न्याय सम्पादनलाई छिटो, निष्पक्ष र प्रभावकारी बनाउने कानुनमन्त्रीकाे दाबी

काठमाडाैँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले न्याय सम्पादनलाई छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाइने बताएका छन् ।

आइतबार सिंहदरबारमा न्यायिक सुधार गर्न गठित कार्यदलको प्रतिवेदनका विषयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बडूले अदालतमा न्याय माग्नेलाई छिटो, छरितो तवरबाट न्याय दिन सुधार आवश्यक रहेको समेत बताए । उनले न्याय सम्पादनको कार्यविधिमा मुद्दा टुङ्गिने समय तोकेको भएपनि कार्यान्वयन हुन नसकेको बताए ।

न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टचार एवं विचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने कार्यदलको सुझावलाई कार्यान्वयन गर्ने उनले बताए । उनले न्यायसम्पादनसम्बन्धी कानूनलाई संशोधन गर्न सकिए सर्वोच्च अदालतको कार्यबोझ घट्ने र लामो समयदेखि विचाराधीन पुराना मुद्दाहरूको छिटो टुङ्गो लाग्ने जानकारी दिए । यससम्बन्धी कानूनको संशोधनलाई आगामी संसदको बैठकबाट पारित गर्ने उनले बताए । मन्त्री बडूले संशोधित कानून सदनबाट पारित भएपछि न्याय क्षेत्रमा ठूलो परिवर्तन हुने दावी गरे ।

गत फागुन २५ गते सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, न्यायपरिषद्, नेपाल कानून आयोग र नेपाल बार एशोसिएसनको प्रतिनिधि रहनेगरी मन्त्रिस्तरीय निर्णयबाट कार्यदल गठन गरिएको थियो । कार्यदले विभिन्न सुझाव सहितको प्रतिवेदन मन्त्री बडूलाई यसअघि नै बुझाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *