‘शासकीय स्वरूपकाे शुद्धताका लागि दलहरूले आचारसंहिता मान्छाैँ भन्नुपर्छ’ (भिडिओसहित)

काठमाडाैँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुककाे शासकीय स्वरूपकाे शुद्धताका लागि दलहरूले जारी निर्वाचन आचारसंहिताकाे पालना गर्न हिच्किचाउन नहुने बताएका छन् । ‘लाेकतन्त्रका लागि, नेपालकाे शासकीय स्वरूपका लागि दलहरूले निर्वाचन आयाेगले जारी गरेकाे निर्वाचन आचारसंहिता मान्छाैँ, प्रतिबद्ध छाैँ भनेर भन्नुपर्छ,’ बिहीबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा उनले भने, ‘दलहरूमा कुनै मत-मतान्तर कमसेकम यसबारेमा देखिनु हुन्न ।’
निर्वाचन आयाेगले राजनीतिक दल, कानूनका जानकार तथा सम्बन्धित व्यक्तित्वहरूकाे सहभागितामा आचारसंहिता बनाएकाे उल्लेख गर्दै आयुक्त थपलियाले भनेका छन्, ‘आफ्नै सहभागितामा बनेकाे आचारसंहिता पालना गर्न दलहरूलाई गाह्राे हाेलाजस्ताे छ । याे अलिक अप्ठ्याराे प्रश्न छ यहाँनेर । आफैँलाई विश्वास गर्ने कि नगर्ने भन्ने हाे । अब दलहरूले लाेकतन्त्र र शासकीय स्वरूपकाे शुद्धताका लागि पनि आचारसंहिता बिनाकपट मान्छाैँ भन्नुपर्छ ।’
यसअघि निर्वाचन आयाेगले चैत ३ गते निर्वाचन आचारसंहिता, २०७८ जारी गरेकाे थियाे । त्यहाँ राखिएका कतिपय प्रावधानहरूमा दलहरूले फरक मत राखेका थिए । यसपछि आयुक्त थपलियाले यस्ताे प्रष्टीकरण दिएका हुन् ।








