राजस्व छलीको आरोपमा ३ जना विरुद्ध मुद्दा, ८ करोड असुली गर्न माग

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आरोपमा ३ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले भक्तपुरको सौगात इन्टरनेशनलका प्रोपराइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखा परीक्षक सुनिलमान शाक्यविरुद्ध विशेष अदालतमा अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरुले सौगात इन्टरनेशनल कम्पनीमार्फत नक्कली मूल्य अभिवृद्धि बिल लिएर वित्तीय विवरण तथा आय विवरणहरु तयार पारेको विभागको आरोप छ । साथै मूल्य अभिवृद्धि करतर्फ क्रेडिट दाबी गरी तिर्नुपर्ने भ्याट नतिरेको र आयकरतर्फ लागत खर्च दाबी गरी आयकर समेत चुहावट गरेको विभागको आरोप छ ।
उनीहरुले २ अर्ब ५२ लाख २४ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर(भ्याट) र ५ करोड ६९ लाख ५८ हजार आयकर गरी कुल ८ करोड २१ लाख ७२ हजार रुपैयाँ असुलीको माग गर्दै विभागले मुद्दा दायर गरेको हो ।
देउजा र भट्टराईसँग विगो र विगो बराबरकै जरिबाना असुल गर्न र शाक्यसँग मतियारलाई हुने सजाय गर्न माग गरेको छ ।









