भारतसँग आज रातीदेखि बिजुली किनेर प्रतियुनिट ३८ रुपैयाँमा उद्योगलाई दिइने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट २० रुपैयाँ भारुमा भारतसँग बिजुली किनेर नेपालका उद्याेगी उपभोक्तालाई प्रतियुनिट ३८ रुपैयाँमा उपलब्ध गराउने भएको छ ।

अन्तर्राष्ट्रिय बजारमै कोइलाको मूल्य बढेको र कोइलाबाट उत्पादन गरिने विद्युत् भारतले नेपाललाई बिक्री गर्दै आएकोले भारतमै बिजुलीको मूल्य आकाशिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर बताएका हुन् ।

भारतको दैनिक एक्सचेन्ज बजारबाट चलेको मूल्यमा विद्युत् किन्दा ३८ रुपैयाँ प्रतियुनिटसम्म मूल्य पर्न जाने उनले बताए । यसअघि उद्याेगीले प्रतियुनिट ९ रूपैयाँसम्ममा बिजुली उपभाेग गरिरेहका थिए । कोइलाको मूल्य बढेपछि भारतले नै नेपाललाई विद्युत् दिन नसकेकोले नेपालका केही औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्नुपर्ने बाध्यता भएको उनले बताए ।

आज राती १२ बजेर १५ मिनेटदेखि कटौती गरिएका उद्योगमा समेत भारतबाट आउने ७ हजार मेगावाट आवर अर्थात् झण्डै २ सय ९२ मेगावगाट बिजुलीबाट आपूर्ति गरिने र कतै पनि लोडसेडिङ नहुने उनले बताए ।

उनका अनुसार अहिले नेपालमा झण्डै ३१ हजार मेगावाट आवर अर्थात् १२९२ मेगावाट विद्युत् माग रहेकाे छ । यसमध्ये साढे ३ सय मेगावाटदेखि ४ सय मेगावाटसम्म बिजुली खरिद गरिरहनु परेकाे छ ।

भारतीय बजारमै कोइला महँगिएका कारण सम्झौता अनुसार नेपालले आयात गर्दै आएको बिजुली भारतले मूल्यका कारण एक्कासी रोकेपछि मंगलबारदेखि केही औद्योगिक क्षेत्रमा बिजुली आपूर्ति रोक्नु परेको उनले बताए ।

‘डेअहेड मार्केटबाट बढेकै मूल्य अर्थात् १२ रूपैयाँ भारूमै किन्न बिड हाल्दा पनि बिजुली नपाएकाे अवस्था बन्याे,’ उनले भने, ‘त्यसपछि २० रूपैयाँ भारूमा किन्ने गरी बिडिङ गरिएकाे हाे ।’

बढेको मूल्यमा बिजुली किन्दा दैनिक २० देखि २२ करोड रुपैयाँको थप भार वा घाटा प्राधिकरणलाई हुने उनले बताए । तर, यो अवस्था धेरै दिन नलम्बिने उनले बताए । केही समयपछि वर्षा मौसम सुरु हुने, नेपालमा थप विद्युत् परियोजनाहरुले उत्पादन सुरु गर्ने भएकोले धेरै दिन यो समस्या नरहने र लोडसेडिङ नहुने उनले बताए ।

बिजुलीकाे बढेकाे मूल्यकाे भार पूरै उद्याेगीलार्इ नपारी ‘विन–विन’ हुने गरी थप भार व्यहाेर्नु पर्ने अवस्था आउने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 18 =