एमालेले सिफारिस गर्‍याे ६ वटै महानगर मेयरका उम्मेदवार, ३ वटामा सर्वसम्मत

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ६ वटै महानगरपालिकाका मेयरकाे उम्मेदवार सिफारिस गरेकाे छ । जसमा एमालेले तीनवटा महानगरमा भने सर्वसम्मत उम्मेदवार छान्न सकेकाे छ । ललितपुर महानगरमा हरिकृष्ण व्यञ्जनकार, भरतपुरमा विजय सुवेदी र वीरगञ्जमा विजय सरावगी सर्वसम्मत रूपमा एमालेबाट छानिएका महानगरका मेयरका उम्मेदवारहरू हुन् ।

यसबाहेक एमालेले सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्न सकेकाे छैन ।

सबैभन्दा धेरै पोखरा महानगरपालिकको मेयरका आकांक्षी छन् । त्यहाँ १२ जनाले आफूलाई मेयरकाे रूपमा प्रस्तुत गरिरहेका छन् । यसपछि महानगर समितिले सर्वसम्मत रूपमा सिफारिस गर्न नसकेर बाह्रै जनाकाे नाम सिफारिस गरेकाे छ । त्यहाँ आन्तरिक निर्वाचनमार्फत स्थानीय निर्वाचनकाे उम्मेदवार छान्ने तयारी गरिएकाे थियाे तर, त्यहाँबाट उम्मेदवार छानिनसक्ने छाँटकाँट नदेखिएपछि केन्द्रले छान्नेगरी १२ जनाकै नाम सिफारिस गरिएकाे छ ।

प्रदेश नं. १ काे विराटनगर महानगरपालिकामा पनि ५ जना नेताले आफू महानगरकाे उम्मेदवार बन्नपर्ने दाबी गरिरहेका छन् । यसपछि महानगर समितिले ५ जनाकै नाम सिफारिस गरेकाे छ । त्यहाँ केन्द्रीय सदस्य रामलाल साह, प्रदेश समिति सदस्यद्वय कृष्ण बस्नेत र महेश भट्टराई, जिल्ला समिति उपाध्यक्ष बाबुराम कार्की र महानगर अध्यक्ष सागर थापाको नाम सिफारिस भएको छ ।

यस्तै काठमाडाैँमा एमालेबाट बहालवाला मेयर विद्यासुन्दर शाक्यसहित ५ जनाको नाम सिफारिस भएको छ । यहाँ पनि सर्वसम्मत रूपमा छान्न नसकेर ५ जनाकाे नाम सिफारिस भएकाे छ । मेयरका लागि शाक्यसहित केशव स्थापित, रामवीर मानन्धर, निर्मल देउला र इन्दिरा पन्तको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *