स्थानीय निर्वाचनअगावै लोसपा सरकारमा जाँदैछ ?

काठमाडौँ । महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारमा सहभागी हुनेबारे छलफल शुरू गरेको छ । यसबारे आधिकारिक छलफलसँगै आवश्यक निर्णय लिनका लगि बुधबार (भोलि) केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै छ । उक्त बैठकले यसबारे थप छलफल गर्ने र आवश्यक निर्णय लिने नेताहरूले बताएका छन् ।
लोसपाले सरकारमा सहभागी हुनका लागि मापदण्ड बनाउन र आवश्यक मागमुद्दा सरकारलाई सम्बोधन गराउनका लागि एक कार्यदल नै बनाएको छ । नेताद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला सम्मिलित कार्यदलले अहिलेको सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेससँग विभिन्न चरणमा वार्तासमेत गर्दै आएको छ । तर, ठोस सहमति भने जुटिनसकेको केन्द्रीय कार्यकारिणी समिति सदस्य एकवाल मियाँले बताए । ‘सरकारमा सहभागी हुने कुरा नयाँ होइन,’ उनले भने, ‘यसमा विभिन्न चरणमा हाम्रो कुराकानी भइरहेको छ । तर, ठोस सहमति भने भएको छैन ।’
त्यसो त शेरबहादुर देउवा नेतृत्वको सरकारलाई लोसपाले शुरूदेखि नै समर्थन गर्दै आएको छ । असार २९ गते प्रधान मन्त्रीमा नियुक्त भएका देउवाले साउन ४ गते सदनबाट विश्वासको मत लिएका थिए । त्यक्तिबेलै पनि लोसपाले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको थियो । पछिल्लो एमसीसीको सन्दर्भमा पनि लोसपाले सरकारको कदमको समर्थन गरेको छ । नेपाली कांग्रेसकै जोडबलमा सदनबाट पारित भएको एमसीसीमा लोसपा पक्षमा उभिएको थियो ।
कांग्रेसले पनि लोसपालाई सरकारमा तान्नका लागि प्रयास गरिरहेको छ । हुन त उसलाई अंकगणितीय रूपमा लोसपाको आवश्यक्ता पर्दैन । तर, कांग्रेसले प्रतिनिधि सभामा १३ सिट भएको लोसपा पनि आफैँसँग भए राम्रो हुने विश्लेषण गरिरहेकाे छ । खासगरी प्रमुख प्रतिपक्ष दल एमालेसँग मिल्न नदिनका लागि पनि कांग्रेसले यो रणनीति अपनाएको विश्लेषण राष्ट्रिय राजनीतिक वृत्तमा हुने गरेको छ । के यो साँचो हो त ? भन्ने प्रश्नमा एक कांग्रेस नेता भन्छन्, ‘ठ्याक्कै त्यसो नै हो भनेर त भन्ने अवस्था छैन र हुँदैन पनि । तर, देशको विकास, समृद्धि र सामाजिक न्यायको पहरेदाहरूबीच गठबन्धन भयो, एकता भयो अथवा ती दलहरू मिलेको खण्डमा देशको लागि राम्रै हुन्छ, प्राप्त उपलब्धिहरूका लागि राम्रै हुन्छ भन्ने हो ।’
लोसपाले सरकारमा सहभागी हुँदैगर्दा आफ्नो मागमुद्दाहरूको सम्बोधन हुनुपर्ने माग उठाइरहेको छ । नागरिकता, कैद बनाइएका आफ्नो दलका नेता/कार्यकर्ताहरूको रिहाइलगायतका विषयलाई आफ्नो मूल माग बनाएको लोसपाले यसको सम्बोधन नभए सरकारमा सहभागी नहुने बताउँदै आएको छ ।
गत भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको लोसपाका अध्यक्ष ठाकुर र प्रधान मन्त्री देउवाबीच पटक-पटक छलफल भएको छ । तर, सहभागी भने जुटेको छैन । अब पुनः एकपटक छलफललाई तीव्रता दिने लोसपाका एक नेताले बताएका छन् । ‘त्यसपछि सहमति जुट्यो भने सरकारमा सहभागी पनि भइहाल्ने भन्ने छ हाम्रो पनि । त्यसपछि मात्रै थप कार्यक्रम अघि सार्ने भन्ने खालको लोसपाको भनाइ छ,’ ती नेताले भनेका छन् । भनेपछि लोसपा सरकारमा सहभागी हुन चाहन्छ ? भन्ने मकालुखबरको जिज्ञासामा ती नेताले भनेका छन्, ‘स्थानीय निर्वाचनअघि नै सहभागी हुन चाहन्छ । तर, आवश्यक कुराहरू मिल्न बाँकी नै छ ।’
लोसपासहितको सहभागितामा मन्त्रिपरिषद् पनःगठन हुने ?
लोसपासमेतलाई सरकारमा सहभागी गराउनेगरी मन्त्रिपरिषद् पुनःगठनको कसरत भइरहेको छ । यसको परपुष्टि सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि गरेका छन् । उनले भनेका छन्— ‘मन्त्रिपरिषद् विस्तार हुन सक्छ । स्थानीय निर्वाचनअघि नै यो विस्तार हुन पनि सक्छ ।’
तर कहिले हुन्छ भन्नेबारे भने केही ठोस कुरा बाहिर आएको छैन । तर, गठबन्धनमा भने छलफल भइरहेको एक माओवादी नेताले बताएका छन् । यसमा कहिले, कति-कति मन्त्रालय, कुन कुन दलको सहभागितामा भन्ने विषयमा भने छलफल हुन बाँकी नै रहेको ती नेता बताउँछन् । लोसपासहितको सभागितामा मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ? भन्ने प्रश्नमा ती नेताले भने— ‘प्रयास त्यस्तै छ ।’
त्यसो त सरकारले मन्त्रिपरिषद् पुनःगठनको तयारी गरिरहेकै छ । यसमा लोसपासमेतलाई सरकारमा सहभागी गराउने नेताहरूले बताएका छन् । ती नेताले स्वीकारे— ‘सहमति जुट्यो भने लोसपा पनि यो पटक सरकारमा सहभागी हुन्छ ।’








