राखेप फर्किए सदस्य सचिव घिसिङ

काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ बुधबारबाट राखेप फर्किएका छन् ।

राखेपको सदस्यसचिवको विवाद समाप्त भएसँगै बुधबार राखेपमा फर्किएका घिसिङले आफ्नो कामकाज शुरू गरेका छन् । सर्वोच्च अदालतले मंगलबार तत्कालीन राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति दायर गरेको रिट निवदेन खारेज गरेपछि सदस्यसचिवको विवाद समाप्त भएको हो ।

राखेपमा फर्केपछि घिसिङले चालु आर्थिक वर्ष भित्र नै राष्ट्रिय खेलकुद आयोजनाको निम्ति प्रयास गर्ने बताए । उनले राष्ट्रिय खेलकुदका लागि बैशाख ३० गतेसम्मको समयलाई दूरदर्शी योजना तयार गर्न उपयोग गर्ने जिकिर गरे ।

त्यस्तै, उनले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागितालाई बढाउनका लागि आवश्यक ट्रेनिङको व्यवस्था हुनुपर्ने जनाए । उनले समग्र खेलकुदको विकासका लागि सातै प्रदेशसँग छलफल गर्ने जानकारी दिए ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेलकुद विकास ऐन, २०७७ अनुसार सदस्यसचिवको बर्खास्ती र नियुक्ति गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *