देउवालाई रावलकाे जवाफ- ‘प्रधान मन्त्रीकै दिमाग खुस्केर हाेश हराएको हुनुपर्छ’

काठमाडाैँ । एमाले नेता भीमबहादुर रावलले प्रधान मन्त्री शेरबहादुर देउवाले झुटाे बाेलेकाे दाबी गरेका छन् । नुवाकोटमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा प्रधान मन्त्री देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले संसद्मा दर्ता गरेको एमसीसी अनुमोदन गर्दा अहिले त्यतिबेलाका रक्षामन्त्री रावलले विरोध गरेकोमा ‘दिमाग फुस्किएको’ आरोप लगाएपछि रावलले जवाफ फर्काएका हुन् ।
♦ याे पनि:
‘एमसीसी आफ्नै पार्टीले संसद्मा पेश गर्दा भीम रावलकाे दिमाग खुस्क्या थ्याे ?’
रावलले आफूविरुद्धकाे प्रधान मन्त्री देउवाकाे टिप्पणीलाई देशहितविरुद्धकाे कृत्यकाे संज्ञा दिएका छन् । ‘सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुटा बोल्ने प्रमको या त आफ्नै दिमाग खुस्केर होस् हराएको हुनुपर्छ,’ नेता रावलले ट्वीटरमार्फत भनेका छन्, ‘या जनतामा भ्रम छरेर देशहितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ ।’
रावलले ओली प्रधान मन्त्री हुँदा आफू उपप्रधान र रक्षामन्त्री रहेको स्मरण गर्दै सो समयमा सम्झौता सदनमा नल्याइएको दाबी गरेका छन् । उनले सार्वजनिक तथ्यको जानकारीसमेत नराखी झुटा बोल्ने प्रधान मन्त्रीको आफ्नै ‘दिमाग खुस्केर’ हाेश हराएको हुनुपर्छ भन्दै टिप्पणी गरेका छन् ।
यसअघि बिहान प्रधान मन्त्री देउवाले भनेका थिए— ‘मैले ओलीजीले संसद्मा पेश गरेकाे प्रस्ताव पारित गर्न खाेज्दाचाहिँ किन उहाँकाे टाएकाे दुखाइ भएछ ? आफ्नै दलले संसद्मा पेश गर्दाचाहिँ हेरिरहने, अनि अहिले मैले नेतृत्व गरेकाे सरकारले पारित गराउन खाेज्दाचाहिँ किन खिलाफमा ? त्यसबेला चाहिँ दिमाग खुस्क्या थियाे ?’








