रुससँग भारी छुटमा भारतल‍े किन्यो ३० लाख ब्यारेल कच्चा तेल

मे महिनामा आपूर्ति लिने

एजेन्सी । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले हालको अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्यभन्दा भारी छुटमा रुसबाट ३० लाख ब्यारेल कच्चा तेल खरिद गरेको छ । आईओसीले मे महिनामा आपूर्ति लिने गरी ‘युराल्स क्रुड’को कच्चा तेलको दैनिक मूल्यको तुलनामा २० देखि २५ डलर प्रतिब्यारेलसम्मको छुटमा खरिद गरेको हो ।

अमेरिकालगायत पश्चिमा मुलुकले लगाएको आर्थिक प्रतिबन्धपछि रुसले भारत र अन्य ठूला आयातकर्तालाई सहुलियत मूल्यमा तेल र अन्य वस्तु उपलब्ध गराउन थालेको छ ।

सरियाली आपूर्तिकर्ता कम्पनीले भारतीय सामुद्रीक तटसम्म ढुवानी गरिदिने सर्तमा आईओसीले रुसी कम्पीसँग कच्चा तेल खरिद गर्ने भएको हो । माल ढुवानी र बीमाको व्यवस्थामा प्रतिबन्धका कारण उत्पन्न हुने जटिलताबाट बच्न आईओसीले ढुवानी गरिदिनु पर्ने सर्त राखेको थियो । त्यसमा रुसी कम्पनी सहमत हुँदै आपूर्ति गरिदिने भएपछि तेल किन्ने भएको हो ।

भारतले आफ्नो कच्चा तेलको कुल मागको झण्डै ८५ प्रतिशत आयातबाट पूरा गर्ने गरेको छ । भारत सस्तो मूल्यमा कच्चा तेल खरिद गरेर आफ्नो ऊर्जा खर्च घटाउने चाहनामा देखिएको छ । त्यसका लागि रुसी कम्पनीको तेल भारतका लागि उययुक्त विकल्प बन्ने भएको छ ।

अमेरिकासहितका पश्चिमा मुलुकले रुसी तेलमाथि प्रतिबन्ध लगाएपछि तिलमिलाएका रुसी कम्पनीहरुले तेल खपतका हिसाबले विश्वकै ठूलो बजार भारतलाई सस्तोमा तेल लिन ‘अफर’ गरेका थिए । भारतले पनि उक्त अफरलाई अवसरका रुपमा सदुपयोग गर्दै सस्तो दरमा आफ्नो देशसम्म ढुवानी गरिदिने सर्तमा तेल लिन लागेको हो ।

भारतले आफ्नो कच्चा तेलको कुल मागको १.३ प्रतिशत मात्र रुसबाट खरिद गर्दै आएको छ ।

भारतले रुसबाट तेल लिनु अमेरिकी प्रतिबन्धको उल्लङ्घन होइन : ह्वाइट हाउस

ह्वाइट हाउसले भारतले रसियाबाट सहुलियत दरमा कच्चा तेल लिनुलाई अमेरिकी प्रतिबन्धको उल्लङ्घन नमानिने समेत बताएको छ । ‘युक्रेनमा रुसको आक्रमणलाई लिएर तपाईं कहाँ उभिन चाहनुहुन्छ भन्ने कुरा देशले सोच्नुपर्ने छ,’ ह्वाइट हाउसले भनेकाे छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत हप्ता रुसबाट तेल र ग्यास आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले मंगलबार दैनिक पत्रकार सम्मेलनमा भने, ‘कुनै पनि देशलाई हाम्रो सन्देश यही हो कि हामीले लगाएका प्रतिबन्धहरू पालना गर्नुहोस् ।’

भारतले सहुलियत दरमा रुसी कच्चा तेलको प्रस्ताव स्वीकार गर्ने सम्भावना रहेको प्रतिवेदनबारे सोध्दा साकीले भने, ‘मलाई लाग्दैन कि यसले ती ‘प्रतिबन्धहरू’ को उल्लङ्घन गर्नेछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =