भारतबाट महँगाेमा विद्युत किन्दा प्राधिकरणलाई दैनिक २२ कराेड अतिरिक्त भार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणलाई दैनिक २० देखि २२ कराेडसम्म अतिरिक्त भार थपिएकाे बताएका छन् ।
उनले भारतबाट महँगोमा बिजुली किन्नुपर्दा प्राधिकरणलाई दैनिक ठूलाे मात्रामा अतिरिक्त व्ययभार थपिएको बताएका हुन् ।
बिहीवार प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा घिसिङले एक हप्ताका लागि महँगो मूल्यमा बिजुलीको जोहो गरिएको जानकारी दिए । घिसिङले भने, ‘एक हप्ताका लागि उच्च मूल्यमा भए पनि जोहो गरेका छौँ । लामो समय यसलाई जारी राख्न सकिँदैन । यस विषयमा उद्योगी र अर्थमन्त्रीसँग पनि छलफल गरिसकेको छु । सकारात्मक कुराकानी भएको छ ।’
भारतीय बजारमै कोइला महँगिएका कारण सम्झौता अनुसार नेपालले आयात गर्दै आएको बिजुली भारतले मूल्यका कारण एक्कासी रोकेपछि मंगलबारदेखि केही औद्योगिक क्षेत्रमा बिजुली आपूर्ति रोक्नु परेको उनले बताए ।
त्यस्तै, घिसिङले विद्युतमा यस्ताे प्रकारकाे संकट १५–२० वर्षपछिकै ठूलो भएपनि लोडसेडिङ नहुने दाबी गरे ।
याे पनिः भारतसँग आज रातीदेखि बिजुली किनेर प्रतियुनिट ३८ रुपैयाँमा उद्योगलाई दिइने








