नेपाल सुपर लिग अनिश्चित, एन्फाले असहयोग गरेको आरोप

काठमाडौँ । दोस्रो नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता निर्धारित समयमा नहुने भएको छ। आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी र एनएसएलमा आबद्ध १० टिमको बैठकले अखिल नेपाल फुटबल संघ (एन्फा)को असहयोग र असन्तुष्ट क्लबको विरोधका कारण निर्धारित समयमा प्रतियोगिता गर्न नसकिने निर्णय गरेको हो ।

प्रतियोगिता चैत २६ गतेबाट सुरु हुने घोषणा गरिएको थियो । एन्फाले बुधबार प्रतियोगिताको मिति स्वीकृत गरेको भोलिपल्ट संयुक्त बैठकले प्रतियोगिता पूर्वनिर्धारित समयमा गर्न नसकिने जनाएको हो ।

बैठकपछि संयुक्त प्रेस विज्ञप्ती निकालेर आयोजक र सहभागी टिमले समस्या समाधानका लागि ए डिभिजनका क्लब तयार नभएको तथा समस्या समाधानका लागि समिति गठन गरेर अघि बढ्न ढिलाई भएका कारणले निर्धारित समयमा प्रतियोगितामा सहभागी हुन नसकिने जनाएका हुन् ।

एनएसएलले दोस्रो संस्करणको प्रतियोगिता सञ्चालनका लागि १५ दिनअघिमात्र स्वीकृती दिनु र एनएसएल भन्दा पछि माग गरिएको मोफसलका गोल्डकप प्रतियोगितालाई एनएसएलसँग जुधाएर स्वीकृती दिनुले एन्फाका पदाधिकारी एनएसएलप्रति पुर्वाग्रही बनेको आयोजक र एनएसएलका टिमले आरोप पनि लगाएका छन् ।
बैठकले वर्तमान अवस्थामा प्रतियोगिता आयोजना र सहभागी हुन नसक्ने निष्कर्ष निकाल्दै एन्फाले सहजीकरण नगरे आगामी दिनमा समेत प्रतियोगिता सञ्चालन र सहभागी हुन नसक्ने पनि उल्लेख गरेका छन् ।
बैठकमा आयोजक नेपाल स्पोर्टस एण्ड म्यानेजमेन्ट प्रालीका साथै प्रतियोगिताका सहभागी क्लबहरु विराटनगर सिटी एफसी, विरगञ्ज युनाईटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेची सहभागि थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *