प्रधान मन्त्री र महन्थबीच भेटवार्ता : निर्वाचनअघि नै सरकारमा जाने लोसपाको ‘मूड’
लोसपासहितको सहभागितामा मन्त्रिपरिषद् पुन:गठनको तयारी

काठमाडौँ । प्रधान मन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजावदी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार साँझ पौने ६ बजे प्रधान मन्त्री सरकारी निवास बालुवाटारम भेटवार्ता भएको हो । भेटवार्तामा लोसपालाई सरकारमा सामेल गराउनेबारे छलफल भएको छ ।
आज मात्रै लोसपाको कार्यकारिणी समिति बैठक बसेको थियो । बैठकमा सरकारमा जाने कि नजाने भन्नेबारे अध्यक्ष ठाकुरले ब्रिफिङ्ग गरेका थिए । उक्त क्रममा उनले सरकारमा जाँदा फरक नपर्ने बताएका थिए । उनको भनाइलाई उद्धृत गर्दै एक कार्यकारिणी समिति सदस्यले भनेका छन्, ‘हामीले राजनीति गरिरहेका छौँ, हाम्रो मागमुद्दा उठाइरहेका छौँ । त्यही सरकारमा सामेल भएर आफ्ना जनता र मुद्दाहरूलाई स्थापित गराउनकै लागि हो । यसो हुँदा अहिले नै सरकारमा जाँदा पनि केही फरक पर्दैन, यसमा के हुन्छ; हामी जान सक्छाैँ ।’
बैठकपछि साझा धारणा लिएर ठाकुर बालुवाटार छिरेको ती सदस्यको भनाइ छ । ‘हाम्रो पार्टी लोसपामा सरकारमा जाने भन्ने नै साझा धारणा छ,’ उनले भने, ‘यसो हुँदा त्यहाँ कुनै खाले वाधा-अवरोध छैन । साझा धारणा नै हाम्रो सरकारमा सामेल नहुँदा फरक पर्दैन भन्ने हो । उहाँ अध्यक्षज्यूले अब कस्ताे सन्देश ल्याउनुहुन्छ त्यसमा भर पर्छ ।’
निर्वाचनअगावै सरकारमा जाने लोसपाको ‘मूड’
लोसपा सबैभन्दा पहिले सरकारमा सामेल भएर मात्रै स्थानीय निर्वाचनको तयारीमा जुट्न चाहन्छ । त्यसका लागि लोसपाले साझा धारणासमेत बनाइसकेको छ । तर, सरकारमा जाँदैगर्दा उसले आफ्नै मागमुद्दाहरूलाई समेत सँगै लिएर जाने कार्यकारिणी समिति सदस्य एकवाल मियाँ बताउँछन् । ‘हामी सरकारमा नजाने होइन, जाने हो,’ उनले भनेका छन्, ‘तर, जाँदाखेरि आफ्नो मागमुद्दाहरूलाई पनि सँगै लिएर जाने भन्ने हो । यदि त्यो मागमुद्दाहरूको सम्बोधन भएन भने त सरकारमा गएर पनि केही हुँदैन । हामीले जाने भनेकै मधेशी जनतासँगै समग्र जनताहरूकाे अधिकारका लागि हाे ।’
आजको बैठकमा अधिकांश सदस्यहरूले सरकारमा जाने भए विलम्ब गर्न नहुने धारणा राखेका थिए । पहिले सरकारमा सामेल हुने र स्थानीय निर्वाचनकेन्द्रित हुने नेताहरूले बताएका छन् । नेताहरूलाई उद्धृत गर्दै मियाँले भने, ‘दुईतिर हुँदाखेरि तयारी नपुग्न सक्छ, त्यसो हुँदा एकोहोरो रूपमा काम गर्नका लगि पहिले सरकारमै जानुपर्ने हुन्छ ।’
लोसपासहितको सहभागितामा मन्त्रिपरिषद् पुन:गठनको तयारी
लोसपासमेतलाई सरकारमा सहभागी गराउनेगरी मन्त्रिपरिषद् पुनःगठनको कसरत भइरहेको छ । यसको परपुष्टि सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि गरेका छन् । उनले भनेका छन्— ‘मन्त्रिपरिषद् विस्तार हुन सक्छ । स्थानीय निर्वाचनअघि नै यो विस्तार हुन पनि सक्छ ।’
तर कहिले हुन्छ भन्नेबारे भने केही ठोस कुरा बाहिर आएको छैन । तर, गठबन्धनमा भने छलफल भइरहेको एक माओवादी नेताले बताएका छन् । यसमा कहिले, कति–कति मन्त्रालय, कुन कुन दलको सहभागितामा भन्ने विषयमा भने छलफल हुन बाँकी नै रहेको ती नेता बताउँछन् । लोसपासहितको सभागितामा मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ? भन्ने प्रश्नमा ती नेताले भने— ‘प्रयास त्यस्तै छ ।’
त्यसो त सरकारले मन्त्रिपरिषद् पुनःगठनको तयारी गरिरहेकै छ । यसमा लोसपासमेतलाई सरकारमा सहभागी गराउने नेताहरूले बताएका छन् । ती नेताले स्वीकारे— ‘सहमति जुट्यो भने लोसपा पनि यो पटक सरकारमा सहभागी हुन्छ ।’
♦ याे पनि:
स्थानीय निर्वाचनअगावै लोसपा सरकारमा जाँदैछ ?








