विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गरौं : राष्ट्रपति भण्डारी

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षको सुरुआत भएको यस अवसरमा हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताइन् ।

हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने सन्देशमार्फत भनिएको छ ।

ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सिर्जना गर्ने नीति कार्यान्वयन गर्न ढिलाइ गरिन नहुने उनको भनाइ छ । जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोहीअनुसारका नीति अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गरिन् ।

प्रकृतिप्रदत्त स्रोतको दिगो व्यवस्थापन एवं उपयोगमार्फत वातावरणमैत्री आर्थिक विकासद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रयत्नशील हुनुपर्ने सन्देशमार्फत भनिएको छ । २०७९ निर्वाचनको वर्ष हुने भन्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु लोकतन्त्रको उच्चतम् अभ्यास भएको राष्ट्रपति भण्डारीले बताइन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई सोहीअनुरूप सम्पन्न गर्नु हामी सबैको जिम्मेवारी रहेको पनि राष्ट्रपति भण्डारीले भनिन् ।

अन्त्यमा, नयाँ वर्ष २०७९ ले देशमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास, कुरीति एवं कुसंस्कारलाई हटाउँदै न्यायपूर्ण सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने सबैमा शुभकामना दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *