कीर्तिपुरका ३२ भूमिहीन परिवारले पाए लालपूर्जा

काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले काठमाडौँको कीर्तिपुरको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरेकी छन् ।

कीर्तिपुर नगरपालिका–५ पाँगामा गाँउब्लकका ३२ घर परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गरिएको हो । पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले १५ चैतभित्र थप ५ जिल्लामा रहेका गाउँब्लकमा लालपूर्जा वितरण गर्ने गरी तयारी भइरहेको जानकारी दिइन् ।

उनले आगामी आर्थिक वर्षभित्र देशभरका सबै गाउँब्लकमा लालपूर्जा वितरण गर्ने गरी कार्यक्रम र वजेट व्यवस्था गर्न लागिएको पनि बताइन् ।

मन्त्री शशी श्रेष्ठले लेखेर र भाषण गरेर मात्रै नागरिकले अधिकार प्राप्त गर्न नसक्ने भन्दै इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई आग्रह गरिन् ।

राज्यबाट प्रदान गरिएको सुविधा प्राप्त गर्न नसकेका तथा दुःखमा परेका जनतालाई राहत प्रदान गर्ने कार्यमा अगुवाई गर्न पनि स्थानीय तहका पदाधिकारीलाई उनले सुझाव दिइन् ।
मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्था अनुसार भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थीत बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम अगाडी बढाइएको र जिल्ला आयोग गठनको काम भइरहेको पनि बताइन् ।

विशेष गरी काडमाडौँ उपत्यका र देशका विभिन्न भागमा समेत रहेका स्वबासी र बेनिसाको समस्या समाधान गर्न पनि आफूले प्रक्रिया शुरु गरिसकेको भन्दै मन्त्री श्रेष्ठले मुक्त कमैया, कमलरी, हरुवा चरुवाको समस्या समाधान गर्न अध्ययन समिति बनाएर अध्ययन गर्ने काम भइरहेको बताइन् ।

मन्त्री श्रेष्ठले संविधानमा भएको रोजगारीको हकको कार्यान्वयनका लागि शहिद, वेपत्ता परिवारका छोराछोरी, हरुवा चरवा र वादी समुदायका युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम दिएर रोजगारी दिलाउने प्रक्रिया समेत अगाडी बढाइसकेको जानकारी पनि दिइन् ।

मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म गाउँब्लकका करिब १५ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र जग्गा भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुर्जा वितरण अभियान तीव्र पारिएको छ ।

मन्त्री श्रेष्ठले यसअघि महोत्तरी, सप्तरी, धनुषा, सुनसरी र चितवन जिल्लाका विभिन्न गाउँब्लकमा रहेका भूमिविहीनलाई लालपूर्जा वितरण गरिसकेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =