आयोगले २७ करोड खर्चेका मतदान सामग्री कहिले पुग्छन् जिल्ला ?

काठमाडौँ । निर्वाचन आयोगले २७ करोड खर्चेर मतदान सामग्री खरिद गरेको छ । स्थानीय तह निर्वाचनमा प्रयोग हुने विभिन्न २३ प्रकारका सामग्री २७ करोड खर्चेर खरिद गरिएको हो ।

आयोगले मतदान हुनुभन्दा एक महिनाअघि नै सबै सामग्री बुझाउनेगरी फागुन अन्तिम साता आपूर्तिकर्तासँग सम्झौता गरेको थियो । मतदान सामग्री अहिले धमाधम आयोगको केन्द्रीय कार्यालय आउन थालेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘करिब १५ प्रकारका सामग्री आयोगले बुझिसकेको छ, चैत अन्तिमदेखि जिल्लामा ढुवानी सुरु हुँदासम्म सबै सामग्री आइपुग्ने विश्वास गरेका छौँ,’ उनले भने, ‘मतदान प्रयोजनका लागि आयोगले १० वटा प्याकेजमा २३ प्रकारका सामग्री खरिद सम्झौता गरेको थियो ।’

सम्झौताबमोजिम आपूर्तिकर्ताले मतदान र मतदान स्थलमा प्रयोग हुने साना आकारका सामान आयोगलाई बुझाइसकेको छ । मतदानमा प्रयोग हुने मतपेटिका, छेकबार, लाहा, सेक्युरिटी सिल अझै आइसकेको छैन । मतदानमा करिब ९५ हजार मतपेटिका आवश्यक पर्नेछ । ‘२५ हजार मतपेटिका खरिद गर्न लागेका छौँ,’ प्रवक्ता पौडेलले भने, ‘६० हजारभन्दा बढी मतपेटिका आयोगसँग मौज्दात छन् ।’

आयोगसँग मौज्दात मतपेटिका भने जिल्लास्थित निर्वाचन कार्यालयमा भण्डारण गरिएको छ । मतपत्रको आकार बढ्दा मतपेटिका थप्नुपरेको आयोगले जनाएको छ । यसअघिको चुनावमा एउटा पेटिकामा करिब पाँच सयभन्दा बढी मतपत्र अटाएका थिए । स्थानीय निर्वाचन-०७९ मा भने एउटा मतपेटिकामा करिब तीन सय मतपत्र अट्नेछन् । मतदानका लागि १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । एउटा केन्द्रमा करिब तीनदेखि चारवटा मतपेटिका प्रयोग हुने आयोगले जनाएको छ ।

छेकबार र मतपेटिका चीनबाट आयात गरिँदै छ । मतपेटिका शनिबारै नेपाल आएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । यद्यपि, आयोगले हालसम्म बुझिसकेको छैन । आयोगमा नमुना मतपत्र, स्वस्तिक छाप, कैँची, स्टाम्प प्याड, स्टाम्प मसी, स्टिच, स्टिच पिन, प्लास्टिकका बोरा, प्लास्टिकका थैलो, पन्चिङ मेसिन, स्यानिटाइजर, मास्क, मार्कर, टिनको बक्सा, मतदान गर्न जाँदा नङमा चिह्न अङ्कित गर्ने कलम आइपुगेको छ ।

अधिकांश सामग्री भारतबाट आयात गरिएका छन् । उक्त सामग्री आयोगपरिसरमा भण्डारण गरिएको छ । सशस्त्र प्रहरीको उच्च निगरानीमा सामग्री राखिएका छन् । निर्वाचनमा कुल ५६ प्रकारका सामग्री प्रयोग हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *