह समेतलाई कारबाहीको दायरामा ल्याउने लगायतका योजना रहेको रामले बताए । त्यति मात्र नभएर घरमा तथा कलकारखानामा उत्पादन हुने फोहोरलाई ठोस फोहोर र जैविक फोहोर नछुट्याई दिने, फोहोर उठाउँदा पनि सबैथरी फोहोर मिसाएर उठाउने कार्यलाई समेत गैर कानुनी घोषित गरेर बाँकी काम अभि बढाउने रामले बताए । उनी भन्छन्, ‘ म आफू यो अभियानमा बाचुन्जेल र सकुन्जेल लाग्नेछु । बागमतीलाई सधैँ माया गर्नेछु । यसको संरक्षण र सरसफाइमा लाग्नेछु । अरू सबैले यो प्रण गर्नु जरुरी छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *