‘रवीन्द्र जीले वैकल्पिक राजनीतिलाई राप्रपामा लगेर समाहित गर्ने काेसिस गर्नुभयाे’ (भिडिओसहित)

काठमाडाैँ । विवेकशील साझा पार्टीका संगठन विभाग प्रमुख निर्देश सिलवालले अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई राप्रपाकरण गर्ने प्रयास गरिरहेकाे आराेप लगाएका छन् । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय बखुण्डाेलमा पत्रकारहरूसँग कुराकानी गर्दै सिलवालले भने, ‘रवीन्द्र मिश्रले पार्टीलाई राप्रपासँग मिलाउने काेसिस गर्नुभयाे, याे कुनै पनि हालतमा हुन दिँदैनाैँ ।’
उनले अध्यक्ष मिश्रले वैकल्पिक राजनीतिलाई सिद्ध्याउने खेल खेलेकाे पनि बताए । ‘उहाँले वैकल्पिक राजनीतिलाई राप्रपाकरण गर्ने प्रयास गर्नुभयाे, षड्यन्त्र गर्नुभयाे,’ सिलवालले भनेका छन्, ‘हामी राप्रपाकरण हुन सक्दैनाैँ । हामी राजावादी हुन सक्दैनाैँ । विवेकशी साझा पार्टीलाई कुनै पनि पनि हालतमा राप्रपामा समाहित हुन दिँदैनाैँ । वैकल्पिक राजनीतिलाई सिद्ध्याउने खेल खेलियाे ।’
यस्तै उनले अध्यक्ष मिश्र अल्पमतमा परिसकेकाे दाबी गरे । ‘उहाँ अल्पमतमा परिसक्नुभएकाे छ,’ उनले भनेका छन्, ‘यसपछि उहाँले अनावश्यक जालझेल गर्न थाल्नुभयाे ।’ विवेकशील साझा पार्टीकाे १६३ सदस्यीय केन्द्रीय समिति छ । जसमा बढी सदस्यहरू आफूहरूपट्टि भएकाे सिलवालकाे दाबी छ । ‘हिजाे हामी निर्वाचन आयाेग गयाैँ । त्यहाँ बढी केन्द्रीय सदस्य असन्तुष्ट छन्; हामीसँग छन् । म रवीन्द्र मिश्रलाई कम्तीमा आफ्नाे पक्षमा ८२ जना पुर्याउन चुनाैती दिन्छु,’ उनले भनेका छन् ।
असन्तुष्ट पक्षले मंगलबार बिहान पत्रकार सम्मेलनकाे आयाेजना गरेकाे थियाे । तर, अध्यक्ष मिश्र पक्षले कर्मचारीबाहेक अन्यका लागि पार्टी केन्द्रीय कार्यालय बन्द गरेको सूचना जारी गरेको थियाे । यसपछि त्यहाँ केहीबेर तनावसमेत भएकाे थियाे ।
♦ याे पनि:
रवीन्द्र मिश्र नेपाली राजनीतिका ‘छोटे हिट्लर’ हुन् : मिलन पाण्डे








