एएफसी कप छनोट : सुखद सुरुवातको लक्ष्यमा मच्छिन्द्र

काठमाडाैँ । नेपाली लिग च्याम्पियन मच्छिन्द्र क्लबले मंगलबार एएफसी कप छनोटको प्रारम्भिक चरणमा श्रीलंकाको ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेर एएफसी कपका लागि छनोट खेल्न लागेको मच्छिन्द्रले दशरथ रङ्गशालामा सुखद सुरुवातको लक्ष्य लिएको छ ।

दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुने खेलमा दुवै क्लबको लक्ष्य प्रारम्भिक जित निकाल्नु रहेको छ । खेल अघिको प्रि-म्याच कन्फ्रेन्समा बोल्दै दुवै टोलिले एक अर्कालाई बलियो प्रतिद्वन्द्वी रूपमा लिँदै जितका लागि मैदानमा उत्रिने बताए ।

गत संस्करणमा पनि एएफसी कपका लागि छनोट भएको मच्छिन्द्र क्लबले क्लब लाइसेन्स नभएका कारण छनोट गुमाएको थियो । उसका स्थानमा नेपालबाट त्रिभुवन आर्मी क्लबले सहभागिता जनाएको थियो । तर यो पटक मच्छिन्द्र आफ्नो पहिलो यात्रालाई नै समूहचरणमा पुर्‍याउने लक्ष्यमा हुने छ ।

लिग च्याम्पियन मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले विपक्षी टीमको खेल हेरेको भन्दै जितको उद्देश्यका साथमा मैदानमा उत्रिने बताए । उनले भने ‘हामीले विपक्षीलाई बलियो रूपमा लिएका छौँ । हाम्रो लक्ष्य समूहचरण पुग्ने भएकाले हामी सोही अनुसार प्रदर्शन गर्ने छौँ। उनीहरूको खेल हेरेका छौँ । त्यसैले सोही अनुसारको प्रदर्शन गर्ने हाम्रो लक्ष्य रहेको छ ।’

उनले आफ्ना खेलाडी फिट रहेको भन्दै शतप्रतिशत प्रयास गर्ने बताए । कटुवालले भने ‘श्रीलंकाको लिग राम्रो चलिरहेको छैन्, यद्यपि च्याम्पियन भएर ब्लु स्टार छनोट भएको हो । त्यसैले कमजोर आँकेका छैनौँ ।’ त्यस्तै कप्तान सुजलले पनि टीमको लक्ष्य दोस्रो चरणमा पुग्ने भएकाले सोही अनुसारको प्रदर्शन गर्ने बताए ।

श्रीलंकाका प्रशिक्षक राजमान्य डेभासगयामले पनि नेपाली टीमविरुद्ध संयमित भएर मैदान उत्रने बताए । उनले नेपाली टीमलाई बलियो प्रतिद्वन्द्व रूपमा लिएको बताए । उनले भने ‘हामीले नेपाली टीमलाई बलियो प्रतिद्वन्द्व रूपमा लिएका छौँ । सोही अनुसार नै हामीले राम्रो तयारी गरेका छौँ ।’ उनले टीमको लक्ष्य जित भएकाले जितकै लागि प्रतिस्पर्धा गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *