पोर्चुगल विश्वकपको छनोट नजिक

काठमाडाैँ । फिफा विश्वकप २०२२ को युरोपियन छनोट प्ले अफ अन्तर्गत महत्त्वपूर्ण खेलमा टर्कीलाई पराजित गर्दै पोर्चुगल फाइनलमा पुगेको छ । अब फाइनलमा पोर्चुगलले जित निकाले विश्वकप छनोट हुने छ ।

पोर्टोमा बिहीबार राति भएको खेलमा टर्कीमाथि पोर्चुगलले ३-१ को जित निकाल्यो । १५औँ मिनेटमा ओटाभियोको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो । ४२औँ मिनेटमा डिएगो जोटाले ओटाभियोकै पासमा टिमको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमानै २-० को अग्रता बनाएको पोर्चुगल विरुद्ध टर्कीले ६५औँ मिनेटमा बुराक यिल्माजले गोल गर्दै टीमलाई खेलमा फर्काए । तर ८५औँ मिनेटमा बुराक पेनाल्टीमा गोल गर्न चुक्दा टर्कीको सम्भावित बराबरी टरेको थियो ।

खेलमा पोर्चुगलका लागि इन्जुरी समयको चौथो मिनेटमा म्याथिएस लुइजले तेस्रो गोल गरेपछि घरेलु टोलीले सहज जित निकाल्यो । अब पोर्चुगलले प्ले अफको फाइनलमा नर्थ म्यासेडोनियासँग प्रतिस्पर्धा गर्नेछ ।

नर्थ म्यासेडोनियाले बिहीबार राति नै युरो २०२० को च्याम्पियन इटालीलाई १-० ले स्तब्ध पार्दै फाइनलमा प्रवेश गर्न सफल भएको थियो । फाइनल २९ मार्चमा हुने छ । जित्ने टीमले विश्वकपमा स्थान बनाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *