पाँच करोड ३२ लाखको लगानीमा बुटवल खुलामञ्च निर्माण सुरु

रुपन्देही । बुटवलमा यस क्षेत्रकै पहिलो र आधुनिक सुविधासहितको व्यवस्थित खुलामञ्च निर्माणको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिका–११ देविनगरमा रहेको करिब १४ विगाहा जग्गालाई संरक्षण गर्दै खुलामञ्च बनाउन लागिएको हो ।
बुटवल खुलामञ्चको मंगलबार एक समारोहबीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले शिलान्यास गरे । त्यसक्रममा उनले सार्वजनिक जग्गाको संरक्षण गर्दै त्यसको बहुउपयोग गर्नेगरी गुरुयोजना बनाएर दिगो विकासका काम अगाडि बढाइएको बताए । उपमहानगरले यसबीचमा करीब दुई सय विगाहा जग्गा संरक्षण गर्दै सार्वजनिक हितमा ल्याएको छ ।
खुलामञ्च बन्ने क्षेत्रलाई समेटेर गुरुयोजना तयार पारी निर्माणकार्य अगाडि बढाइएको छ । गुरुयोजनामा प्राविधिक तथा विषयविज्ञबाट सुझाव समेत लिएर निर्माण कम्पनीलाई कार्यादेश दिइएको उपमानगर प्रमुख सुवेदीले जानकारी दिए ।
जनघनत्व, सवारी चाप र बाक्लो बस्तीका बीच खुला जग्गालाई संरक्षण पनि हुने र बहुउपयोग पनि हुने गरी गुरुयोजना तयार पारिएको प्रमुख सुवेदीले बताए । जनघनत्व, सवारी चाप र बाक्लो बस्तीका बीचमा रहेको खुला जग्गालाई संरक्षण पनि हुने र बहुउपयोग पनि हुनेगरी गुरुयोजना तयार पारिएको प्रमुख सुवेदीले बताए ।
बुटवल खुलामञ्चलाई कार्यक्रम गर्न, सभा समारोह गर्न, सम्मेलन गर्न मात्र नभई विभिन्न आपतकालिन अवस्थाको उद्दार स्थल रुपमा समेत उपयोग गर्न सकिने गरी गुरुयोजनामा समेटिएको छ ।
उपमहानगरले यसलाई बहुवर्षे योजनाका रुपमा अगाडि बढाएको छ । बुटवलको दीर्घकालीन गुरुयोजनामा परिकल्पना गरिएअनुरुपको यो एउटा खुलामञ्च हो । सुरुमै जग्गा संरक्षण, तारबार र व्यवस्थित बाउण्ड्री निर्माणको काम अघि बढाइने र बाँकी काम चरणबद्ध रुपमा गरिने प्रमुख सुवेदीले जानकारी दिए ।
खुलामञ्चमा सार्वजनिक कार्यक्रम गर्न, सभा समारोह गर्न, सम्मेलन गर्न मात्र नभई विभिन्न आपतकालिन अवस्थाको उद्दार स्थल रुपमा समेत उपयोग गर्न सकिने गरी गुरुयोजनामा समेटिएको उपमहानगरका अनुगमन समितिका संयोजक समेत रहेकी उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।
बुटवलको सबैभन्दा ठूलो र मुलुकमै सबैभन्दा धेरै जनघनत्व रहेको ११ नम्बर वडामै खुलामञ्च निर्माण कार्य सुरु भएपछि वडाका बासिन्दा खुशी भएको वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए । सोही वडामा रहेको एन्फा एकेडेमी अर्थात् रङ्गशाला नजिकैको जग्गालाई संरक्षण गर्दै खुलामञ्च बनाउन लागिएको हो ।
बुटवल खुलामञ्च निर्माणका लागि शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिले पाँच करोड ३२ लाख लाख ३९ हजार पाँच सय १३ रुपैयाँ बराबरमा ठेक्का सम्झौता गरेको उपमहानगरका सहरी विकास तथा योजना महाशाखा प्रमुख वरिष्ठ इन्जीनियर सुमन श्रेष्ठले जानकारी दिए ।
उपमहानगरले भने खुलामञ्च निर्माणका लागि पाँच करोड ५१ लाख ८८ हजार रुपैयाँ लागत अनुमान गरेको थियो । गत फागुन २६ गते कार्यादेश पाएको निर्माण कम्पनीलाई आगामी २०८० को जेठ १५ सम्ममा काम सक्ने सम्झौता भएको छ ।
उपमहानगरका वरिष्ठ इन्जिनियर तथा सहरी विकास योजना महाशाखा प्रमुख सुमन श्रेष्ठ र अर्का वरिष्ठ इन्जिनियर गौतम रौनियार, इन्जिनियर रुक्मागत बस्याल तथा डीपीआर बनाउने काममा खटिएकी आर्किटेक इन्जिनियर प्रभा पाण्डेसहितको प्राविधिक टोलीले खुलामञ्चको गुरुयोजनामा सुझाव संकलन गरेको थियो ।
शीलान्यास समारोहमा प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, कार्यपालिका सदस्यहरु, इन्जीनियरहरु, राजनीतिक दलका वडास्तरीय नेताहरु, नागरिक अगुवालगायतको सहभागिता थियो ।
यस्तो बन्ने छ बुटवल खुलामञ्च
करिब १४ विगाह क्षेत्रफलमा खुलामञ्च बन्ने र त्यहाँ एक लाख जना एकै पटक जम्मा हुन मिल्नेगरी खुला मैदान बनाइने छ । मैदानलाई विशेष तारजाली र हरियालीले सजाइने छ ।
मैदान प्रवेश र निकासका अलग अलग द्वार र आपतकालिन द्वार बन्ने छन् । तारजाली पनि पर्यावरणमैत्री र विशेष हुनेछ । खुलामञ्चसम्म पुग्न धेरैतिरबाट पहुँच मार्ग बन्नेछन् । बुटवल चक्रपथले समेत खुलामञ्चलाई जोड्नेछ ।
एकैपटक करिब ८ सय जनाले प्रयोग गर्न मिल्ने गरी सार्वजनिक शौचालय बनाइने छन् । आठ लाख ९३ हजार नौ सय ७७ वर्ग मिटर क्षेत्रफलमा खुलामञ्च र बाँकी क्षेत्रमा विशेष मञ्च, मञ्चसंगै पछाडि भागामा आठ वटा अलग अलग प्रयोजनका कोठा, तीन तहका पार्किङ्ग, प्राथमिक उपचार कक्ष बन्नेछन् ।
खुलामञ्चको दक्षिणमा तिनाउ कोरिडोर रहने छ । करिडोर र खुलामञ्चको बीचको भागमा हरियालीसहितको गार्डेन, फुटपाथ रहने छ । खानेपानीका फिल्टरयुक्त ट्यांकीसमेत विभिन्न ठाउँमा राखिनेछ ।
बुटवलका लागि भविष्यमा बहुउपयोग गर्न मिल्ने र सौन्दर्य झल्काउने विशेष क्षेत्रका रुपमा खुलामञ्च निर्माण हुने इन्जीनीयरले बताएका छन् । एक लाखभन्दा धेरै जना अट्न सक्नेगरी खुलाक्षेत्रको चौर रहने छ भने त्यतिको संख्यामा आउने मानिसले प्रयोग गर्ने सवारी साधनलाई समेत तीन तहमा पार्किङ र आवागमनका विशेष रुट बनाइने भएको छ ।
भीआइपीले प्रयोग गर्ने सवारीसहित एक सय ६० वटा चार पाङ्ग्रे र करिब छ सय जति दुई पाङ्ग्रे साना सवारीलाई पार्किङ गर्न मिल्नेछ । पब्लिक बस तथा सवारीलाई पनि खुलामञ्चको दुबैतिरबाट आवागमन मिल्नेगरी रुटको व्यवस्था मिलाइने भएको छ ।
खुलामञ्चको पहिलो चरणको कामका लागि निर्माण लागत करिब एक करोड अनुमान गरिएको छ । गुरुयोजना अनुसारका सबै कामका लागि करिब २७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ भने तीन वर्षसम्ममा सबै चरणका निर्माण कार्य सक्ने लक्ष्य छ ।












