‘एनवाइएफ शर्ट मुभी कम्पिटिशन २०७८’ सम्पन्न, उत्कृष्ट ३ चलचित्रलाई ५ लाख नगद पुरस्कार

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित ‘एनवाइएफ शर्ट मुभी कम्पिटिशन २०७८’ भव्यताका साथ सम्पन्न भएको छ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सोमबार प्रतियोगिताको विजेता घोषणा तथा पुरस्कार वितरण गरिएको हो ।
प्रतियोगितामा ‘प्रश्न’ नामक लघु चलचित्र प्रथम भएको छ भने क्रमशस् एसओपी र खाली सीसीले दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । विजेता लघु चलचित्रलाई ट्रफी र प्रमाणपत्रसहित क्रमशः रु २ लाख ५० हजार, १ लाख ५० हजार, १ लाखको नगद पुरस्कार प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहमा नेपाली चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वहरूले विशेष उपस्थिति जनाएका थिए ।
कुल ७५ प्रतियोगी चलचित्र को सहभागिता रहेको उक्त शर्ट मुभी कम्पिटिशन ‘म केही गर्छुु भन्ने मूलभाव सहित युवाहरूमा सकरात्मक सोच विकास गराउन र उनीहरूको सोच र सृजनशीलताको पहिचान, प्रस्फुटन र प्रबर्द्धन गर्नु यसकाे मुख्य उदेश्य रहेको संघका संयोजक तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए ।
संयोजक पौडेलका अनुसार कोभिड-१९ महामारीले नेपालीलाई घरभित्रै बन्धक बनाएका बेला ‘म केही गर्छु’ लघु चलचित्र प्रतियोगिताको सुरुवात गरिएको थियो । यो बेला युवाहरूको समय सदुपयोग तथा प्रोडक्टिभ ईङेजमेण्ट लाई ध्यान दिँदै यस् प्रतियोगोताको अवधारणा तैयार भएको बताए ।
प्रतियोगिताको पहिलो चरणमा युवा वर्गलाई आफ्नो रचनात्मक प्रस्तुतिका लागि लघु चलचित्रको पटकथा बुझाउन आह्वान गरिएको थियो । युवाहरूबाट पटकथा प्राप्त पटकथामध्ये ७५ वटा पटकथा ‘म केही गर्छु’ लघु चलचित्र प्रतियोगिताका लागि चयन गरिएको थियो । चयन गरिएका ७५ वटा पटकथाबाट ४५ वटा पटकथालाई लघु चलचित्र निर्माणका लागि चयन गरिएको हो । विभिन्न चरणबाट निर्माण गरिएका ४५ वटा पटकथाबाट १० वटा लघु चलचित्र चयन गरियो र अन्तिममा १० वटा चलचित्रमध्ये सोमबारको समारोहमार्फत् तीनवटा लघु चलचित्रलाई विजेता घोषणा गरिएको हो ।
साथै सोही कार्यक्रमबाट राष्ट्रिय युवा संघ नेपालकै साइबर सर्कल विभागले रु ६ लाख पुरस्कार राशीको ‘निर्वाचन र नेकपा एमाले’ शीर्षकको टिकटक भिडियो प्रतियोगितासमेत घोषणा गरेको छ ।








