कर्णालीमा एमाले उम्मेदवार छनौटमा व्यस्त, के गर्दैछ गठबन्धन ?

सुर्खेत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै कर्णालीमा पनि उम्मेदवार छनौटको प्रक्रिया अघि बढेको छ । नेकपा (एमाले)ले कर्णालीका केही जिल्लाका वडादेखि पालिका सम्मका उम्मेदवारको टुङ्गो लगाएको छ भने अन्यमा प्रक्रिया जारी राखेको छ । तर, गठबन्धन वडा र पालिकाको भागबन्डाको कुरा मिलाउन नसक्दा उम्मेदवार छनौटमा हैरान बनेको छ ।

एमालेले सुर्खेतका २१ वडामा सर्वसम्मत वडाध्यक्ष चयन गरिसकेको छ भने दैलेखका ३७ वडामा वडाध्यक्षका उम्मेदवार चयन गरिसकेको छ । यस्तै, कर्णालीका अन्य जिल्लामा पनि उम्मेदवार चयन गर्ने प्रक्रियाले तीव्रता पाइरहेको छ भने दैलेखको आठबीस नगरपालिकामा सोमबार वडाध्यक्षको उम्मेदवार चयन गर्ने कार्यक्रम रहेको एमाले दैलेखले जानकारी दिएको छ ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एमालेले नगरप्रमुखको रूपमा पूर्व जिल्ला उपसभापति एवम् भूमि आयोग दैलेखका पूर्व अध्यक्ष समेत रहेका सूर्यबहादुर शाहीलाई उठाउने निर्णय गरिसकेको छ ।

नेकपा (एमाले) सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाका अनुसार चैत ३० गतेसम्म अन्तिम समयावधि पार्टीले तोकेर पठाइसकेको छ । एमाले सुर्खेतमा आएको हाल सम्मको रिर्पोटका अनुसार सुर्खेतमा एमाले २१ वडामा सर्वसम्मत वडा अध्यक्षसहित सदस्यहरूको उम्मेदवार चयन भइसकेको जनाएको छ । साथै सोमबार थप अन्य वडामा पनि सर्वसम्मत उम्मेदवार चयन हुने कार्यक्रम रहेको एमाले सुर्खेतले जनाएको छ ।

एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाहले कर्णालीमा उम्मेदवार चयन प्रक्रिया तीव्र रूपमा भइरहेको जानकारी दिए । ‘हामीले दशवटै जिल्लामा सर्वसम्मत उम्मेदवार चयन गर्ने गरी अघि बढेका छौँ । प्रदेशका करिब एक चौथाइ वडामा उम्मेदवार सर्वसम्मत चयन भइरहेको खबर आइसकेको छ । अन्य वडामा पनि सर्वसम्मत चयनको प्रयास जारी छ,’ उनी भन्छन्, ‘हामीले चुनावलाई टार्गेट गरेर निरन्तर अघि बढिरहेका छौँ । वडाध्यक्ष उम्मेदवार चयन गरेर केही पालिका प्रमुख/उपप्रमुखको उम्मेदवार चयन गर्ने अवस्थामा हामी पुगिसकेका छौँ । जस्तो दैलेखको नौमुले गाउँपालिकामा हामी अध्यक्ष उपाध्याक्ष चयन प्रक्रियामा पुगिसकेका छौँ ।’

एमालेले उम्मेदवार चयनमा तीव्रता दिँदा सत्तारुढ गठबन्धन भने पालिका भागबन्डामै अल्झिएको छ । पालिकाको भागबन्डा केन्द्रले गर्ने भएको बताउँदै त्यहाँबाट फाइनल भएर आएपछि मात्रै यहाँ वडा तहमा कसरी जाने भन्ने कुराको निष्कर्ष निस्कने माओवादी केन्द्र सुर्खेतका इन्चार्ज एवम् केन्द्रीय सदस्य झकबहादुर मल्ल बताउँछन् । ‘अहिले कुन पालिका कसको भागमा पर्ने भन्ने अन्यौल कायमै छ । पालिकाको केन्द्रबाट टुङ्गो लागेपछि मात्रै हामी यहाँ आवश्यक छलफल अघि बढाउँछौँ,’ उनले भने ।

कांग्रेसभित्र भने संस्थापन समूह र संस्थापन इतर समूहमा हरेक जिल्लामा विवाद देखिएको छ । गठबन्धन गरेर जानुपर्ने भन्दै जिल्ला सभापतिहरूले हस्ताक्षर गरेपनि शेखर समूहका नेताहरूले भने काँग्रेस एक्लै लड्नुपर्नेमा जोड दिइरहेका छन् । यसले पनि काँग्रेसलाई सहजै निर्णय लिन मुस्किल भइरहेको पाइएको छ । कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीले सत्ता गठबन्धन दलहरुबीच भागबन्डा नमिलेकाले उम्मेदवारी छनौट गर्न नसकिएको बताए । कुन पालिका कसले पाउने भन्ने बारेमा अहिलेसम्म कर्णालीमा दलहरुबीच सहमति भइनसकेको सभापति शाहीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *