शेखर पक्षकाे प्रश्न- गठबन्धन खास केका लागि हाे ?

काठमाडाैँ । नेपाली कांग्रेसकाे शेखर काेइराला पक्षले गठबन्धनबाट चुनावमा जान नहुने दाेहाेर्‍याएकाे छ । शुक्रबार बसेकाे केन्द्रीय समिति बैठकमा सहभागी हुने क्रममा नेता बलबहादुर केसीले भनेका छन्— ‘हामीले भन्दै आएकाे छाैँ । गठबन्धनबाट चुनावमा जानु हुँदैन, यदि जानैपर्‍याे भने बृह्त सहमति जुटाएर मात्रै जानुपर्छ । त्यसमा पनि प्रष्ट हुनुपर्छ अनि मात्रै जानुपर्छ ।’

यस्तै नेता केसीले केका लागि गठबन्धन भन्नेमा प्रष्ट भएर मात्रै संयुक्त रूपमा निर्वाचनमा जानुपर्ने बताएका छन् । ‘विगतमा पनि हामीले माओवादी केन्द्रसँग गठबन्धन गर्‍याैँ । तर, हामीसँग सत्तामा सहकार्य गरिरहेकाे माओवादी केन्द्रले पछि एमालेसँग चुनावी गठबन्धन गर्‍याे । यही प्रवृत्ति दाेहाेरिँदैन भनेर त भन्न सकिन्न । त्यसैले शेखरजीले नेतृत्व गरेकाे पक्षले यही भन्छ कि प्रष्ट भएर मात्रै जाउँ । केका लागि गठबन्धन ?,’ नेता केसीले भनेका छन् ।

पार्टीभित्र पहिले सहमति खाेजेर मात्रै अन्य दलहरूसँग गठबन्धन गर्नुपर्ने नेता केसीले बताए । आफू रहेकाे पक्षकाे धारणा पनि त्यही रहेकाे सुनाउँदै उनले भनेका छन्, ‘एउटा नेता जिताउन हाे कि, राष्ट्रियताका लागि हाे कि; केका लागिचाहिँ गठबन्धन हाे ? त्यसमा प्रष्ट हुनुपर्ने हुन्छ । यहाँ त विचारमा पनि अविश्वास छ ।’

सभापति शेरबहादुर देउवासँगै रामचन्द्र पक्षले भने गठबन्धन टुट्न नहुने दाेहाेर्‍याउँदै आएकाे छ । शेखर पक्ष भने गठबन्धन गर्न नहुने अडानमा छ ।

♦ याे पनि:
   देउवासँग शेखरले भने- ‘समानान्तर कमिटी बनाएर अघि बढ्न दबाब आयाे’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =