पूर्वाधार विकासका लागि वैकल्पिक वित्तीय स्रोत परिचालन आवश्यकः सांसद अधिकारी

काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले नेपालको पूर्वाधार विकासका लागि परम्परागत सरकारी बजेट मात्र पर्याप्त नभएकाले वैकल्पिक वित्तीय स्रोतको परिचालनमा जोड दिनुपर्ने बताएकी छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै सांसद अधिकारीले यस्तो बताएकी हुन् ।

सांसद अधिकारीले सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन र ३० हजार किलोमिटर सडक निर्माण गर्ने महत्वाकांक्षी लक्ष्य राखेको उल्लेख गर्दै उत्पादित बिजुलीलाई उपभोक्ता र उद्योगसम्म पुर्याउन प्रसारण लाइन र सबस्टेसन निर्माण नै मुख्य चुनौती रहेको बताइन् ।

४ खर्ब रुपैयाँ हाराहारीको वार्षिक पुँजीगत विनियोजनमा ४० प्रतिशत मात्र खर्च हुने परिपाटीले विकासको लक्ष्य भेट्न कठिन हुने उनको तर्क छ । पूर्वाधार क्षेत्रमा लगानी जुटाउन सरकारले आन्तरिक र बाह्य दुवै स्रोतको खोजी गरिरहेको उनले जानकारी दिइन् ।

आन्तरिक स्रोतका रूपमा कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र नागरिक लगानी कोषजस्ता निकायमा न्युन ब्याजदरमा थुप्रिएर बसेको खर्बौं रुपैयाँलाई उत्पादनमूलक पूर्वाधारमा लगानी गर्ने योजना सरकारको रहेको उनले बताइन् ।

वैदेशिक लगानी भित्र्याउन प्रतिनिधि सभाबाट हालै ‘अल्टरनेटिभ फाइनान्स बिल’ पारित भएको जानकारी दिँदै सांसद अधिकारीले यसअन्तर्गत विभिन्न थिम्याटिक बण्ड, अफसोर बण्ड, प्रोजेक्ट बण्ड र सोभरेन वेल्थ बण्डजस्ता वित्तीय उपकरणहरू प्रयोगमा ल्याइने बताइन् । उनकाअनुसार एशियाली विकास बैंक (एडीबी) को सहयोगमा नेपाली मुद्रामै अफसोर बण्ड जारी गर्ने विषयमा पनि गृहकार्य भइरहेको छ ।

नयाँ वित्तीय उपकरणहरूको कानूनी र प्रक्रियागत कार्यान्वयनका लागि संसदीय अर्थ समितिले राष्ट्रिय योजना आयोग, नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकसँग सघन छलफल गरिरहेको उनले उल्लेख गरिन् ।

साथै, ऊर्जा क्षेत्रको विकासका लागि सरकारले छिट्टै ‘सन्सेट ल’ ल्याउने प्रतिवद्धता जनाएको समेत उनले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =