स्थानीय चुनाव

कर्णालीमा वडास्तरबाटै तालमेलको कसरत

सुर्खेत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि कर्णालीमा गठबन्धनका राजनीतिक दलहरूले चुनाव केन्द्रित गतिविधि तीव्र रूपमा अगाडी बढाएका छन् । चुनावलाई केन्द्र विन्दुमा राखेर स्थानीय वडा, पालिका, जिल्ला हुँदै प्रदेश सम्मका राजनीतिक दलहरूले गाउँमा आमसभादेखि मतदाता भेटघाट र घरदैलो कार्यक्रमलाई समेत निरन्तरता दिएका छन् ।

सत्ता गठबन्धनले कर्णालीमा वडास्तरबाट नै चुनावी तालमेल गर्ने भएको छ । कर्णालीका विभिन्न जिल्लका पालिकामा बसेको गठबन्धनको बैठकले पनि विज्ञप्ति जारी गर्दे प्रदेशको निर्णय अनुसार र स्थानीय तहमा पार्टीको मतदाताका आधारमा गठबन्धनबाट चुनावी मैदानमा होमिने निर्णय समेत गरेका छन् ।

सुर्खेतको चौकुने गाउँपालिमा सोमबार सत्तारुढ दल (नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा)का नेताहरूले स्थानीय निर्वाचनमा तालमेल गरेर अगाडी बढ्ने सर्वसम्मत निर्णय गरेका छन् ।

नेपाली काँग्रेसका गाउँपालिका सभापति नरबहादुर बान्तोला, माओवादी केन्द्र गाउँ कमिटीका अध्यक्ष गंगाराम विक, समाजवादीका गाउँ कमिटी अध्यक्ष लछिराम आलेमगर र राष्ट्रिय जनमोर्चाका गाउँ कमिटी सचिव पदसिंह विकले पालिकामा चुनावी तालमेल गर्ने सहमति गरेका हुन् ।

साथै उनीहरूले अब गठबन्धनको मर्म र भावना विपरीतका गतिविधि नगर्ने समेत निर्णय गरेका छन् । ‘गठबन्धनलाई अगाडि बढाउन हामी एकताबद्ध छौँ’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय कमिटी तथा कार्यसमितिलाई गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न हामी अनुरोध गर्दछौँ ।’ चौकुने गाउँपालिकामा मात्रै होइन । सत्तारुढ गठबन्धनले कर्णालीका सबै वडा र जिल्लामा चुनावी तालमेलको टुङ्गो लगाउने भएको हो ।

केन्द्रमा भएको पाँच दलीय गठबन्धनको संयन्त्रले वडा तहसम्म तालमेलको आधार टुङ्गाउन दिएको निर्देशन अनुसार कर्णालीमा पनि तालमेलको व्यवहारिक र विवादरहित बाटो पहिल्याउन वडा तहसम्म तालमेल गर्ने सहमति भएको नेताहरू बताउँछन् ।

सोमबार नेपाली काँग्रेस जुम्लाका सभापति कर्णबहादुर शाहीको संयोजकत्वमा सरकार गठबन्धन दल नेकपा माओवादी केन्द्र जुम्लाका संयोजक वीरबहादुर कुँवर र नेकपा एकीकृत समाजवादी जुम्लाका उपाध्यक्ष नन्दराम रोकायाबीच चुनाव केन्द्रित छलफल भएको छ । जुम्लामा एक नगरपालिका र ७ गाउँपालिका छन् ।

दलको पार्टी भित्रको आन्तरिक नेतृत्वहरूसँग बृहत् छलफल गर्ने र दलहरूले आ आफ्नो स्पष्ट धारणा निर्माण गरी चुनावी मैदानमा गठबन्धन गरेर होमिने निर्णय गरेको छ । जुम्लामा गठबन्धनको अर्को बैठक चैत २५ गते पुन: बैठक बस्ने र थप छलफल गर्ने जनाइएको छ ।

गठबन्धन हुम्लामा नेपाली काँग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहको अध्यक्षतामा बसेको बैठकले जिल्लामा तालमेल गरेर जाने निर्णय गरेको छ । केन्द्र, प्रदेशको निर्देशन अनुसार हुम्लामा पनि गठबन्धन गरेर अगाडी बढ्ने निर्णय गरिएको काँग्रेस हुम्लाका सभापति मोहनविक्रमले जानकारी दिए ।

सोमबार भएको सत्ता गठबन्धनको काँग्रेसका मोहनविक्रम सिंह, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय भण्डारी, नेकपा एकीकृत समाजवादीका जिल्ला पार्टी उपाध्यक्ष तीर्थराज रोकाया लगायतका नेताबीच भएको बैठकले हुम्लामा पनि चुनावी तालमेल गरेर अगाडी बढ्ने निर्णय गरेका छन् ।

मंगलबार बसेको कर्णाली प्रदेशका पाँच दलीय गठबन्धन संयन्त्रको बैठकले स्थानीय चुनावमा तालमेल गरेर नै अगाडी बढ्ने निर्णय गरेको छ । नेपाली कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीको अध्यक्षतामा काँग्रेस पार्टी कार्यालयमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा कर्णालीमा सात सय १८ वटै वडामा चुनावी तालमेलको अनुमोदन गर्ने समेत निर्णय भएको गठबन्धनका एक नेताले जानकारी दिए ।

उनले भने, ‘गठबन्धनका नेताहरूले वडा तहदेखि नै तालमेलको आधारसहित गठबन्धनबाट वडाले पालिका, पालिकाले जिल्ला हुँदै प्रदेश संयन्त्रलाई रिपोर्ट पठाएका छन् । केन्द्रको निर्देशनअनुसार सबै जिल्लाबाट तालमेलको रिपोर्ट आएको छ । रिपोट हामीले केन्द्रलाई पठाई सकेका छौँ ।’ ती नेताले थपे, ‘अहिले वडा, पालिका तथा जिल्लाबाट आएको गठबन्धनको चुनावी तालमेलको खाकासहितको रिपोट केन्द्रले सार्वजनिक नगर्नु भनेको छ ।’

नेपाली काँग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले कर्णालीमा वडा तहबाटै चुनावी तालमेल हुने बताए । उनले भने, ‘चुनावी तालमेलको खाकासहित जिल्लाबाट प्रदेशलाई पठाएको हामीले केन्द्रलाई सिफारिस गरेका छौँ । केन्द्रको मोडालिटीअनुसार सबै जिल्लामा तालमेल टुङ्गाउने निर्णय भएको छ ।’

साथै जिल्ला गठबन्धनले वडा तहसम्म पार्टीको अवस्था, २०७४ सालको निर्वाचनमा उम्मेदवारले ल्याएको मत परिमाण, पार्टीको वर्तमान अवस्था, मतदाताको आकलनसहितको विवरणका आधार आगामी निर्वाचनमा यही तथ्यांकका आधारमा भागबन्डा टुङ्गो लाग्ने समेत जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *